काठमाडौं-क्रिश्चियन धर्म मानेकै आधारमा इजरायल पुर्याएर रोजगार लगाइदिने भन्दै एक दम्पतीले नेपाली क्रिश्चियनहरूसँग लाखौं रकम ठगी गरिरहेको खुलेको छ। चर्चले दिने प्रमाणपत्रका आधारमा सतिस घले (सामुअल घले) र उनकी श्रीमती उषा घलेले इजरायल पठाइदिने भन्दै रकम उठाएको पीडितहरूले बताएका छन्। सन् २००९ देखि नै नेपाली कामदार लैजान बन्द गरिएको इजरायलमा जागिरको लोभ देखाएर घले दम्पतीले प्रतिव्यक्ति २८ हजारदेखि २ लाख रुपैयाँसम्म उठाउने गरेको पीडितहरूको भनाइ छ। 'तुरुन्तै इजरायल जान पाइन्छ भनेर कतारमा हुँदाखाँदाको जागिर छाडेर आएँ,' सन् २०१३ मार्चमा इजरायल जाने आसमा कतारबाट फर्केका सुनसरी, धरान–८ का हिरालाल विश्वकर्माले मंगलबार नागरिकसँग भने, 'जागिर पनि गयो, इजरायल पनि जान पाइएन।' दार्जिलिङ निवासी सतिस र नेपाली नागरिक उषा दुवै क्रिश्चियन धर्मावलम्बी हुन्। उनीहरूले रकम लिँदा 'इजरायल पठाइदिन्छु' भनी कबुल गरेर हस्ताक्षरसहित कागज गरिदिन्छन्। त्यस्तै केही कबुलियत नागरिकसँग सुरक्षित छ। इजरायलको सपना देखेर कतारको जागिर छाडेर आएका हिरालाललाई पनि घले दम्पतीले आफ्नै हस्ताक्षरमा झुठो कागज लेखेर दिएका थिए। उनी आफ्ना दाइ गोविन्दले नेपालबाट बोलाएपछि मासिक ६० हजार रुपैयाँको जागिर छाडेर आएका हुन्। भाइ र आफ्नोसहित ३४ जनाको ९ लाख ८५ हजार रुपैयाँ पटकपटक गरी गोविन्दले नै सतिस र उषालाई बुझाएका थिए। रकम बुझाएको लामो समय बित्दा पनि इजरायल जाने सुरसार नदेखेपछि उनीहरूले सतिस र उषालाई र्याखर्याखती पार्न थाले। 'निकै धाएपछि केही दिनअघि बल्ल पैसा फिर्ता पाइयो,' गोविन्दले नागरिकसँग भने, 'हामीसँग मात्र होइन, अरू थुप्रैसँग क्रिश्चियन धर्मको नाममा भावनात्मक ब्ल्याकमेल गरी पैसा उठाइरहेका छन्।' इजरायल पठाइदिने लोभ देखाएर उठाएको रकम उनीहरूले सुन र ब्याजमा लगाउने गरेको हिरालालले बताए। उनी इजरायल जाने सपना तुहिएपछि अचेल बागडोल–रत्नपार्क रूटमा टेम्पो चलाउँछन्। धरानका अर्जुन राई इजरायल जाने लोभमा फसेका अर्का व्यक्ति हुन्। उनले आफू लगायत १५ जनाबाट प्रतिव्यक्ति ३१ हजार रुपैयाँका दरले साढे चार लाखभन्दा बढी घले दम्पतीलाई बुझाएका थिए। अहिले फसेको रकम कसरी उठाउने भन्ने चिन्तामा छन्। उनको विश्वासमा पैसा दिनेहरू तारन्तार धाएका धायै छन्, तर उनी आफैं घले दम्पतीबाट पैसा उठाउन सकिरहेका छैनन्। 'मैले पैसा उठाएर आफैं खाएको होइन, म पनि पीडित हँु,' राईले भने। विश्वासका भरमा पैसा बुझाउने कसैलाई पनि इजरायलले चार वर्षअघि नै नेपाली कामदार लैजान बन्द गरिसक्यो भन्ने थाहा छैन। घले दम्पतीले यही अनभिज्ञताको फाइदा उठाएका हुन्। उनीहरूले अहिले पनि विभिन्न चर्चमा गएर इजरायल पठाइदिने प्रलोभन देखाउँदै पैसा उठाइरहेको पीडितहरूले बताए। उनीहरू पैसा उठाउन आउँदा एक साताभित्रै इजरायल उडाइदिने बाचा गर्छन्। महिनादिन बित्दा पनि केही नभएपछि बुझ्न जानेहरूलाई इजरायलबाट विभिन्न एजेन्टले पठाएको इमेल भन्दै नक्कली पत्र देखाएर झुक्याउने गर्छन्। एजेन्टको नाममा पठाएको भनिएका इमेलमा 'कामदार ल्याउने प्रयास भइरहेको' बेहोरा लेखिएको हुन्छ। त्यस्तै एउटा जाली इमेलमा 'कामदारको सबै कुरा काठमाडौंस्थित इजरायली दूतावासले जाँच गर्ने' उल्लेख छ। क्रिश्चियन धर्म मान्नेहरूलाई 'क्रिश्चियन वर्क भिसा' दिने भन्दै सम्पूर्ण प्रक्रिया निःशुल्क हुने पनि लेखिएको छ। 