चैत, झापा । बिहेको जग्गेबाटै अर्काकी बेहुली लिएर सशस्त्र प्रहरीका एक हवल्दार बेपत्ता भएका छन् । झापा गोलधाप-७का नन्दकुमार सन्देम्बाकी भोजको तयारीमा सजिएर रहेकी बेहुली इलाम सोयाककी मीना एक्तेनलाई लिएर उनी मंगलबार फरार भएका हुन् । यसरी अर्काकी बेहुली जग्गेबाटै लिएर फरार हुने श्रीअन्तु सशस्त्र प्रहरी बलका हबलदार कमल राजवंशी हुन् ।‘विवाह गरेर बेहुली लिएर घरमा आउँदा रात पर्यो, म थाकेकी छु, आजको रात साथीहरुसँगै सुत्छु भनी, मैले हुन्छ भनें । बिहानै उठेर म अन्मिएँ, उ बेहुलीको पहिरनमा बसेकी थिई, मलाई पिसाब आयो भनेर बाहिर निस्की उतैउतै फरार पो भइछ,’ बेहुला नन्दकुमारले आफ्नो दुखेसो पोखे । उनका अनुसार भोजको ठूलै व्यवस्था गरिएको थियो । ‘बेहुलीलाई टीका लगाउने मान्छेहरु पर्खिरहेका थिए, तर उ त अर्कै पुरुषसँग भागिछ,’ उनले भने ।
सशस्त्र प्रहरीका हवल्दार कमल राजवंशीले इन्गेजमेन्ट भएको तीन महिना अघिदेखि मीनासँग दैनिक तीन घन्टाभन्दा बढी समय मोबाइलबाट गफ गर्ने गरेको बेहुला पक्षको भनाइ रहेको राजधानी दैनिकमा खबर छ । मीनाको २६ फागुनमा विवाह भएको थियो । उनको झापा गोलधाप-७ निवासी नन्दकुमारसँग मागी विवाह भएको हो ।२७ गते भोजको तयारीमा जुटेका सन्देम्बा परिवारलाई झुक्याएर मीना प्रहरीसँग फरार भएकी हुन् । अर्काकी बेहुली लिएरु फरार हुने प्रहरी हवल्दार राजवंशीलाई पीडित बेहुला पक्षले कारबाहीको माग गरेको छ । बेहुला पक्षले विवाहमा लागेको सम्पूर्ण खर्च उपलब्ध गराइदिन पनि माग गरेको छ । विराटनगर घर भएका राजवंशीलाई कारबाही गर्न माग सहित पीडित परिवारले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएको छ ।