काठमाडौं, ११ मंसिरसिने क्षेत्रमा महिला कलाकारलाई शारीरिक शोषण हुन्छ भन्ने कुरा अब नौलो रहेन। नेपाली रजतपटमा नाम कमाउन संघर्षरत हरेक नवनायिका खुलमखुल्ला रुपमा शोषण हुने गरेको स्वीकार्न थालेका छन्। तर सबैको साझा समस्याचाही के हो भने कसले शोषणको प्रस्ताव राख्यो वा गर्यो भनेर कोही नाम लिन सक्दैनन्। यस्तै मध्येमा पर्छिन, नवनायिका रुपा खनाल। काभ्रेकी स्थायीबासी रुपाले एक फिल्मी म्यागाजिनसँगको अन्तरवार्तामा 'कहीं न कहीं, कुनै न कुनै रुपमा महिला कलाकारमाथि शोषण हुने र त्यो स्वयम् आफैंले पनि अनुभव गरेको' खुलासा गरेकी छिन्। कतिसम्म भने उनले केही हिरोइन कम्प्रोमाइज गरेरै एकाएक माथि आएको दाबी पनि गरेकी छिन्।
टेलिचलचित्रबाट ठूलो पर्दामा जम्न संघर्षरत रुपाले आफूले पनि कम्प्रोमाइज गरेको भए ४-५ वर्षअगाडि नै धेरै माथि आइसक्ने जिकीर गरेकी छिन्। 'मलाई हिट हुनैपर्छ वा यही क्षेत्रमा काम गर्नैपर्छ भन्ने पनि छैन। खुबीले साथ दिए त्यसै माथि आइन्छ,' रुपाले कामना म्यागाजिनसँगको अन्तरवार्तामा भनेकी छिन्, 'आँ गर्दा अलंकार बुझिन्छ, यहाँ अप्रत्यक्षरुपमा निर्माता निर्देशक वा सहकर्मी पुरुष कलाकार महिला कलाकारलाई शोषण गर्ने प्रयास गर्छन्। उनीहरुको नजर खराब भएको मैले प्रत्यक्ष देखेकी छु।' उनको यो अभिव्यक्तिले रंगीन दुनिँया भित्रको कालो यथार्थ बाहिर आएको छ। जसबाट फिल्म क्षेत्रका महिला कलाकारमाथि हेर्ने दृष्टिकोण अझ नकारात्मक हुने देखिएको छ। साथै सिने क्षेत्र महिलाको लागि अझ सुरक्षित छैन् भन्ने पनि पुष्टि भएको छ। 'सहमतिमा जे पनि हुन सक्छ, त्यो कुरा अलग हो। तर महिला कलाकारलाई शोषण गर्न खोज्नु अर्कै कुरा हो। जानाजान शोषति हुनु पनि जायज कुरा हुन सक्दैन,' रुपाले स्पष्ट रुपमा भनेकी छिन्।
करिब आधा दर्ज सिरियलका अलवा रामेश श्रेष्ठको नारीका मन, रोशन गुरुङको मेरो लाशलाई लगायत दुई दर्जन जति म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। उनको पहिलो फिचर फिल्मचाही 'परिधि' हो। जुन करिब ३ वर्ष अगाडि निर्माण सम्पन्न भएको थियो। त्यसपछि उनले श्रीमान्, अधिकार, स्टार, माया गर ल, सपना, राहदानी, बर्दीजस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् तर पनि जम्न सकेकी छैन। यतिधेरै फिल्म खेलिसक्दा पनि उनी किन मार्क भएकी छैनन् ? क्षमता नै नभएर हो कि कम्प्रोमाइज नगरेर ? सोचनिय सवाल हो यो।