चितवन, मंसिर २ - जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु बसमा पेट्रोल बम हान्ने र बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा नेकपा-माओवादीका राज्य समिति सदस्यलाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर १२ स्थित टाउनबाट शक्तिखोर ९ का २८ वर्षीय नविन बीसी छलाङ भनिनेलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो ।
उनी कार्तिक २५ गते सर्लाहीबाट काठमाडौं जाँदै गरेको रात्री बसमा पेट्रो बम हान्ने र रामनगरस्थित स्थानीय टंकनाथ न्यौपानेको घर अगाडि बम राख्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयबहादुर राउतले बताए। पार्टीका राष्ट्रिय युवा जन स्वयंसेवक समेत रहेका छलाङको साथबाट ५ थान डेटोनेटर र एसएलआर राईफलमा प्रयोग हुने ४ थान गोली बरामद गरिएको छ ।उनलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अन्तर्गत ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ ऐन २०१८ अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले ३ वटा सिलिण्डर बम र सुतरी बम ३ वटा बरामद गरेको छ। निर्वाचन बिरोधी गतिविधिमा संलग्न १३ जना पक्राउ परेका र उनीहरुलाई सार्वजनिक अपराध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी राउतले बताए ।चितवनको भरतपुर १२ टाउनबाट पक्राउ परेका नेकपा-माओवादीका राज्य समिति सदस्य नविन बिसी छलाङ । उनको साथबाट प्रहरीले ५ थान डेटोनेटर र एसएलआर राईफलमा प्रयोग हुने ४ थान गोली बरामद गरेको छ । तस्बिर : विमल खतिवडा/ईकान्तिपुर



