१४ फागुन, महोत्तरी । महोत्तरीको अनकार गाविसको बेला गाउँमा एक २० वर्षकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।मंगलबार साँझ खेतबाट घाँस बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी उनलाई साँझपखको अँध्यारोको मौका छोपी सोही बस्तीका ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको चित्कार सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए ।गएराति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए ।युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बलात्कारीहरुको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस