BICITRA KHABAR

BICITRA KHABAR

कमल थापा भन्छन्- २ सय सिट आउँछ

२९ कात्तिक, काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख चार राजनीतिक दलले स्थापित गर्न खोजेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषय अस्थायीमात्रै भएको दाबी गर्नुभएको छ । 
उहाँले प्रमुख चार दलले स्थापित गर्न खोजेको कुरा संस्थागत नभई सबै अपूरो नै रहेकाले दोहोर्‍याएर चुनावमा जानु परेको दाबी गर्नुभयो । अनलाइनखबरको मल्टिमिडिया पार्टनर एभिन्युज टेलिभिजनसँगको कुराकानीमा थापाले भन्नुभयो, 'उहाँहरु चार दलले जुन कुरा स्थापित गर्न खोज्नुभएको थियो, त्यो संस्थागत नहुँदासम्म अस्थायी विषय हो । प्रयोगकै रुपमा भन्ने हो भने त्यो राजनीतिक बेइमानी हो ।' उहाँले गणतन्त्र, धर्मनिरपक्षेता र संघीयताको विषयलाई नयाँ बन्ने संविधानमा राखिनुपर्ने विषय भए पनि प्रमुख दलले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न संविधानको अंग बनाएको आरोप लगाउनुभयो । हाम्रो २ सय सिट आउँछ थापाले मंसिर ४ पछि राप्रपा नेपाल मुलुकको शक्तिशाली पार्टीको रुपमा स्थापित हुने दाबी गर्नुभयो । उहाँले अन्य प्रमुख दलको तुलनामा राप्रपा नेपालको सिट बेपत्ताले बढेर आउने बताउनुभयो । उहाँले जनताको जनलहर राप्रपा नेपालको पक्षमा देखिएको भन्दै उहाँले ०६२/६३ को आन्दोलनपछि चार दलले दिएको मार्गचित्र असफल भएकाले अब जनताले त्यसको विकल्पमा राप्रपा नेपाललाई खोजिरहेको बताउनुभयो । उहाँले विगत ७ वर्षको अवधिमा राप्रपा नेपालले लिएको मार्गचित्र मुलुकको हितमा भएको अडान सत्य सावित भएकाले पार्टीको एजेन्डाप्रति सकारात्मक धारणा बन्दै गएको बताउनुभयो । उहाँले ७ गतेभित्र अग्रणी र देेशको निर्णायक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभयो । दुई तिहाइको कुरा हास्यास्पद उहाँले प्रमुख दलहरुले दुई तिहाइ, बहुमतको कुरा गरेर हिँड्नु आफैंमा हास्यास्पद भएको टिप्पणी गर्नुभयो । १६ हजार मान्छे मारेर, शान्तिका नाममा एक सय अर्ब रुपैयाँ खर्च गरेर पनि परिवर्तन संस्थागत गर्न नसक्ने र संविधान दिन नसक्नेले दुई तिहाइ र बुहमतको कुरा गर्नु हास्यास्पद भएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, 'संविधान दिन नसकेर संविधानसभा विघटन गरेर उनीहरुले राष्ट्र र जनताका विरुद्धमा जघन्य अपराध गरे, तैपनि उनीहरुले जनतालाई ठूलो काम गरेर देखाएजस्तो गरी सम्मान स्वरुप दुई तिहाइ बहुमत दिनुस् भनेर भन्दै छन् । यसलाई जनताले हास्यास्पद रुपमा लिएका छन् ।' राष्ट्रियतामाथि ठूलो प्रहार भो उहाँले अघिल्लो चुनावपछि भएको गलत राजनीतिक अभ्यासको सवैभन्दा ठूलो प्रहार नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमतामाथि भएको बताउनुभयो । उहाँले प्रमुख दलहरुले सनातन धार्मिक पहिचानलाई समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रियता र सनातन धर्म संकटमा परेकाले त्यसलाई बलियो बनाउने एकमात्र शक्ति राप्रपा नेपाल भएको बताउनुभयो । अघिल्लो संविधानसभामा राप्रपाको सांकेतिक उपस्थितिमौत्रै भएको भन्दै थापाले अब मंसिर ४ पछि निर्णायक शक्तिका रुपमा