काठमाडौं, १६ चैत । चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै गोंगबु चोकमा धर्ना दिएका कलाकारहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज पक्राउ गरेको हो । सो क्षेत्र अहिले तनावग्रस्त भई यातायात सञ्चालनमा असुविधा भएको छ ।महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको गीतकार सुमन बैरागीले जानकारी दिनुभयो । गएको बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहनुभएकी लोकगायिका महतको हिजो साँझ निधन भएको थियो ।रत्नपार्कदेखि गोंगबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएको गीतकार बैरागीले जानकारी दिनुभयो ।