BICITRA KHABAR

BICITRA KHABAR

थर्काउँदै भने, ‘तलाई म बार गर्ल जस्तो लाग्यो’

पत्रकारिताले नयाँ कुराको खोजी गर्छ । कलाकारलाई समाचार बन्दैन भनेका कतिपय कुराहरुलाई पनि पत्रकारको आखाले समाचार देख्छ । केही दिन देखि मोडल तथा नायिका नम्रता सापकोटासँग कुरा गर्ने चाहना मनमा पलाएको थियो ।काठमाण्डौको एक क्याफेमा भेट्ने फोन बार्ता पश्चात सिमित प्रश्नलाई दिमागमा सेट गर्दै नम्रतालाई भेट्न लागे । उसो त उनी कुनै चर्चित सेलिब्रेटी भैसकेकी थिइनन् । तर पनि खै किन किन, प्रश्नको जालोले मलाई नम्रता तिरै नै सोझायो ।उनमा खुल्लापन थियो । जे गर्दैछु ठिक गर्दैछु भन्ने मनोविज्ञानले नम्रता फुरुङ्ग थिइन् । तर मेरो प्रश्न उनकै स्वतन्त्रता माथि नै तेर्सियो । के मा व्यस्त ? ‘भिडियो’मा प्रश्न र उत्तर सँगै खसे ।सुन्दरता बचाउन ‘हट लेमन’ पिउने उनको रोजाइले पनि मलाई नम्रताको स्वास्थ्य प्रतिको सजगता वुझ्न गाह्रो भएन । २ वटा सिनेमा खेल्ने वित्तिकै उनमा स्तरिय चलचित्रको धङधङी सवार भएको मैले वुझे ।

किन पछाडि त तपाई, सिनेमा छैन त बजारमा ? मैले नम्रताको स्वतन्त्रताको उमंगमाथि नै प्रहार गर्दै प्रश्न सोझाए । २ वटा सिनेमा खेलेकी नायिका अब स्तरियताको मार्क लगाउँदै थिइन् । संभवत उनको स्तरियता मापन गर्ने भाषा वेग्लै थियो होला ।म्यूजिक भिडियो, मोडलिङ, स्टेज शो नै उनको भाषामा व्यस्तता थियो । ‘अन्य नायिका आफू भन्दा माथि पुग्दा डाहा हुदैन ? प्रश्न यस्तो थियो नम्रताले बहाना पारिन् । ‘डाहा’ भन्ने मेरो शब्दले उनमा झट्का लाग्यो । ‘तपाइले डाहा किन भन्नु भएको ? उनको मित्रतालाई मैले डाहामा परिभाषित गरिदिएपछि संभवत उनले केही सोचिन् होला ।तर पनि उनलाई सिनेमाको पर्दामा आफू जम्न नसकेको महशुश ढिलो भएन । ‘मलाई चाप्लुसी घस्न आएन, अरुको अगाडि झुटो गफ हान्न आएन, सायद यसैले’ नायिका घुमाउरो शैलीमा बोलिन् ।एउटै प्रश्नले नम्रता पनि बोर भइन् कि भन्ने मेरो आफ्नो सोचाई थियो । उनका बारेमा मैले जति वुझे, जे सोध्छु भनेर पुगे, प्रश्नहरु रित्तिए । कहिलेकाही प्रश्न सकिएपछि प्रश्नकर्ता पनि भुलभुलैयामा पर्छ । वेटरले सोही समयमा हट लेमन ल्याइदिएर मलाई ठूलो गुण लगाइदिएका थिए ।

अजय भाइको लेन्सले नम्रतालाई थुप्रै पटक कैद गरिरहदा मलाई उनी सुरुमा ‘टर्मिनल पोइन्ट’ नखोजी हिडिरहेकी यूवती लाग्यो । जसमा वर्तमान छ, भविष्य के भन्ने नै छैन । २ वटा सिनेमा खेल्ने वित्तिकै मैले गरेको अन्र्तवार्ता प्रस्तावलाई उनले विभिन्न कोणबाट विश्लेषण गरिछन् ।प्रश्नहरु हट लेमनको सुर्कीसँगै विकसित भए । तपाई सेलिब्रेटी किन ? म नम्रता सापकोटा हो, सेलिब्रेटी होइन, प्रश्न उत्तर यसरी चल्यो । क्याफेमा आउने मानिसको एकहोरो हेराइले दुबै जनाको एकाग्रता भंग भैरहेको थियो ।नेपालमा सेलिब्रेटी भन्ने कोही छ जस्तो नै लाग्दैन । कुनै ठाउँमा पुग्दा त्यहाँ सेलिब्रेशन भए पो सेलिब्रेटी, नम्रताले आफ्नो वुझाई पोगिन् । तर पनि राजेश हमाल, भूवन केसी, रेखा थापामा उनी सेलिब्रेटी छनक देख्छिन् । ओहो, उनको जवाफको कडाई त बल्ल पो निस्कियो । काठमाण्डौ बाहिर पुगेपछि बल्ल थाहा हुन्छ रे कलाकारलाई आफ्नो भ्यालु र अर्थ ।भिडियो गर्दा हिरोइनको आकर्षण ठूलो पर्दामा सकिन्छ रे हो ? मैले यो प्रश्न सोध्दा नम्रता केही समय हाँसिन् । सायद हाँस्दा उनले जवाफ खोज्न सक्थिन् होला । भिडियो कलाकारलाई दैनिकी चलाउने एउटा राम्रो माध्यम पनि हो । होइन भने, बर्षमा एकाध सिनेमा गरेर को बाच्न सक्छ त । यथार्थता जे थियो, त्यही बोलिन् जस्तो लाग्यो नम्रताले ।

