नवलपरासी— शनिबार वैवाहिक बन्धनमा बाँधिएका महानायक राजेश हमालले नवलपरासीको रजहरमा रहेको आफनो पुर्खौली घरमा श्रीमती मधुलाई विधिवत रुपमा भित्र्याएका छन्। हिन्दु संस्कारअनुसार पण्डितले पूजा गरेर उनलाई भित्र्याइएको हो। पण्डित विश्वनाथ ज्ञवलीले पुजापाठ गराइ मधुलाई भित्र्याएका थिए। शनिवार मात्रै विहे गरेका हमालले आफ्नो पुर्ख्यौली घरमा भित्रयाउन राजधानीको घरमा श्रीमती नभित्र्याएको बताए। हमाल जोडी आइतबार बुद्ध एयरको जहाजबाट भरतपुर विमानस्थलमा ओर्लेर निजी सवारी साधनमा पुर्खौली घर पुगेको थियो। शनिबार राजधानीको होटल अन्नपूर्णमा हिन्दु परम्पराअनुसार विवाह गरेका हमालको कपुरधारा स्थित घरमा कुनै रमझम देखिएको थिएन। शनिबारको रात द्वरिकाज रिसोर्ट धुलिखेलमा बिताएर उनीहरु दिउँसो १ बजे रजहर आइपुगेका थिए। २ घण्टा पुख्र्यौली घरमा बिताएका उनीहरु भरतपुरबाट विमान चढेर काठमाडौं फर्किए। हमाल आएको जानकारी पाउनासाथ स्थानीयको निक्कै भीड लागेको थियो। यसै क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै हमालले आफ्नो जिन्दगीको नयाँ अध्याय सुरु भएको बताए। मधुसँग आफू सधै खुशी रहने र मधुलाई पनि खुशी राख्ने उनको भनाइ थियो। एक फरक प्रसंगमा उनले अब फिल्म निर्देशक बन्ने योजना सुनाए। 'लामो समयको प्रतिक्षापछि विवाह गरियो अब फिल्म निर्देशन पनि छिट्टै गर्छु', उनले सुनाए। मधुले महानायकसँग विवाह गर्न पाउनु आफ्नो लागि जिन्दगीकै खुशीको कुरा रहेको बताइन्। हमालजस्तो असल व्यक्तिसँग विवाह गर्न पाउनु नै आफ्नो सौभाग्य रहेको उनको भनाई थियो। ९ वर्ष लामो प्रेम सम्बन्धपछि राजेश-मधुको जोडीले शनिबार विवाह गरेको हो।