BICITRA KHABAR

BICITRA KHABAR

हाम्रो बहुमत नआएपनि संविधान बन्छ: भट्टराई


गोरखा, मंसिर ४ – एकीकृत नेकपा माओवादीका नेता डा‍. बाबुराम भट्टराईले आफुहरुको बहुमत नआएपनि संविधान बन्ने बताउनुभएको छ ।उहाँले बहुमत नआएपनि सहमतिको आधारमा संविधान बनाउने बताउनुभयो । ‘दुई तिहाई आए उत्तम संविधान बन्छ, नआए पनि संविधान त बन्छ’ मंगलबार गृहजिल्ला गोरखामा मतदान गर्न आएका भट्टराईले  भन्नुभयो ‘तर त्यसका लागि सहमतिको अधिकतम प्रयास गर्नुपर्छ ।’प्रत्यक्ष प्रणालीतर्फ एमाओवादीले बहुमत सिट जित्ने दावी गर्दै उहाँले समानुपातिकतर्फ भने बहुमतको सम्भावना नरहेको बताउनुभयो । बहुमत नआए विचार मिल्ने अन्य दलसँग मिलेर सरकार बनाउने भट्टराईको भनाई छ । भट्टराईले राजनीतिमा सबै कुराको सम्भावना रहेको भन्दै आफु प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको बताउनुभयो ।

छोरी मानुषीसँगै आएका उहाँले दिउँसो ३ वजेर ५ मिनेटमा भोट हाल्नुभयो । क्षेत्र नम्बर २ अन्तर्गत खोप्लाङ गाविसको अन्नपूर्ण उच्च माविको “क” केन्द्रबाट भोट हाल्ने भट्टराई ६ शय २६ औं मतदाता हुनुहुन्छ ।
मतदान अधिकृत लगायत कर्मचारीसँग कुरा गर्दै उहाँले त्यो बेलासम्म खसेको मतबारे चासो राख्नुभएको थियो । कर्मचारीहरुले करिब ७० प्रतिशत मत खसेको बताउँदा उहाँले सन्तोषजनक मत खसेको प्रतिक्रिया दिनुभएको थियो ।यसअघि गोरखा क्षेत्र नम्वर २ बाट निर्वाचित भट्टराई यो पटक भने १ नम्वर क्षेत्रबाट उम्मेद्वार हुनुहुन्छ । उहाँले यसपटक पनि उल्लेख्य मत ल्याएर जित्ने दावी गर्नुभयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More