‘बाबु निलो ज्याकेट लगाएको मेरो भाइ हो,’ फोनमा रोदनमिश्रित स्वर आयो, ‘कस्तो छ हेरेर बताइदिनुस् न।’ निलो ज्याकेट लगाएको शव मेरै अगाडि थियो– क्षतविक्षत अवस्थामा। ‘हामीलाई घटनास्थल पुग्न अझै पाँच मिनेट लाग्छ दिदी,’ मैले झुट बोलेँ। त्यो शवको अवस्था उनलाई बताउने आँटै आएन। रिपोर्टरको डायरमा पढ्नुस् मोबाइलको घन्टी पछ्याउँदै शव मेजर दीपक श्रेष्ठको थियो। फोन थियो उनकी दिदीको। कहिल्यै चिनजान नभए पनि घटनाले उहाँसँग सम्पर्क गरायो। म घटनास्थल पुगेको कतैबाट थाहा पाएपछि नम्बर खोजेर फोन गर्नुभएको रहेछ। बिहानैदेखि तारन्तार फोन गरिरहनुभएको थियो। 'मेरो भाइको फोनमा घन्टी गइरहेको छ,’ सोमबार बिहान करिब ६ बजे नै उहाँले मलाई फोन नम्बर टिपाउँदै भन्नुभएको थियो। त्यही नम्बरका आधारमा दुर्घटनास्थल पत्ता लगाउन सुरक्षाकर्मीलाई मद्दत पुग्यो। बाटोमा उहाँले आफ्नो भाइका बारेमा सोधिरहनुभएको थियो। मैले घटनास्थल पुगिसकेको छैन भन्दै ढाँटिरहेँ। पछि पनि धेरैचोटि फोन आयो। मैले फोन उठाउने आँट गरिन्। ... आइतबार। तीन दिनदेखि पानी परिरहेकाले चिसिएको थियो तानसेन बजार। यसपालिको हिउँदकै अत्यधिक चिसो दिन। तानसेनको माथिल्लो भाग बतासेडाँडा र श्रीनगरमा हिमपातको सम्भावना थियो। हिउँ परेको मौसमको फोटो खिच्नुपर्ला भन्ने सोचिरहेको थिएँ। एक्कासि अनलाइनहरूमा खबर आयो– पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज बेपत्ता भयो। जहाजको पछिल्लो लोकेसन पाल्पा र अर्घाखाँचीको सिमाक्षेत्र भन्ने पनि सुनियो। अर्घाखाँचीका सुरक्षा निकायले भने पुष्टि गरेनन्। नजिकका सुरक्षा निकाय परिचालन गरिएकोसम्म थाहा भयो। कतैबाट पुष्टि नभए पनि लगभग सबैले जहाज अर्घाखाँचीको खिदिममै बेपत्ता भएको बताए। अब भने पर्खेर बस्ने अवस्था रहेन। घटनास्थल जाने सुर कसेँ। निरन्तर पानी परिरहेको थियो। त्यसमाथि कच्ची बाटो। दुर्घटना भएकै हो वा होइन? भएको भए पनि कहाँ भन्ने यकिन थिएन। सम्भावित क्षेत्र पुगेपछि केही बाटो भेट्टाइएला भन्ने आशमा खिदिमतिर मोटरसाइकल दौडाएँ। त्यहाँ पुग्दा पनि अवस्था अन्योलग्रस्त थियो। स्थानीय, जिल्ला र अञ्चल ब्युरोबाट पुगेका सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबै छट्पटाइरहेका थिए, कुनै निष्कर्षमा पुगेका थिएनन्। केही सम्भावित ठाउँमा खोजी भइसकेको रहेछ, तर जहाजको अत्तोपत्तो थिएन। रात परिसक्दा पनि खोजी जारी थियो। यो प्रयासले कुनै प्रतिफल दिन्छ वा दिन्न कसैलाई थाहा थिएन। जति रात छिप्पिँदै गयो चिसो र अँध्यारोले एक पाइला सार्न पनि मुस्किल पर्न थाल्यो। सुरक्षाकर्मीहरू बिहान मात्र खोजी सुरु गर्ने निर्णयमा पुगे। त्यसपछि लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी मिङमार लामा र गुल्मीस्थित सैनिक गणका कर्णेल रामकाजी राना सूचना संकलन र विश्लेषणमा व्यस्त भए। एसएसपी लामाले सूचना संकलन गर्ने र कर्णेल रानाले विश्लेषण गर्ने गर्दै