२५ फागुन, काठमाडौं । फागुनको पहिलो साता त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा हतारमा भेटिए इजरायली नागरिक टम जिभ । उनीसँग दोभाषेको भूमिकामा थिए, एक कानुन व्यवसायी । तिनै दोभाषेको सहायतामा टम नेपालमा जन्मिएको आफ्नो नवजात शिशुका लागि शाखाबाट प्रमाणीकरणको कागज खोजिरहेका थिए, ताकि त्यही कागज पेस गरेर काठमाडौंस्थित इजरायली दूतावासबाट शिशुको पासपोर्ट बनाउन सकियोस् । खासमा टम भाडाकी आमा (सरोगेट मदर) लिएर बच्च जन्माउन नेपाल आएका थिए ।कन्सुलर शाखाका निम्ती यो नै पहिलो र अन्तिम घटना भने थिएन् । किनभने, यसभन्दा एक सातअघि मात्रै इजरायली नागरिक पावेलले यसै गरी भाडाकी भारतीय आमाबाट बच्च जन्माएर सरकारी स्वीकृति लिइसकेका थिए ।यी दुई तथ्यले भाडाका आमाबाट सन्तान जन्माउन चाहने विदेशीका लागि नेपाल ‘हर्ब’ बन्दै जान थालेको तर्फ संकेत गर्छ । नेपालले गरेको अध्ययनबाट सस्तो नेपाली बजार, उपयुक्त मौसम र कम झन्झटिलो कानुनी प्रक्रियाका कारण विदेशीहरुले भाडाका आमाबाट नेपाल आएर बच्चा जन्माउन चाहने गरेको तथ्य पत्ता लागेको छ, जसका पछाडि कैयन् नेपाली र विदेशी सम्पर्क व्यक्तिहरुको प्रत्यक्ष र परोक्षा भूमिका रहेको छ । र, यो तथ्यलाई टमकै प्रसंगले पुष्टि गरेको आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ ।आफ्नी पत्नीको पाठेघरमा बच्चा हुर्किन नसक्ने भएपछि टम सन्तान जन्माउने भरपर्दो विपल्पको खोजीमा थिए । त्यही क्रममा उनले इजरायली कानुन व्यवसायी, जो भाडाका आमाको खोजी गर्ने दम्पतीलाई सम्बन्धित देशसम्म पठाउने र बच्चा जन्मिसकेपछि प्रमाणित गरेर स्वेदश फर्काउनेसम्मको प्रक्रियामा सामेल छन्,को सहयोगमा भारतको नयाँदिल्ली आइपुगे । करिब महिनादिन दिल्ली बसेर उनले मुम्बई घर भएकी भाडाकी आमा फरजना शेखको पाठेघरमा आफ्नो वीर्य र पत्नीको डिम्बको प्रत्यारोपण गराए, जसलाई चिकित्सकीय भाषामा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) भनिन्छ । त्यसपछि टम आफ्नी पत्नीलाई लिएर इजरायल फर्के । र, बच्चा जन्मिने समय हुनुअगावै नयाँदिल्लीबाट भाडाकी आमा फरजानालाई लिएर काठमाडौं आए । झन्डै दुई महिनाभन्दा बढी ठमेलमा विताउका उनले फरजानालाई भने धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरे, जहाँ २१ पुसमा उनले छोरी जन्माइन् ।आउँदा एक्लै आएका टमले अब बच्चासहित देश र्फकनका निम्ति कानुनी प्रक्रिया पूरा गर्नु अनिवार्य थियो । त्यो प्रक्रिया उनले कानुन व्यवसायीसमेत रहेका दोभाषेको माध्यमबाट सजिलै पूरा गरे र बच्चा जन्मेको दुई सातामै इजरायल फर्किए ।भाडाकी भारतीय महिला सन्ता जन्माएपछि ग्रान्डी अस्पतालले टम र भाडाकी महिलाको सन्तान भनेर जन्मदर्ता प्रमाणपत्र उपलब्ध गरायो । त्यही प्माणपत्रमा स्वास्थ्य मन्त्रालय समन्वय शाखाका अधिकारीले पनि हस्ताक्षर र मन्त्रालयको छाप ठोकिदिए । त्यसपछि त्यो कागज बोकेर उनीहरु परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर शाखामा पुगे । शाखाले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको कागजलाई थप प्रमाणित गरिदियो । त्यसैलाई आधार मानेर काठमाडौंस्थित इजरायली दूतावासले बच्चाको नाममा पासपोर्ट र नेपालको अध्यागमन विभागले भिसा जारी गरेपछि टम वैधानिक रुपमा आफ्नो देश र्फकन पाए ।भाडाकी आमा फरजाना भने नौ महिनासम्म कोखमा राखेको बच्चा जन्माइदिएबापत सर्त अनुसार झन्डै चार लाख भारतीय रुपैयाँ लिएर मुम्बई फर्किन् । कन्सुलर शाखामा भेटिएका टमले संक्षिप्त संवादमा यति मात्रै भने ‘यो प्रक्रिया भारतमा भन्दा काठमाडौंमा धेरै सस्तो र सहज छ ।’टमभन्दा ठीक एक साताअघि मात्रै पावेल नामका अर्का इजरायलीले पनि यसै गरी भाडाकी आमाबाट काठमाडौंमा जन्मिएका जुम्लयाहा सन्तान लिएर स्वदेश फर्केका थिए ।नेपालको कानुनमा भाडाका आमाबाट बच्चा जन्माउन मिल्ने कि नमिल्ने अथवा त्यसरी बच्चा जन्माएमा के हुने भन्ने कुनै व्याख्या छैन् । अर्थात यस सम्बन्धमा कुनै नियम कानुन नै छैन् । तर स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र अध्यागमन विभागका अधिकारीहरु भने प्राकृतिक तवरबाट जन्मिएका र भाडाका आमाबाट जन्मिएका शिशुका दुवै सन्र्दभमा एउटै ढंगले कानुनी प्रक्रिया चालिरहेका छन् ।