प्रश्न सोध्दा घरीघरी मैले नम्रता श्रेष्ठको नाम लिए । सायद म झुक्किए, नम्रता सापकोटा र श्रेष्ठ विचमा ।
प्रश्न अब फेसबुककलाई माध्यम बनाउँदै उनको ‘लभ लाइफ’ तर्फ मोडियो । तपाइको फेसबुकमा देखिने एक यूवकलाई नम्रताको प्रेमी भन्छन्, खुलस्त बोल्ने मान्छे भन्दै मैले खुलस्त जवाफको अपेक्षा गरिरहेको थिए । सुरुवात देखि नै आफूलाई ‘खुलस्त’ बोल्ने यूवती भनिरहेकी नम्रता यतिबेला भने यही शब्दको जालमा फसेकी थिइन् ।‘म सत्य कुरा बोल्छु, २३ बर्षको यूवतीको प्रेमी छैन भनेर कसले पत्याउँछ ।’ केटाको हात पनि छोएको छैन भन्ने कतिपय नायिकाहरुको जवाफले मलाई तरंगित बनाउछ, नम्रताले प्रेमको पोको खोल्दै भनिन्, ‘एकै टोलमा बस्ने सागर श्रेष्ठ मेरो प्रेमी हुन् । सानैबाट हामी मिल्ने साथी थियौ । उनको केयरिङ र मायाले मलाई आकर्षण गर्‍यो । विगत ३ बर्षदेखि हामी प्रेमको सागरमा पौडिरहेका छौ’, नम्रताको जवाफले मलाई उनको खुलस्त बोल्ने शैलीमा शंका गर्ने ठाउँ दिएन ।कुकुर क्रेजी यि नायिका आफूलाई सेक्सी भन्दा पनि सुन्दरी भन्न रुचाउँछिन् । फोटोसुटमा धेरै पटक मैले उनको हट अवतार देखेको छु । उनी पनि आफूलाई हट बन्न मन लाग्ने बताउँदै थिइन् । छोटो स्कर्ट, टिसर्टले सेक्सी देखिने सोच उनमा पनि थियो ।

सिनेमा नगरीमा नायिकाहरु उत्तेजक दृश्य दिन माहिर भैरहेको समयमा नम्रताको बटमलाइन मैले वुझ्न खोजे । ‘बटमलाइन’ भन्नाले, ‘तपाइको अन्तिम विन्दु कतिसम्म के’, अर्थाए मैले प्रश्नलाई ।कथाको सिचुएसन र काम गर्ने टिममा भर परेर काम गर्छु । चुम्बन, बेडसिन नराम्रो होइन, तर प्रस्तुतीमा भर पर्छ । नम्रता उत्तरबाट आफूलाई आधुनिक यूवती र आधुनिक समयमा चल्न सक्ने छनक दिदै थिइन् ।समय २ घन्टा भैसकेको थियो । ४ बजे ‘फिटकिरी’ चलचित्रको क्रिकेटरलाई सम्मान कार्यक्रममा पुग्नु थियो । मनमा थुप्रै कुराहरु साँचेर कुरा टुङग्याउन तर्फ लागे म । नम्रताले मेरा अघिल्ला प्रश्नहरुलाई फेरि एक पटक संझिइन् र भनिन्, ‘साच्चै म मिडियाबाट टाढा भागेको रहेछु ।’ तर कतिपय सिनेमा त छोडेर ठिक पनि गरे भन्ने लाग्छ । तपाइलाई थाहा छ, ‘एउटा हट दृश्य दिनुपर्ने सिनेमाबाट अफर आएको थियो । मैले त त्यो सिनेमाका निर्देशकलाई , ‘तलाई के म बारमा काम गर्ने केटी जस्तो लाग्यो भनेर खुबै थर्काए ।’ पछि हामीले एक अर्कासँग माफी पनि माग्यौ ।’

स्टेज, म्यूजिक भिडियो र मोडलिङले दर्शकको नजरमा पर्न गाह्रो हुन्छ भन्ने नम्रताले वुझिन् । उनको मनोभाव परिवर्तन भएको वुझे मैले । उनमा सिनेमा नगरीमा नै काम गर्ने जोश अझै छ । सिनेमा गर्नुपर्छ भन्ने भाव विकास भयो । तर पनि उनमा नायिका हैन, नम्रता सापकोटा नै बन्ने सोच छ । भविष्यको योजनालाई अन्तरकुन्तरमा थन्काएकी छिन् उनले ।सँगै सिनेमा खेल्ने नायिकाहरु भटाभट काम पाइरहदा नम्रता ओझेलमा छिन् । उनको नजरमा यो स्वतन्त्रता हो, तर मिडिया र दर्शक यसलाई असफलताको परिभाषाले वुनिदिन्छ ।सायद, नम्रता सिनेमा गर्नुपर्छ भन्ने सोचाई बोक्दै बाहिर निस्किइन् होला, म उनको वुझाइलाई कुन भाषामा बुन्दै समाचार कोरु भन्ने भावमा अगाडि बढे ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More