काठमाडौ, फाल्गुन ३ - फोहोरको थुप्रो हटाएपछि बिनाअवरोध बगिरहेको वाग्मतीको फोटो खिच्न एक युवा बुधबार तिलगंगा बसपार्कछेउ पुगे । उनी नदीको डिलतर्फ बढ्दै गर्दा आसपास बसिरहेकाहरूले चिच्याए, 'त्यसलाई समा, नछोड् ।' तर, उनी केही वास्ता नगरी अघि बढे । झोलाबाट क्यामरा निकालेर फोटो खिच्न थालेपछि झम्टिंदै गएका युवा फर्किए । नदी किनारमा पिसाब गर्न गएको आशंकामा उनीहरूले झम्टिएका थिए । भन्दै थिए, 'फोटो खिच्न पो आउनुभएको रहेछ ।'वाग्मती सफाइले तीव्रता पाएसँगै फोहोर उठाइसकेका स्थानका बासिन्दा सचेत भएका छन् । बुधबार बिहान साढे ९ बजे तिलगंगा परिसरमा (फोटोमा देखिएका) एक युवा साइकल रोकेर नदी किनारमा पिसाब गर्दा स्थानीयवासीको नियन्त्रणमा परे । उनलाई कान समातेर उठबस गराएर आगामी दिनमा त्यसो नगर्न सचेत गराइयो । ढलमतीको उपमा पाएको वाग्मती अहिले सफा भएपछि स्थानीयवासीले खोलामा फोहोर फ्याँक्ने बानी परिवर्तन गरिरहेका छन्, अरूलाई पनि फाल्न दिंदैनन् । नदी किनारका बासिन्दा स्वतःस्फूर्त जागरुक भएका छन् । किनारमा दिसापिसाब गर्दा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँछन् । कतिपयलाई स्थानीयस्तरमै सामान्य कारबाही गरेर छाडिन्छ । महानगरपालिकाका अनुसार हालसम्म १ सय ७५ जना कारबाहीमा परिसकेका छन् ।
गत वर्ष यही समयमा फोहोरको थुप्रोले पानी देख्न मुस्किल पर्थ्यो । बस्तीको ढल सीधै वाग्मतीमा मिसिन्थ्यो । तर, अहिले पशुपतिदेखि मीनभवनसम्म पानी बग्छ । सफाइ अभियान सुरु भएको ३९ औं सातासम्म आइपुग्दा वाग्मतीको रूप फेरिएको छ । सीधै नदीमा मिसाइने फोहोर पानी अहिले ढलबाट बग्छ । सिनामंगलको सुकुम्बासी बस्तीबाहेक अन्यत्रको फोहोर पानी ढलमार्फत पठाउने व्यवस्था मिलाइसकिएको छ । सफाइ अभियानलाई सघाउन बस्तीमा स्वतःस्फूर्त शौचालय बनिरहेका छन् । सरकारका मुख्यसचिव लीलामणि पौडेलले शौचालय नभएका घर हटाउने चेतावनी दिएपछि उनीहरू जुटेका हुन् । पौडेलका अनुसार सफाइमा सघाउन सुकुम्बासी बस्तीबाट दैनिक एक सयजना आउँछन् ।सफाइसँगै नदीका दुवैतर्फ ढल बनाइएको छ । नदी किनारका ४० भन्दा बढी उद्योगको अतिप्रज्वलनशील दूषित पानी यसअघि सीधै नदीमा मिसिन्थ्यो । अभियान सुरु भएपछि यो पनि व्यवस्थित भएको छ ।नदी किनारका बासिन्दा दुर्गन्धका कारण सस्तोमा घर बिक्री गरेर अन्यत्र सर्थे, अहिलेको अवस्था त्यस्तो छैन । सिनामंगल भत्केको पुल नजिककी कोइलीदेवी श्रेष्ठले सफाइपछि दुर्गन्धबाट मुक्ति पाएको बताइन् । उनका अनुसार वाग्मतीको दुर्गन्धकै कारण १५ वर्षअघि प्रतिआना १ लाखमा जग्गा पाइएको थियो । 