BICITRA KHABAR

BICITRA KHABAR

नेता छुटाउन नेविसंघको आन्दोलन

काठमाडौं- हतियारसहित पक्राउ नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत लगायतलाई छुटाउन नेविसंघले आइतबार राजधानीका विभिन्न क्याम्पस क्षेत्रमा प्रदर्शन गरेको छ।प्रहरीले नवीकरण नभएका र अनुमति नै नलिइएका हतियार बोकेको भन्दै बस्नेत र अन्य चारजनालाई राजधानीको स्वयम्भुबाट माघ १९ गते पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, राकेशविक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कासमेत छन्। प्रहरीले उनीहरूलाई थप चार दिन अनुसन्धानका लागि हिरासतमा राख्न आइतबार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ।नेविसंघले उनीहरूलाई छुटाउन दबाब दिँदै शंकरदेव, त्रिचन्द्र, थापाथली र मीनभवन लगायत क्याम्पसअगाडि प्रदर्शन गरे। विद्यार्थीहरूको प्रदर्शन क्रममा ढुंगामुढा गरिएकाले क्याम्पस क्षेत्र तनावग्रस्त भएको थियो। यसले सवारी आवागमन प्रभावित हुन पुग्यो।बिहान ३ बजे ट्याक्सीमा हतियारसहित हिँडेका उनीहरूलाई चेकिङ प्वाइन्टले फेला पारेपछि पक्राउ गरेर हातहतियार तथा खरखजाना अभियोगमा हिरासतमा राखेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट एउटा पेस्तोल, टु नट टु र बाह्र बोरका बन्दुक फेला परेका छन्। त्यसमध्ये एउटाको इजाजतपत्र नवीकरण नगरिएकाले त्यो हतियार अवैध भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेलले बताए। 'एकाबिहानै तीन बजे ट्याक्सीमा तीनवटा हतियार बोकेर हिँडेको भेटिनु र हतियार नवीकरणसमेत नहुनुले कारबाही प्रक्रिया अघि बढाइएको हो,' उनले भने, 'हतियार राख्न पाएको अनुमतिपत्र नवीकरण नभएपछि त्यो हतियार स्वतः गैरकानुनी हुन्छ।'नेविसंघले भने उनीहरूलाई 'फसाउन खोजिएको' भन्दै रिहाइ निम्ति दबाब दिन आइतबार विभिन्न क्याम्पस क्षेत्रमा चक्काजाम गरेका छन्।नेविसंघ अध्यक्ष रञ्जित कर्णले 'व्यावहारिक र कानुनी पाटो मात्र नमिलेको' भन्दै जरिवाना लिएर छाड्न माग गरे। 'शुभराम आफ्ना साथीहरूसँग दुइटा लाइसेन्सप्राप्त र एउटा तीन महिनादेखि नवीकरण गर्न नसकेको बन्दुक बोकेर ट्याक्सीमा हिँडेका हुन्,' कर्णले भने, 'व्यावहारिक र कानुनी प्रक्रिया नमिलेको हो, त्यसका लागि प्रहरीले कानुनबमोजिम जरिवाना लिएर छाड्नुपर्छ।' प्रहरीले नियतवश पक्राउ गरेकाले आन्दोलनमा उत्रेको उनले बताए। एसएसपी खरेलले भने 'नवीकरण नगरिएका गैरकानुनी हतियारसहित पक्राउ परेकाहरूलाई कसैको दबाबमा आएर अनुसन्धानविना नछाड्ने' बताएका छन्।'कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा छाडिँदैन,' उनले भने, 'उनीहरू पाँचजना बिहान ३ बजे के कारणले तीन–तीनवटा हतियार बोकेर ट्याक्सीमा हिँडिरहेका थिए, त्यसको अनुसन्धान नगरी हामी छाड्दैनौं।'

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More