मोबाइल चाहिँ लाग्छ, फोन उठ्दैन
हराइरहेको विमानका यात्रुको मोबाइलमा फोन गर्दा रिङ गएको तर नउठेको समाचार आएका छन्। चिनियाँ यात्रुका एक आफन्तले टिभीमा लाइभ मोबाइलमा फोन गरेर रिङ गएको सुनाएछन्चीनको यो साइटले जनाए अनुसार, १९ जना चिनिया यात्रुको परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको परिवारका सदस्यलाई मोबाइलमा फोन गर्दा लाग्ने तर नउठ्ने किन भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गरेका छन्। उनीहरुले एयरलाइन्सलाई फोन नम्बरहरु दिए पनि त्यसलाई वास्ता नगरेकोले मलेसिया एयरलाइन्सका प्रवक्तालाई पानीको बोतलले हानेको र सत्य सार्वजनिक नगरे मलेसियाली दूतावासबाहिर प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन्।
अपहरण भएको हो कि ?
आतंकवाद, अपहरणको पनि संभावनालाई अनुसन्धानकर्मीहरुले नकारेका छैनन्। त्यहाँमाथि दुई जनाले नक्कली पासपोर्ट देखाएर विमानमा चढेको भन्ने पुष्टि भइसकेको छ।तर अपहरण भए पनि केही संकेत त विमानबाट आउनु पर्थ्यो ! अपहरण गरेर कतै लगेको भए पनि अहिलेसम्म केही न केही त जानकारी आइहाल्थ्यो। त्यत्रो ठूलो प्लेन भनेको खेलौना प्लेन जस्तो लुकाएर राख्न त मिल्दैन पक्कै।फेरि चोरिएको पासपोर्ट हुँदैमा आतंकवादी नै थिए भनेर भन्न पनि मिल्दैन रे। शरणार्थी वा अन्य विभिन्न कारणले पनि त्यसरी नक्कली कागजातमा यात्रा गर्ने गर्छन् भन्ने कुरा पनि आयो।झ्याप्पै विमान राडारबाट कसरी हरायो त त्यसो भए ? प्रमाण त छैन तर शंका- त्यसमा राखिएको बम पड्किएर आकाशमै विस्फोट भएर टुक्राटुक्रा भई समुद्रमा खसेको पो हो कि !त्यो हो भने पनि त्यत्रो पानी जहाज र हवाई जहाज लगाएर खोजिएको छ, केही न केही संकेत त भेट्टिनु पर्थ्यो नि। किन अहिलेसम्म केही पनि नभेटिएको होला ?
विमानमा प्राविधिक समस्या पो आएको हो कि ?
त्यो हो भने पनि यस्तो भयो है भनेर चालक दलका सदस्यले टावरलाई सूचना चाहिँ दिन भ्याइहाल्थ्यो।
त्यसो भए पाइलटले नै सुसाइड गर्छु भनेर समुद्रमा लगेर जोतेको पो हो कि। अथवा अपहरणकर्ताले के के पो माग राखेकोले अमेरिकामा ९/११ मा जस्तो यात्रुहरु मिलेरै प्रतिकार गर्दा बमसम पड्केर ध्वस्त पो भएको हो कि। त्यतिञ्जेल पनि टावरलाई संकेत त पठाउन मिल्थ्यो होला।घरको कुकुरसमेत हराउला भनेर जिपिएस राखेर ट्रयाक गर्ने आधुनिक जमानामा यत्रो बोइङ आखिर कसरी हरायो ? किन अलिकति भेउसमेत पाउन नसकिएको होला ?
रहस्यमय बनेको यो घटनामा जब सबै तर्कहरु समाप्त हुन्छन्, तब नहुने समाचार लेख्ने साइटको कुरा समेत हो कि जस्तो लाग्ने रहेछ। प्यारोडी समाचार राख्ने अमेरिकाको नेसनल रिपोर्ट लेख्छ- यसको एउटा मात्र संभावित जवाफ छ, एलियन। अर्को ग्रहको प्राणीले सुरुदेखि नै बर्मुडा ट्र्याङ्गलमा जहाज अपहरण गर्थे, यस पटक अर्कै ठाउँबाट गरेको हो कि ! तर्कले काम नगरेपछि यस्ता कुरा पनि हो कि जस्तो लाग्न थाल्ने रहेछ।