३ मंसिर, काठमाडौं । मंगलबार हुने दोस्रो संविधानसभा निर्वाचनको मतदान लागि देशैभर मतदान केन्द्र तयार पार्ने काम भइरहेको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीले मतदान केन्द्र तयार पारेका हुन् । मतदान केन्द्रको सुरक्षाका लागि खटिएका सशस्त्र र जनपथ प्रहरीको समेत सहयोगमा मतदान केन्द्र तयार भइरहेका छन् । सबै मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टा-छुट्टै प्रवेशद्वार बनाइएको छ । निर्वाचन आयोगले यसपालि अपाङ्गमैत्री मतदान केन्द्रको पनि व्यवस्था गरेको छ । आयोगले देशभरका १ सय ४९ मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाएको जनाएको छ । कतिपय मतदान केन्द्रमा ‘धुम्रपान निषेध’ लेखिएको छ ।
निर्वाचन आयोगले देशभरका एक करोड २१ लाख ४७ हजार आठ सय ६५ मतदाताका लागि १८ हजार चार सय ५६ वटा मतदान केन्द्र निर्धारण गरेको थियो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरेर मंगलबारको निर्वाचनका लागि मतदान केन्द्रहरु तयार भइसकेको बताउनुभयो ।
‘मतदान केन्द्र निर्माण भइसकेका छन्’, प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो, ‘सबै मतदान केन्द्रमा मतपेटिका, मतदान पत्र र अन्य आवश्यक सामान पुगिसकेकाले देशभरिका मतदाताले मंगलबार विहान ७ बजेदेखि मत जाहेर गर्न पाउनेछन् ।’
देशभरका १८ हजार ४ सय ५६ मतदान केन्द्रमा २ लाख १५ हजार कर्मचारी र २ लाख १० हजार सुरक्षाकर्मी खटिएका छन् । ७४ हजार स्वदेशी तथा विदेशी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन् ।






