BICITRA KHABAR

BICITRA KHABAR

हेर्दाहेदै यसरी खरानी बन्यो राजधानीमै एउटा बस्ती (भिडियोसहित)

२५ फागुन, काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार नेपाल वायु सेवा निगमको विमान बालबाल दुर्घटनाबाट बच्यो । शनिबार इन्डिगो एयरको विमान अवतरणका क्रममा अचानक आगलागी भएपछि तनावमै रह्यो । त्यसको ठीक भोलिपल्ट आइतबार विमानस्थल नजिकै सिनामंगलमा भएको ठूलो आगलागीले विमानस्थल वरपर फेरि ठूलै आतंक फैलियो । आगलागीबाट मानवीय क्षति नभए पनि करोडौंको क्षति भएको अनुमान गरिएको छ । दिउँसो १ बजिसकेको थियो । लोडसेडिङको चापमा रहेको राजधानीमा काठमाडौं महानगरपालिका– ९ सिनामंगल क्षेत्रमा पनि दिउँसो एक बजे बत्ती आउने प्रतिक्षामा थिए, सबै । सिनामंगलस्थित बागमती किनारमा भारतको आन्ध्र प्रदेशबाट आएको एउटा समूहले बनाएको टहराहरूमा पनि बत्तीकै प्रतिक्षा थियो । सुकुम्बासीका रुपमा स्थानीयसँग जग्गा भाडामा लिएर बसेका उनीहरु बत्ती आएपछि निकै खुसी थिए । युवाहरु बाहिर काममा गएकाले केही सुत्केरी महिला र वृद्धहरु मात्र टहरामा थिए । तर, बत्ती आएको खुसियाली केही मिनेट पनि टिक्न सकेन । टहरामा बत्ती आएसँगै भएको आगलागीले सबैतिर आतंक फैलियो । ५० भन्दा बढी टहरा रहेको क्षेत्रमा सुरु भएको आगलागीले विमानस्थल क्षेत्र पनि धुवाँमय भयो । चारैतिरबाट दमकल आउन थाले । स्थानीयबासी फैलँदै गएको आगोबाट बच्न आ–आफ्नो घरमा रहेको ग्यास सिलिण्डर सुरक्षित स्थानमा लिएर दौडिन थाले । चारैतिरबाट भीड बढ्दै गयो । तर, साँघुरो गल्लीका कारण बागमती किनारमा रहेको घटनास्थलसम्म दमकल पुग्न धेरैबेर लाग्यो । टहरामा दशदेखि १५ दिनका सुत्केरी मात्र ४ जना थिए । उनीहरु सामान बचाउनभन्दा नजवात शिशु र आफ्नै ज्यान बचाउन बागमती किनारमा हामफाले । भ्याएसम्मका केही सामान पनि लतारेर लगे । त्यतिबेलासम्म घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय र दमकल पुगिसकेको थियो ।

तर, आगो नियन्त्रणबाहिर जाने क्रम रोकिएन । आगो नजिकै रहेको एउटा तीन तले भवनसम्म फैलियो । नजिकै रहेको नोबल कलेजको भवनसहितका अन्य भवनसमेत आगोको जोखिममा थिए । तर, सेना, प्रहरी, दमकल कर्मचारी र स्थानीयले आगोलाई अनियन्त्रित हुन दिएनन् । उनीहरूले घरघरका ट्याङ्कीबाट पानी खन्याएरै भए पनि आगो नियन्त्रणमा लिने प्रयास जारी राखे । त्यहाँ ५० टहरामा भारतबाट काठमाडौं आई विभिन्न स्थानमा मजदुरी गरिरहेका दश बढी परिवार बस्दै आएको पीडितहरुले बताएका छन् । आगलामीमा उनीहरुको लत्ताकपडा, भाँडाकुँडाका साथै नगदसमेत जलेको पीडितहरुको भनाइ छ । तैपनि मानवीय क्षति भए-नभएको अन्तिम समयसम्म पनि स्पष्ट हुन सकिरहेको थिएन । त्यसैले प्रहरीले आगो पूर्णरुपमा नियन्त्रणमा लिएर मात्र यो कुराको पुष्टि गर्न सक्यो । धन्न टहरामा कोही पनि छुटेका रहेनछन् । उनीहरु यसरी बागमती किनारमा हामफालेकाले मानवीय क्षति नभएको हो । बल्लबल्ल ज्यान बचाउन सफल भएकाहरु किनारमा रोइरहेका थिए । टहरामा रहने कतिपय काममा बाहिर गएकाले र कतिपयले भने भागेर ज्यान बचाए । सुत्केरीहरु पनि आफ्नो नवजात शिशु बचाउन सफल भएका छन.् । तर, उनीहरुको भएभरको जायजेथा जलेर नष्ट भएको छ । त्यसैले भारतबाट मजदुरी गर्न नेपाल आएको सिंगो समूह विचल्लीमा परेको छ । तैपनि ज्यान बचाउन सकेकोमा उनीहरु आफूलाई भाग्यमानी ठानिरहेका थिए । त्यसै पनि सिनामंगल क्षेत्र निकै संवेदनशील क्षेत्र मानिन्छ । नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थल र ठूला इन्धन भण्डारण रहेको क्षेत्रमा भएको आगलागीले सबैमा त्रास फैलाएको छ । त्यसमाथि सहज रुपमा दमकल पुग्न नसक्ने गल्लीहरुका कारण कुनै पनि बेला ठुलै बिपत्ति निम्तन सक्ने खतराको संकेत यो घटनाले गरेको छ । त्यसैले आगलागी बढी हुने यस्ता क्षेत्रमा यस्ता अस्तव्यस्त बस्ती बसाउने काम नगर्नु उचित देखिन्छ 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More