२९ कात्तिक, काठमाडौ । एकीकतृ माओवादी तथा काठमाडौं क्षेत्र नं. १० का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव जितेपछि महिनैपिच्छे कीर्तिपुर आउने बताउनुभएको छ ।जागरुक नागरिक मञ्च कीर्तिपुरले शुक्रबार आयोजना गरेको अन्तरकृयालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले पहिलो संविधानसभाको चुनाव जितेपछि आफ्नो क्षेत्रमा नियमित आउन नसकेको स्वीकार्दै अब भने महिनामाा एकचोटी कीर्तिपुर आउने प्रतिवद्धता जनाउनुभएको हो ।
‘अबको चुनावपछि म महिनामा एक चोटी कीर्तिपुर आउने छु । कीर्तिपुरबासीले सम्झने केही काम गर्न म मेरा मतदातासामु नियमित छलफल गर्नेछु’, अध्यक्ष दाहालले भन्नुभयो, ‘देश दौडाहामा लागेकाले कीर्तिपुर आउन सकेको थिइन, पहिलो संविधानसभापछि छोटो समय सरकारको नेतृत्व गर्नुपरेकाले केही गर्न सकिन अब चाँहि यो क्षेत्रको विकासमा जुट्नेछु ।’ कीर्तिपुरबासी सामु पहिलो संविधानसभामा आफूले गरेका बाचा पूरा गर्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले अब ती बाचाहरु पूर गर्ने बताउनुभयो ।तालमेलले फाइदा आफूलाई हराउन कांगे्रस र एमालेले तालमेल गरिरहेको सुनेको बताउँदै अध्यक्ष दाहालले दुई पार्टीले गरेको तालमेलले आफूलाई फाइदा हुने दावी गर्नुभएको छ ।’कांग्रेस र एमालेले तालमेल गरे भने मलाई नै फाइदा हुन्छ । दुवै पार्टीले तालमेल गरेपछि ती पार्टीका मतदाताले समेत मलाई मत हालेर जिताउनुहुन्छ’, ‘कांग्रेस एमालेको चुनावी तालमेलले मेरो जीत झनै पक्का हुन्छ ।’ दाहालले भन्नुभयो ।प्रचण्ड उम्मेदवार पाउनु कीर्तिपुरबासीको गौरव : खगेन्द्र संग्रौला पछिल्लो समय एमाओवादीका उम्मेदवारलाई खुलेरै भोट मागिरहनु भएका राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलले प्रचण्ड जस्तो उम्मेदवार पाउनु कीर्तिपुरसबाीका लागि गौरब भएको बताउनुभयो । ‘जनयुद्धको नागरिक, समग्र शान्ति प्रकृया र संविधान निर्माण गर्ने नागरिकलाई उम्मेदवारका रुपमा पाउनु भएको छ’, संग्रौलाले भन्नुभयो, ‘प्रचण्डजी राष्ट्रको नेता भएकाले राष्ट्रकै घर दैलोमा पुगिरहनु भएको छ । १० नम्बरका जनताले राष्ट्रिय नेता पाउनुभएकाले गुनासो नराख्नुहोला ।’
वैद्य माओवादीलाई सहभागी नगराई निर्वाचन हुँदैन भन्नेहरु दुला पसेका बताउँदै संग्रौलाले देशमा निर्वाचनको माहोल बनाउन प्रचण्ड बाली पुत्र हनुमान बनेर मेची महाकाली यात्रामा निस्केपछि देशमा चुनाव हुने पक्का भएको तर्क गर्नुभयो ।’प्रचण्डजी १० निर्वाचन क्षेत्रका सबै गाउँमा पुग्न नसक्नु भएको गुनासो सुनिएको छ । प्रचण्डजी १० नं. का सबै घरमा पुग्ने हो भने तीन वर्षको समय राख्नुपर्छ’, संग्रौलाले भन्नुभयो, ‘सबै मतदाताकावीचमा पार्टीका दस्तावेज र कागजपत्रमार्फत प्रचण्डजी पुगिरहनु भएको छ ।’
प्रचण्डको जित्नु राष्ट्र जीत भएको जिकिर गर्दै संग्रौलाले प्रचण्ड र बाबुरामलाई हराउन अबका केही दिनमा पैसाको खोलो बग्ने दावी गर्नुभयो । ‘यस पटकको चुनावमा पैसाको खोलो बग्दैछ । अबका तीन दिनमा पैसाको खोलो बगाएर एमाओवादी नेतृत्वलाई हराउने षड्यन्त्र भएकाले नेतृत्व सजग हुनु जरुरी छ ।’ संग्रौलाको तर्क थियो ।



