काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनभित्र महिलामाथि हुने दुर्व्यवहारका घटनाको उजुरी गर्न स्थापना गरेको हट लाइनमा उजुरी परेका केही नमुना हेर्दा सार्वजनिक सवारीमा महिलाले भोग्ने सास्ती थाहा पाउन सकिन्छ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत एक छात्रा टेकुबाट माइक्रोबस चढेर कीर्तिपुर जाँदै थिइन्। पछाडि उभिएका एक अधबैंसे पुरुष ठेल्दै उनी नजिक आइपुगे। उनी अलि अघि बढिन्, व्यवहार त्यस्तै दोहोरियो। बीच बाटोमै ओर्लिइन् र प्रहरीलाई फोन गरिन्।
कार्यालय जाने क्रममा भीमसेनगोलामा एक युवतीमाथि चारजना केटाले माइक्रोबसभित्रै सिठ्ठी बजाएर जिस्क्याए। उनले थाहा नपाएजस्तो गरिन्। तर त्यो क्रम नरोकिएपछि उनी पनि बीचमै ओर्लिन बाध्य भइन्।
कीर्तिपुर जाँदै गर्दा एक युवतीले माइक्रोबस चालकले बजाएको अश्लील गीत सुन्नै नसकेर बीचमै उत्रनुपर्यो।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता गणेश चन्दले सार्वजनिक सवारीसाधनमा महिलामाथि दुव्यर्वहारका घटना बढेको बताए। दुव्र्यवहार विरुद्धका गुनासो सुन्ने सेलका पूर्वसंयोजकक प्रहरी नायब उपरीक्षक भीम ढकालका अनुसार बस र माइक्रोबसभित्र शरीरका विभिन्न भाग र संवेदनशील अंगमा हात पुर्याउने, पछाडिबाट टाँसिन आउने, सिटमा बस्दा कुइनोले कम्मरमा ठेल्ने, जिस्क्याउनेलगायतका दुर्व्यवहारका उजुरी बढी आउँछन्।
बस र माइक्रोबसका चालक र सहचालकले समेत अश्लील गीत बजाउने, अपशब्द बोल्ने, एकोहोरो हेरिरहनेलगायतका दुव्यर्वहार महिलाले भोगिरहेका छन्। प्रहरीका अनुसार नेपाल यातायात र कीर्तिपुरमा चल्ने माइक्रोबस, मिनीबस र ठूला बसबारे धेरै उजुरी आउँछन्।प्रहरीले पहिलोपटक सचेत गराउने, दोस्रोपटक गल्ती नदोहोर्याउने प्रतिबद्धता गराउने तथा कागज गराएर छोड्ने गरिरहेको छ। हालसम्म सार्वजनिक यातायातमा भएका दुर्व्यवहारका विषयमा अदालतमा मुद्दा परेका छैनन्।अन्तरिम संविधान २०६३ ले प्रत्येक नेपालीको यात्रा गर्न पाउने अधिकार सुरक्षित गरेको छ। त्यसैगरी सार्वजनिक यातायातको साधनमा महिलामाथि हुने दुव्र्यवहार कम गर्न यातायात व्यवस्था विभागले सार्वजनिक यातायात आचारसंहिता २०६७ लागू गरेको छ।
आचारसंहिताअनुसार यात्रुवाहक सवारीसाधनमा चालक, परिचालक र पुरुष यात्रुले महिलासँग शिष्ट र सभ्य भाषामा कुराकानी गर्नुपर्ने, सवारीभित्र महिलामैत्री वातावरण हुनुपर्ने, आरक्षित सिटमा अनिवार्य रूपमा महिलाले बस्न पाउनुपर्ने, गर्भवतीलाई सिटमा बसाउनुपर्ने व्यवस्था छ।त्यस्तै अश्लील, महिलाविरुद्धका उद्धरणहरू लेख्न, लेखाउन र अश्लील चित्र र पोस्टर टाँस्न नपाइने व्यवस्था आचारसंहितामा छ। महिलालाई अपमानित गर्ने गीतसंगीत बजाउन नपाइने पनि आचारसंहितामा उल्लेख छ।
बसभित्र दुर्व्यवहार गर्नेविरुद्ध कारबाहीको व्यवस्था भए पनि अहिलेसम्म कुनै उजुरी नपरेको विभागकी निर्देशक इन्द्रकुमारी थपलियाले बताइन्।विश्व ब्यांकले तीन महिनाअगाडि सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सार्वजनिक यातायातमा चढ्ने प्रत्येक चार महिलामध्ये एकजना दुर्व्यवहारको सिकार हुने गरेका छन्। १९ देखि २५ वर्षभित्रका महिलाले यो समस्या बढी भोग्ने गरेका छन्। गाडीमा चढ्ने महिलामध्ये ९६ प्रतिशतले महिलासँगै उभिन र बस्न रुचाउने गरेको प्रतिवेदनमा उल्लेख छ।