थिए। राति १ बजे सुरक्षाकर्मीसँगै स्थानीयको घरमा सेल्टर लियौं। खिदिममा 'घटनास्थल’ खोजी गरेर अघिल्लो दिनै थाकिएको थियो। अब अर्कै लोकेसनमा जानुपर्ने भयो। जहाजमा सवार उनै दिपक श्रेष्ठको मोबाइल ट्रेसिङका आधारमा सेनाको हेलिकोप्टर सर्चबाट खाँचिकोटको मसिने डाँडामा दुर्घटना भएको पत्ता लाग्यो। करिब ३ घन्टा मोटरसाइकल यात्रापछि घटनास्थल खाँचिकोट गाविस पुगियो। भर्खर नेपाली सेनाको हेलिकोप्टरले डोरीबाट जवानहरू खसाल्दै थियो। नजिकै देखिएको डाँडा हिँडेर डेढ घन्टामा पुग्न हम्मे पर्योन। २२ सय मिटर उचाइको डाँडा उक्लन निकै सास्ती भयो। ठाडो उकालो, त्यसमाथि हिउँले ढाकिएको सडक। ठाउँठाउँमा चिप्लिँदै घटनास्थल पुगियो। ... सेतो हिउँमा डढेका यात्रुको छरपस्ट शव। अग्लो डाँडामा हुर्कन नसकेका पोथ्राहरूमा मानव शरीरका टुक्रा झुन्डिएका थिए। जहाजका अवेशष यत्रतत्र छरिएका थिए। कुनै पनि शव सजिलै पहिचान गर्न मुस्किल थियो। करिब आधा किलोमिटर परिधि (क्षेत्र) भित्र जहाँ हेर्योा त्यहाँ जहाज र मानव शरीरका अवशेष मात्रै देखिन्थ्यो। सुरक्षाकर्मीहरूले घटनास्थल निरीक्षणपछि जहाज आकासमै आगलागी भएर पड्किएको आँकलन गरे। हिजो यहाँ दिनभरि नै पानी परिरहेको थियो। चट्याङ पनि बर्सिरहेको थियो। त्यही चट्याङको आवाजले जहाज दुर्घटना भएकोसमेत चाल नपाएको घटनास्थलमा भेटिएका स्थानीयले बताए। स्थानीय वीरबहादुर थापाले पानी र असिना परेकाले कतिखेर दुर्घटना भयो चालै नपाएको सुनाए। 'गाउँका कोही पनि घरबाहिर निस्कने अवस्थामा थिएनन्, आवाज त सुनिएको हो तर चट्याङको होला भनेर वास्ता गरिएन,’ उनले भने। हिजो राति नै दुर्घटनास्थल पुग्न सकेको भए कोही जीवित फेला पार्न सकिन्थ्यो कि भनेर थकथकी पनि माने स्थानीयले। उद्धारमा खटिएका सुरक्षाकर्मीले भने यो जहाज आकासमै आगलागी भएको बताएका छन्। उनीहरू यस्तो निष्कर्षमा पुग्नुको कारण, घटनास्थलमा जहाज ठोक्किएको निसानी कतै नभेटिनु हो। जलेका शव, इन्जिन, पखेटा, सिट, पुर्जा जंगलैभरि छरिएकाले पनि जहाजमा पहिले आगो लागेको र विस्फोट भएको अनुमान गरिएको छ। एसएसपी लामाले चट्याङ परेर वा इन्जिनमा खराबी आएर जहाज आकासमै विस्फोट भएको हुनसक्ने बताएका छन्। 'कुनै एक ठाउँमा ठोक्किएर दुर्घटना भएजस्तो लाग्दैन,' उनले भने, 'जहाज चट्याङमा परेको हुनसक्छ वा उड्दाउड्दै इन्जिनमा खराबी आएर आकासमै विस्फोट भएको हुनसक्छ।' त्यहाँको हृदयविदारक दृश्य हेर्न नसकेर कतिपय सुरक्षाकर्मी टाउकोमा हात राखेर शव संकलनबाट पन्छिन्थे। सयौंको संख्यामा मसिने लेकमा जुटेका गाउँले घटनास्थल पुग्न जति हौसिएका थिए फर्कदा उति नै लत्रिएका थिए। जाँदा सेताम्य बाटो फर्कंदा हिलाम्य बनेको थियो। 'किन आएछु यस्तो बिजोग देख्न,’ खाँचिकोटका ४४ वर्षीया भीमकला केसी भन्दै थिइन्, 'यस्तो त शत्रुलाई पनि नपरोस्।’ मलाई पनि उनै भिमकलाको शब्द सापटी लिएर भन्न मन लाग्यो– यस्तो रिपोर्टिङ अब कहिल्यै गर्न नपरोस्!