BICITRA KHABAR

BICITRA KHABAR

दुई नेपाली महिला सिरियामा सम्पर्कविहीन

नयाँ दिल्ली, फाल्गुन १० - गृहयुद्धले ग्रसित सिरियामा दुई वर्षअघि पुगेका दुई नेपाली महिला सम्पर्कविहीन छन् । 'मानव तस्कर' को चंगुलमा परी पोखराकी लक्ष्मी गुरुङ र बागलुङकी हुमा मगर सन् २०१२ जुलाई १५ मा उक्त पश्चिम एसियाली मुलुक गएका थिए । सरकारले भने सिरियामा कोही पनि नेपाली नभएको बताउँदै आएको थियो ।'टर्की बोर्डरको एलेपो सहरमा पुगेर लक्ष्मीले २०१२ को अन्त्यतिर एकपटक घरमा फोन गरेकी रहिछन्,' दाजु केहरजंग गुरुङले कान्तिपुरसँग भने, 'म परराष्ट्र, श्रम मन्त्रालय पुगें । सिरिया मामला हेर्ने इजिप्टस्थित नेपाली कूटनीतिक नियोगलाई पनि खोजबिनमा अनुरोध गरें । तर २० महिना बितिसक्यो, केही पत्तो लागेको छैन ।' उनले कूटनीतिक संयन्त्रमार्फत सिरियाको दिल्लीस्थित दूतावासमा पनि आफन्त खोजीका लागि आवेदन दिने भएका छन् । 'परराष्ट्रको कन्सुलर शाखाले इजिप्टस्थित नेपाली दूतावासलाई सोधपुछ गर्ने भन्यो,' केहरजंगले भने, 'दूतावासले सिरियामा कोही नेपाली नरहेको भन्दै कामचलाउ जवाफ फर्कायो ।'

केहरजंगका अनुसार ३६ वर्षीया लक्ष्मीसँगै बागलुङकी ३९ वर्षीया हुमा 'हाउसमेड' भिसामा दमास्कस उडेका हुन् । दुवैलाई मोहम्मद नामका दलालले सिरिया लगेको थाहा भए पनि अरू जानकारी नभएको उनले बताए । उनले लक्ष्मी र हुमाको हवाई टिकटको प्रति, पासपोर्टप्रति तथा सिरियाको पछिल्लो पटकको सम्पर्क नम्बरसमेत साथमा राखेर परराष्ट्र मन्त्रालय, आप्रवासन संगठन, प्रवासी नेपाली समन्वय समितिलगायतलाई खोजबिन गरिदिन ताकेता गर्दै आएका छन् । कायरोस्थित नेपाली नियोगका एक अधिकारीले भने सिरियाको उक्त फोन नम्बर सम्पर्कबाहिर रहेको बताए ।सरकारले सिरियालाई वैदेशिक रोजगारी गन्तव्यमा 'प्रतिबन्धित' गरे पनि काठमाडौं विमानस्थल हुँदै लक्ष्मी र हुमाले सारजहाँ-दमास्कसको उडान भरेका थिए । यसरी प्रतिबन्धित भनिएको मुलुकमा अध्यागमनको 'सेटिङ' बिना जान असम्भव छ । तर यसबारे अहिलेसम्म छानविन भएको छैन ।

२०११ मार्चदेखि सिरियामा सुरु गृहयुद्धमा झन्डै डेढ लाख जनाको मृत्यु भइसकेको छ । त्यति नै संख्यामा बेपत्ता छन् । केही नागरिक भने सीमावर्ती मुलुक इराक, टर्की, जोर्डन अथवा इजरायलतिर भागेर गएको हुन सक्ने अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमान छ । तर तिनमा नेपाली रहे/नरहेकोबारे केही जानकारी छैन । 'राजधानी दमास्कसबाहेकमा प्रशासनयन्त्रले काम नगरेको अवस्था छ, सिरियाली नागरिककै बेपत्ता र बिचल्लीको अनुमान भइरहेको छैन,' कायरोस्थित नियोगका ती अधिकारीले भने, 'केही सम्पन्न सिरियाली नागरिक भने आफ्ना घरेलु कामदार लिएर सीमावर्ती लेबनान जाने गरेको भन्ने थाहा पाएका हौं, त्यसमध्ये केही लिभिङ-टुगेदरमा पनि लेबनानमा बसेका हुन सक्छन् ।'अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, जापान, जर्मनी, फिनल्यान्ड, कतार, साउदी अरेबियासहितका एक दर्जनभन्दा बढी मुलुकले दमास्कसमा रहेका आफ्ना नागरिक असुरक्षित रहेको भन्दै कूटनीतिक नियोगसमेत बन्द गरिसकेका छन् । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More