माघ ०९– भारतको पश्चिम बंगालमा एउटा युवती माथि गाउँ पञ्चायतकै आदेशमा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालको राजारामपुर गाउँमा भएको घटनामा युवती माथि १२ जना गाउँकै युवकले बलात्कार गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ । आदिवासी समुदायकी युवती माथि गैरआदिवासी समुदायका युवकसंग प्रेम रहेको कारण सजाँय सुनाइएको बताइएको छ ।गाउँमा युवा युवती बिचको प्रेम सार्वजनिक भएपछि गाउँको पञ्चायतले दुवै जनालाई २५÷२५ हजार जरिवाना लगाएका थिए । युवकले जरिवाना दिएपनि युवतीको परिवारले खराब आर्थिक अवस्थाका कारण जरिवाना तिर्न सकेन । सो अनुरुप गाउँको प्रधान बलाई माडीले गाउँमा युवती माथि सामूहिक बलात्कार गर्न आदेश दिएको जनाइएको छ ।
युवतीको उमेर भने २० वर्ष रहेको र १२ जना बलात्कारीको उमेर युवतीको सानो भाई देखि पिता सम्मको उमेर समूहको रहेको जनाइएको छ । घटना भने सोमबार रातिको रहेको र युवतीको परिवारले सो घटनाको रिपोर्ट प्रहरीमा हिजो गराइएको जनाइएको छ । प्रहरीका अनुसार सबै जना १२ अभियुक्त र गाउँको प्रधानलाई गिरफ्तार गरिसकिएको र युवतीलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाइएको छ ।यस गाउँमा यस अघि पनि गैरआदिवासी युवकसंग प्रेम गरेको कारणले युवतीलाई गाउँमा निवस्त्र गराएर घुमाईएको थियो । सन् २०१० मा भएको सो घटनाले भारतमा निकै सनसनी मच्चिएको थियो । ( एजेन्सीको सहयोगमा )