दैलेख, ३ मंसिर । दैलेखको पश्चिममा पर्ने लकान्द्र गाविसको प्याडुली केन्द्रमा नेकपा–माओवादीले आक्रमणको प्रयास गरेका छन् । करिब ४० जनाको समूहले नारा जुलुस गर्दै बुथ केन्द्र कब्जा गर्ने भन्दै जबरजस्ती मतदान अधिकृतमाथि हातपात गरेर अपहरण गर्न थालेपछि प्रहरीले दुई राउन्ड ‘हवाइफायर’ गरेको थियो ।बुथ केन्द्रमा खटिएका कर्मचारीहरुलाई बाहिर जान धम्की दिँदै मतपेटिका र मतदाता नामावली खोस्न थालेपछि प्रहरीले ‘हवाइफायर’ गरेको मतदान अधिकृत चित्र भट्टराईले जानकारी दिनुभयो ।आफूलाई अपहरणको प्रयास गरेपछि आफू फुत्केर अन्यत्रको घरमा लुकेर बसेको र नेकपा–माओवादी कार्यकर्ताहरुले बुथ केन्द्र बाहिर राखिएको टेबुल र मतदानका लागि मिलाइएको डोरीलगायतका बाहिरका समग्रीहरु तोडफोड गरेको भट्टराईले बताउनुभयो । प्रहरीको ‘हवाइफायर’ पछि माओवादीहरु त्यहँँबाट भागेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले तत्कालै सुरक्षा बैठक बोलाएको जानकारी दिइएको छ ।