'इजरायलमा ठूलो संख्यामा अवैध नेपाली कामदार छन्, जसलाई इजरायल सरकारले वैध बनाउने प्रयास गरिरहेको छ,' एउटा इमेलमा लेखिएको छ। यही आधारमा पीडितहरूले दूतावास गएर सोधपुछ गर्दा सबै बेहोरा असत्य भएको फेला पर्यो। 'म इजरायल जान्नँ, मेरो पैसा फिर्ता देऊ भन्न गयो भने क्रिश्चियन धर्मको विश्वासका बारेमा अनेक प्रवचन दिन्छन्,' गोविन्दले भने, 'एउटा क्रिश्चियनले अर्को क्रिश्चियनलाई अविश्वास गर्न हुँदैन भनेर धर्मको नाममा ब्ल्याकमेल गर्छन्। त्यही भएर पनि धेरैजना उनीहरूविरुद्ध बोल्न सकिरहेका छैनन्।' गोरखकाली टायर कारखानामा जागिरे आफ्ना ससुरा इजरायल जानकै लागि जागिर छाडेर बसेको बताउँदै उनले भने, 'अहिले उहाँको बेहाल छ, तर धर्मका कारण बोल्न सक्नुभएको छैन।' घले दम्पतीले पीडितहरूलाई अल्झाउन भाषा परीक्षासमेत लिने गरेका छन्। पैसा उठाएकाहरूसँग 'अंग्रेजी' भाषाको लिखित परिक्षा लिँदै आएका छन्, जबकि इजरायलमा 'हिब्रु' भाषा बोलिन्छ। भाषा परीक्षा लगनखेलस्थित शालोम एजुकेसन कन्सल्टेन्सीको कार्यालयमा लिइने गरेको छ। यो कन्सल्टेन्सी पैसा उठाउने र परीक्षा लिने बेला मात्र खुला हुने गरेको पीडितहरू बताउँछन्। उषा घलेले नेपाली क्रिश्चियनलाई इजरायल पठाउन पैसा उठाइरहेको स्वीकार गरिन्। म्यानपावरमार्फत नभई व्यक्तिगत सम्पर्कका आधारमा इजरायल पठाउने गरेको उनको दाबी छ। 'मान्छे गइरहेका छन्। अझै पठाउँदै छौं। विश्वासी क्रिश्चियन भएकाले एक पैसा नलिई पठाएका हौं। दुःखीलाई सहयोग गर्न खोजेका हौं,' उषाले नागरिकसँग भनिन्, 'हामीले कसैलाई जागिर छाडेर आऊ भनेका छैनौं।' सबै प्रक्रिया निःशुल्क भए पनि कागजपत्र मिलाउन लाग्ने न्यूनतम रकम मात्र उठाउँदै आएको उनले बताइन्। 'जान नचाहनेको पैसा फिर्ता गर्छौं,' उनले भनिन्, 'हाम्रो नाममा अरूले पैसा खाए होलान्, हामीले कसैको खाएका छैनौं।' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ भने इजरायलले नेपाली कामदारको प्रवेशमा रोक लगाएकाले त्यहाँ पठाउनु नै गैरकानुनी भएको बताउँछन्। 'संस्थागत रूपमा होस् कि व्यक्तिगत रूपमा, इजरायलमा कामदार पठाउनु गैरकानुनी हो,' उनले नागरिकसँग भने, 'पठाउनेलाई तत्काल कारबाही गर्नुपर्छ।' सन् २००० देखि नै नेपालीहरू सुसारेका रूपमा इजरायल जान थालेका हुन्। सन् २००७ मा यसलाई थप व्यवस्थित गरिएको थियो। सरकारले कामदार इजरायल पठाउँदा प्रतिव्यक्ति २ लाख ७० हजार रुपैयाँ मात्र उठाउन पाउने प्रावधान बनायो। तर, म्यानपावर एजेन्सीहरूले ७ लाखदेखि १० लाख रुपैयाँसम्म उठाइरहेको थाहा पाएपछि इजरायलले नेपाली कामदार लैजान बन्द गरेको हो। यसलाई फेरि सुरु गर्नेबारे नेपाल र इजरायलबीच विभिन्न चरणमा बैठक भए पनि वैधानिक बाटो खुल्न सकेको छैन।