पोखरा, कार्तिक २८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनपछि आफैंले सरकारको नेतृत्व गर्ने बताएका छन् । आफूलाई भावी राष्ट्रपतिको रुपमा प्रस्तुत गर्दै आएका उनले सरकार प्रमुख बन्ने बताएका हुन् ।
अमरसिंहचौरमा बिहीबार आयोजित चुनावी सभामा दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाचा गर्दै भने, 'निर्वाचनपछि म आफैं सरकारको नेतृत्व लिनेछु । र, एयरपोर्ट बनाउनेछु ।'
वैद्यले आफू गएको सभामा पड्काएको बमलाई सलामी ठानेको बताएका छन् । 'म राष्ट्रकै नेता भएकोले सलामी दिएका होलान्,' दाहालले भने, 'बन्द गरेपछि सभामा मानिस जाने भएकोले वैद्यहरुबाट सहयोग नै पुगेको छ ।'
हेलिकप्टरबाट मनाङ, पर्वत, स्याङजा हुदै पोखरामा पनि सम्बोधन गर्दै दाहालले जनताले एमाओवादीलाई अत्यधिक बहुमत दिए राजनीतिक स्थिरता हुने दाबी गरे । 'परिवर्तन ल्याउनेले नेतृत्व गरे मात्र देशमा राजनीतिक स्थिरता हुन्छ,' उनले भने ।
०६४ को निर्वाचनमा ठूलो पार्टी भएपनि बहुमत नपुगेकोले संविधान नबनेको उल्लेख गर्दै दाहालले यसपटक अत्यधिक बहुमत दिन आग्रह गरे ।
कांग्रेस, एमाले संविधान सभा र गणतन्त्र विरोधी भएको दाहालको आरोप थियो । 'कांग्रेस, एमाले इमान्दार हुन् भने यो देशमा संघीयता, गणतन्त्र हुन्न भन्दा हजारौं मान्छे मारेका हौं भन्नुपर्यो,' दाहालले भने, 'गणतन्त्र चाहिन्छ भन्दा कांग्रेसले हाम्रो टाउकाको मुल्य तोक्यो । एमालेले हत्यारा राजालाई पैसा राखेर ढोग्यो ।'
कार्यक्रममा आचारसंहिता उल्लघंन
जानु पङ्गेनी
स्याङजा-एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रममा आचारसंहिताको उल्लघंन भएको छ ।
दाहाल सहभागी कार्यक्रममा कार्यकर्ताले निर्वाचन आचारसंहिता विपरीत पार्टीको नारा,चुनाव चिन्ह सहितको टिर्सटको प्रयोग गरेका थिए ।
कार्यकताले रातो टिसर्टमा संघियता सहितको पहिचान, एमाओवादीको चुनावी अभियान लगायतका नारा तथा भने चुनाव चिन्ह हसिया हतौडा लेखेका टिर्सट कार्यक्रममा खुलेआम लगाएका हुन । कार्यक्रममा एकीकृत माओवादी क्षेत्र नं. ३ का उम्मेदवार डम्मरदेव अर्याललाई अत्याधिक मतले विजयी गराऔं भन्ने नारा लेखिएका टोपी र टिर्सट कार्यकर्ताले लगाएका थिए । निर्वाचन आचारसंहितामा चुनावी प्रचारप्रसारका लागि टोपी, टिसर्ट लगाउन नपाइने नियम रहेको छ ।
यता मुख्य निर्वाचन अधिकृतवाट स्वीकृत पाएका सवारी साधनवाहेक अन्यमा पार्टीको झण्डा राख्न नपाइने भएपनि प्रचण्ड आउने भएपछि एमाओवादीका कार्यकर्ताले सवारी साधनमा समेत पार्टीको झण्डा राखेर हिँडेका थिए । यसभन्दा अगाडि मुख्य निर्वाचन अधिकृतको निर्देशनमा स्थानिय प्रशासनले उम्मेदवारवाहेक सवारी साधनमा झण्डा राख्नेलाई नियन्त्रणमा लिने गरेको थियो ।