'सस्तोमा जग्गा पाएपछि घर बनायौं तर खाना खाँदा पनि झ्याल, ढोका थुन्नु पथ्र्यो,' सिन्धुपाल्चोक लामोसाँघु पुख्र्याैली थलो भएकी उनले भनिन्, 'गन्हाउने भएपछि छोराछोरीले साथी पनि ल्याउन मान्दैनथे ।' यसअघि मरेका जनावर र सालनालसहितका बच्चा पनि वाग्मतीमा फाल्ने गरिएको उनले बताइन् ।
नदी दायाँबायाँका सडक ट्रयाक पनि कतिपय ठाउँमा अतिक्रमण भएको थियो । तर, अहिले केही भागमा कालोपत्रे भइसकेको छ । वाग्मतीको दायाँबायाँ रोपिएका रूखले सौन्दर्य बढाएका छन् । सफाइ भइसकेका ठाउँमा बगैंचा बनाउने अभियानै चलेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास आयोजनाका अनुसार बिहीबारसम्म ८ वटा संस्थाले बगैंचा बनाउन चासो दिएका छन् । तिलगंगा आँखा अस्पतालनजिक बगैंचा बनिसकेको छ । मीनभवन पुल आसपासमा कान्तिपुर मिडिया ग्रुपले बगैंचा बनाउने घोषणा गरेको छ । अहिले नदीमा प्लास्टिकका पोका देख्न मुस्किल पर्छ । प्रहरी र स्थानीयवासीलाई छलेर राति कसैले फाले सफाइमा खटिएकाले बिहान हटाउँछन् । हरेक शनिबार जनसहभागिताबाट नदी सफाइ गरे पनि अन्य दिन निश्चित क्षेत्रमा दैनिक ज्यालादारीमा पनि कर्मचारी खटाइएको छ ।अभियानको सुरुमा स्थानीय बासिन्दाको सहभागिता न्यून भए पनि अहिले उल्लेख्य छ । 'अहिले त आवश्यकताभन्दा धेरै सहभागीलाई व्यवस्थापन गर्न गाह्रो भएको छ,' मुख्यसचिव पौडेलले भने, 'सबैलाई एकै ठाउँमा राख्दा काम प्रभावकारी नभएपछि समूह विभाजन गर्न थालेका छौं ।' सफा गरिएका अधिकांश क्षेत्रमा फोहोर फाल्न नदिन बाँसको बार लगाइएको छ भने कतिपय स्थानमा तरकारी खेती गरिएको छ । यसले पनि वाग्मतीको सौन्दर्य बढाएको छ ।सफाइ अभियान मनोहरा दोभान पुगेको छ । यस क्षेत्रको दायाँबायाँ पर्खाल लगाउने र अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ । 'अहिलेसम्म मानवीय रूपमा काम भए पनि अब सम्भव छैन,' पौडेलले भने, 'वाग्मतीमा मनोहरा पनि मिसिएपछि गहिराइ भएकाले मानवीय रूपमा काम गर्न सक्ने अवस्था छैन ।' मनोहरा खोलाको दूषित पानी मिसिएको स्थानमा सफाइ चुनौतीपूर्ण भएको छ । थापाथली पुगेपछि धोबीखोला पनि मिसिन्छ ।जनसहभागिताबाट विकासको काम गर्न सकिन्छ भन्ने यस अभियानले देखाएको छ । जसको प्रभाव मुलुकका अन्य भागमा पनि देखिन थालेको छ । पौडेलले भने, 'जनसहभागिताको कामलाई निरन्तरता दिए प्रभावकारी हुन्छ भन्ने सन्देश गएको छ ।' वैशाख १ भित्र नुहाउन मिल्ने अवस्थामा पुर्याउने सफाइ अभियानको लक्ष्य छ ।



