सोल , मंसिर ३ - रोजगारी गर्न कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । ईपीएस मार्फत २०१० मा यहाँ आएका डडेलधुरा भोगेश्वर ५ का मनोजकुमार पाण्डेको गए राती मृत्यु भएको हो । ३५ वर्षीय पाण्डे ख्याङगीदो पोछनस्थित जिन्स पाइन्ट बनाउने कम्पनीमा कार्यरत थिए । पाण्डेसँगै कार्यरत पर्वतका नारायण सुबेदीका अनुसार शनिबार बेलुकी सोल छङर्याङरिमा रहेको चर्चमा गएर आइतबार ४ बजे कम्पनी फर्केर सुतेका थिए । उनले मादक पदार्थ सेवन गरेका थिएनन । सोमबार बिहान ड्युटी समयमा पनि नउठेपछि कोठामा हेर्न जाँदा मृत अवस्थामा फेला परेको सुवेदीले बताए । कम्पनीमा ७ जना नेपाली कार्यरत छन् । स्थानीय प्रहरी कार्यालयले सोलस्थित नेपाली दूताबासलाई घटनाको जानकारी गराएको र सो पत्रअनुसार परिवार तथा परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको श्रम सहचारी अनिलकुमार गुरुङ बताए । मृतकको श्रीमती ८ वर्षीया छोरी, ५ बर्षको छोरा छन् ।