उभिने दाबी गर्नुभयो । थापाले आफूहरु निर्णायक शक्तिका रुपमा उभिएर सबै दललाई सहमति र सम्झौतामा ल्याउन बाध्य तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, 'यसपालि निर्णायक शक्तिको म्यान्डेट हामीलाई जनताले दिन्छन् । कुनै एउटा पार्टीको एजेन्डा स्थापित भएर संविधान बनाउन सक्ने अवस्था छैन । सम्झौता हुनु पर्दछ, सम्झौताको एजेन्डा बोक्ने राप्रपा नेपाल नै हो । ' थापाले यसपटक आफूलाई ठूलो भन्ने दलहरुको हैसियत जनताले स्पष्ट पारिदिने दाबी गर्नुभयो । समानुपातिक उम्मेदवार बन्दा कार्यकर्ता रोए थापाले आफू मकवानपुरवाट प्रत्यक्ष उम्मेदवार नहुँदा नेता तथा कार्यकर्ता रोएको बताउनुभएको छ । उहाँले भन्नुभयो, 'मैले हार्छु भनेर समानुपातिमा बस्ने निर्णय गरेको होइन, बडो दुःखका साथ मैले यस्तो निर्णय लिएको हुँ, मेरो निर्णय सुन्दा जिल्लाका नेता तथा कार्यकर्ता रोएका थिए ।' थापाले आफूले आफ्नी धर्मपत्नीलाई आफू उठ्ने गरेको निर्वाचन क्षेत्रमा उठाएको र जीत सुनिश्चित भएको बताउनुभयो । उहाँले मकवानपुरमा मात्रै राप्रपा नेपालले कम्तिमा ३ सिट ल्याउने दाबी गर्नुभयो । पुरानै राजसंस्थामा फर्किनु पर्छ भनेका छैनौं थापाले आफूहरुले राजसंस्थाको एजेन्डा बोकेको भएपनि पहिलेकै राजसंस्थामा फर्किन नखोजेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, 'राजसंस्थाको कुरा गर्दा पहिलेकै राजसंस्थामा फर्किन खोजेको होइन । यो भ्रमबाट मुक्त हुन जरुरी छ । हामी यहीनेर सम्झौताको कुरा गरेका छौँ ।' उहाँले जनताले विश्वासको मत दिए राजादेखि माओवादीसम्म अटाउने खालको संविधान बनाउने र त्यो भिजन आफूहरुसँगमात्रै भएको बताउनुभयो । थापाले हिन्दु सनातन राष्ट्रको कुरा नियोजित ढंगले प्रचार गरिएको दुखेको पोख्नुभयो । उहाँले भन्नुभयो, 'हिन्दु राष्ट्रवारे गलत प्रचार गरियो । नेपाल हिन्दु राष्ट्र भयो भने अन्य धर्म मान्ने मान्छेहरु हेपिन्छन्, धार्मिक स्वतन्त्रताको हनन हुन्छ भन्नु गलत आक्षेप हो ।' वैद्यलाई बाहिर राख्नु दुर्भाग्यपूर्ण थापाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई बाहिर राखेर चुनावमा जानुपर्ने अत्यन्तै दूर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले प्रमुख चार दलले नियोजितरुपमा नेकपा-माओवादीलाई चुनावी प्रक्रियावाट बाहिर रहन बाध्य तुल्याएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,'मुलुकमा संविधानसभाको निर्वाचन हुँदा सिंगो राष्ट्र एक ठाउँमा उभिनु पर्ने हो, तर चार राजनीतिक दलको सिन्डिकेट र सर्वसत्तावादी सोच, आफूलाई मालिक ठान्ने र अरुलाई निषेध गर्ने शैली नै गलत थियो । त्यसै परिणामस्वरुप वैद्य पक्ष चुनावबाट बाहिर गयो ।' थापाले चुनावपछि कसरी बैद्य पक्षलाई राष्ट्रिय राजनीतिको मुलधारमा समाहित गर्ने र उनीहरुको भावनालाई कसरी सम्बोधन गर्ने भन्नेबारे अब आउने सरकार र संविधानसभाले गर्नुपर्नेमा जोड दिनुभयो । वैद्य पक्षलाई मूलधारमा ल्याउन पनि राप्रपा नेपाल निर्णायक शक्तिको रुपमा आउनु जरुरी रहेको थापाको भनाइ छ । भिडियो 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More