नयाँ दिल्ली, मंसिर ११ - गाजियाबादस्थित केन्दि्रय अनुसन्धान ब्युरोको बिशेष अदालतले १४ बषिर्या आरुसी तलवारको हत्या अभियोगमा उनका बाबु डा.राजेश र आमा डा.नुपुरलाई आजीवन कारावासको सजाय सुनाएको छ ।मंगलबार अपरान्ह अदालतले यो फैसला सुनाउनासाथै तलवार दम्पत्तिलाई दासना जेल लगिएको छ । तलवार दम्पत्तिले अदालतको फैसलामा चित्त नबुझेको प्रतिक्रिया दिदैं निर्णयको बिरुद्धमा हाइकोर्टमा जाने बताएका छन् । उत्तर प्रदेशको नोयडास्थित एक अपार्टमेन्टमा साढे ५ बर्षअघि भएको हत्याकाण्डमा आफ्नै छोरी आरुसीलाई उनका बाबुआमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी रिपोर्ट दर्ता (एफआइआर) गराइएको पुष्टी भएपछि अदालतले मंगलबार सजाय सुनाएको हो ।२००८ को मे १५ मा भएको हत्या काण्डपछि बिभिन्न चरणमा भएका अनुसन्धान क्रममा डा.तलवारका घरमा काम गर्ने नेपाली कामदार हेमराज (यमप्रसाद) बन्जाडेसहित अन्य तीन नोकरमाथि पनि आशंका गरिएको थियो । तर आरुसीसँगै हेमराजको पनि हत्या गरिएको र उनको शव सेक्टर-२५ स्थित त्यही घरको छतमा दुइ दिनपछि भेटिएपछि हत्या घटनाले थप आशंका र रहस्य बढाएको थियो । ४५ बर्षीय नेपाली कामदार हेमराजसागै भएको हत्याकाण्डका कारण यसलाई हेमराज-आरुसी प्रकरणका रुपमा चिनिन्छ ।