किरण लोहनी/उज्यालो । गोरखा, फागुन २ - हाजिरीजवाफ र अन्य प्रसङमा नेपालका प्रथम शहीद को हुन् भनेर सोध्यो भने धेरैले सहजै उत्तर दिन्छन् – लखन थापा ।तर उनीहरुमध्ये धेरैलाई थाहा नहुन सक्छ, नेपालका प्रथम शहीद लखन थापा हुन् भनेर सरकारी लिखतहरुमा औपचारिक रुपमा लेखिएको छैन । त्यो भन्दा पनि अर्को अनौठो तथ्य फेला परेको छ, देशका प्रथम शहीद र उहाँका सहकर्मी जैसिं चुमीको अझैसम्म काजक्रिया हुन सकेको छैन ।राणाशासन विरुद्ध विद्रोह गरेका थापा र चूमीलाई तत्कालिन शासकले विसं १९३३ साल फागुन २ गते उहाँहरुकै घर गोरखाको बुङकोट गाविस वडा नम्वर ४ को काहुलेभंगारमा रुखमा झुण्ड्याएर मारेका थिए ।तर मारिएको १ शय ३७ वर्ष भैसक्दा पनि प्रथम शहीद र उहाँका सहकर्मीको काजक्रिया हुन नसकेको हो । उहाँहरुको स्मृति दिवसका अवसरमा शुक्रबार बुङकोटको काहुले भंगारमा भएको कार्यक्रममा सहभागी हुन आएका प्रथम शहीद लखन थापाका सहयोगी चैसिं चूमीका पनाति ७७ वर्षका रत्नबहादुर चूमी रानाले काजक्रिया हुन नसकेको बताउनुभएको हो ।
उहाँका अनुसार लखन थापाका कुनै सन्तान नभएपनि सहयोगी चूमीका भने त्यतिबेला ६ महिनाका छोरा थिए । दुबैका परिवारले तत्कालिन शासकको डरले त्यतिबेला काजक्रिया गरेनन् । पछि समय अनुकुल भएपनि काजकिरियाको सन्दर्भ पुरानो हुँदै गएकाले बेवास्ता गरिएको उहाँको भनाई छ । काजक्रिया गर्नका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने चूमीले बताउनुभयो । वि.सं १८९१ मा गोरखाको बुङकोटमा जन्मिएका लखन थापामगर नेपाली सेनामा समेत रहि राणाशासन विरुद्ध संगठित हुनु भएको थियो । सोही क्रममा वि.सं १९३३ फागुनमा बुङकोटकै काहुलेभंगारमा आफैले बनाएको बिद्रोही किल्ला परिसरमा रहेको खिर्राको रुखमा झुण्डाएर उहाँलाई मारिएको थियो । कतिपय पाठ्यपुस्तकमा प्रथम शहीद भनेर उल्लेख गरिएपनि राज्यले औपचारिक रुपमा त्यस्तो घोषणा गरेको छैन ।सहिद लखन थापा मगर तथा जैसिं चूमी प्रजातान्त्रिक क्लवले गरेको कार्यक्रमका वक्ताहरुले राणा शासक जंगबहादुर राणाको निरकुंश शासनविरुद्ध पहिलो विद्रोह गरेर राजनीतिक आन्दोलनको सुरुवात गरेका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गरेका छन् ।एक सय ३७ औ लखन थापा स्मृति दिवसको अवसरमा गरिएको कार्यक्रममा सहभागीहरुले निरकुशताको विरुद्ध लड्ने पहिलो ब्यक्ति लखन थापा नै भएकोले उहाँलाई पहिलो सहिद घोषणा गर्नु पर्ने धारणा राखेका हुन् ।