२० फागुन, काठमाडौं । सिंगापुर विश्वको सर्वाधिक महँगो शहर घोषित भएको छ । काठमाडौं भने १ सय २७ औं नम्बरमा परेको छ ।इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको २०१३ को सर्वेक्षणमा सिंगापुर टोक्योलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । १ सय ३१ शहरमा गरिएको सर्वेक्षणको १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी सामाग्रीहरुको मूल्य विश्लेषण गरेर महंगा शहरहरुको सूची तयार पारिएको छ ।ईआईयू सूचीमा काठमाडौंलाई विश्वका दश कम महंगो अर्थात सस्ता शहरहरुको सूचीमा राखिएको छ । यो सूचीको शीर्ष स्थानमा भारतको मुम्बई छ भने पकिस्तानको कराँची, भारतको नयाँदिल्ली, सिरियाको दमास्कस र पाँचौं नम्बरमा काठमाडौं छ । रियाद पुछारमा छ । महंगी विश्लेषणमा यिनीहरु १ सय २२ देखि एक सय ३१ नम्बरमा परेका छन् ।नेपालसँगै भारत र पाकिस्तान शहर सस्तो वर्गमा रहेको प्रतिवेदनका सम्पादक जोन कपस्टेक बताउँछन् । असुरक्षा र घरेलु द्वन्द्वका कारण पनि नेपालसँगै पाकिस्तान, भारत, सिरिया र अल्जेरियाका शहरहरु सस्ता शहरहरुको सूचीमा परेको बताइएको छ । उपभोग्य मूल्यको उतारचढावको कारण एसियाली शहरको महंगी बढ्ने गरेको विश्लेषण गरिएको छ । बढ्दो जनसंख्याको चाप भएर पनि भारतमा महंगी खासै नभएको सर्वेक्षणमा देखिएको छ । भारतको मुम्बई र नयाँ दिल्ली विश्वको सस्तो शहरको कोटीमा परेका छन् । भारतमा श्रमज्याला दर कम भएपनि राज्यले दिने सहुलियतको कारण उपभोक्ताले सस्तो जीवनयापन गर्न पाएको र महंगीको मार कम खेप्नुपरेको सर्वेक्षणमा देखिएको छ ।एसियाली शहरहरुमा उपभोग्य सामाग्रीहरुको मूल्य बढी भएको शहरमा भने टोक्यो परेको छ । मनोरञ्जन सामाग्रीको मूल्यमा बढी खर्च गर्नेमा युरोपेली मुलुकका उपभोक्ता छन् । उनीहरुको आम्दानी स्तर बढी भएको हुँदा मनोरञ्जनमा खर्चालु भएका हुन् ।