BICITRA KHABAR

BICITRA KHABAR

पशुपतिमा बस्ने ‘बाहुन’ भन्छन्- पानी भए पो नुहाउनु पुरोहित बाजेले त्याग्न थाले दिनहुँ नुहाउने चलन

ज्ञानेन्द्र खड्का
१३ माघ, काठमाडौं । मुटु काँप्ने माघको जाडोमा अरु मस्त निद्रामा सपना देखिरहेका बेला पुरोहितहरुको दैनिकी भने बिहान ३ बजेबाटै भिन्न ढंगले सुरु हुन्छ ।गाउँले परिवेशमा हुर्के बढेका पुरोहितहरु काठमाडौं पस्दा अहिलेकोजस्तो काकाकुल थिएन यो सहर । विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ परिसरमा बसेर यजमानी पेसा गर्दै आएका पुरोहितहरु काठमाडौंमा खानेपानीको हाहाकार भएको भन्दै दैनिक स्नान नगरी मुखमात्रै धोएर पूजापाठ गर्छन् ।गाउँघरमा अहिले पनि पण्डित्याईं गर्नेले दैनिक स्नान गर्नुपर्छ भन्ने मान्यता छ । तर, गाउँघरमा रहेको मान्यतालाई काठमाडौंको काकाकुल सहरले कहाँ पो टिक्न दिन्थ्यो र ? हुनत पुरोहितले जाडोका कारण ननुहाएका हुन् या पानीको अभावकै कारण मुखमात्रै धोएर यजमानी गरेका हुन्, बुझ्न गाह्रो छ । बुढापाकाले पुरोहितको नुहाइलाई चार प्रकारमा विभाजन गरेका छन् । काग नुहाइ, बाघ नुहाइ, नाग नुहाइ र साग नुहाइ ।

‘हाम्रा हजुरबाहरुले नेपाल जाँदा बागमतीमा नुहाएको सुनाउँथे, हामी अहिले बागमती अगाडि नाक थुनेर बस्छौं’, पशुपपति परिसरमा १० वर्ष पहिलेदेखि यजमान गर्दै आएका रामेछापका ४९ वर्षीय लक्ष्मण अधिकारीले भने, ‘कोठामा हप्तामा एक दिन पानी आउँछ, मुख धोएर जनैमा पानी अचाएपछि जिउ शुद्ध भयो, मन चोखो भयो भने सबै चोखो हुने ठानेर पशुपति पुग्छौं ।’दैनिक ननुहाउँदा अुशद्ध हुने कुरा बाबुबाजेबाट सुनेका पुरोहितहरु गाउँबाट काठमाडौं छिरेपछि १५ दिनसम्मको बासी पानीले मुख धुँदा पनि आफूलाई पवित्र ठान्छन् । ‘म काठमाडौं छिर्दासम्म वागमतीमा गएर नुहाउने गरेको थिएँ, बिहान ३ बजे वागमती पुगेर नुहाएपछि मात्र पशुपतितर्फ लाग्थें’ पशुपति परिसरमा २५ वर्षदेखि यजमानी गर्दै आएका रामेछापकै शेषनाथ आचार्यले भने, ‘हेर्दाहेर्दै वागमतीमा फोहोरको डंगुर थुप्रेपछि विहानको नित्य स्नान बन्द भयो, अहिले त कोठामा पानी भएन भने मन चोखो सम्झँदै पशुपति दौडन्छु ।’

विहान ४ बजे नै उठेर दैनिकी शुरु गर्ने पुरोहित बालकृष्ण सुवेदी पनि मन चोखो बनाएपछि भगवानले माफी दिने बताउँछन् । ‘कोठाको धारामा पानी झर्ने पत्तो हुन्न, भगवानको नाम जप्दै एक गिलास पानीले सारा शरीर पवित्र बनाइन्छ, अरु उपाय छैन’ सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीजस्तै धेरै पण्डितहरुले काठमाडौंको पानीको अभावलाई बुझ्दै काग नुहाइले काम चलाउने हो, बाघले र नागलेजस्तो नुहाउन त गाउँ र्फकनुपर्छ ।’काठमाडौंमा बसेर श्रीमद्भागवत पढ्नेदेखि रुद्री सत्यनारायण लगाउने पण्डितहरु सबैले मनले मात्रै शरीर पवित्र पार्ने गरेका छन् । काकाकुल काठमाडौंसँगै उनीहरुको दैनिकी फेरिएको छ । कुनै बेला दैनिक नुहाएर अघिल्लो दिन लगाएको बस्त्र नफेरे शरीर र आत्मा दुवै अपवित्र ठान्ने पण्डितले नै अहिले भन्न थालेका छन्, ‘आत्मा शुद्ध भएपछि पुग्छ, दिनहुँ नुहाइरहनुपर्दैन ।’

गाउँघरका पण्डितहरु अहिले पनि बिहान ३ बजे उठेर संस्कृतमा मन्त्रोच्चारण गर्दै स्नानका लागि धारातिर दर्गुछन् । काठमाडौंमा भने विहानै दिसा गरेपछि पखाल्ने पानी नपाउने पुरोहितहरुलेे दिनहुँ त्यसरी जिउ पखाल्ने गरेका छैनन् ।पशुपति क्षेत्र मात्र होइन, काठमाडौंका अन्य मन्दिरमा बस्ने पण्डितले पनि हप्तामा एक दिन स्नान गरेर काम चलाउँछन् । अर्थात, पण्डितहरु सबै काग नुहाइले काम चलाउँछन् 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More