समानुपातिक निर्वाचन प्रणालीले देशमा विचित्र विचित्रका सभासद् पैदा गरिरहेको छ । संविधान निर्माणजस्तो जटिल दायित्व निर्वाह गर्ने जिम्मेवारी बोकेका थुप्रै सभासद्मा संविधानको विज्ञता त छाडौँ आधारभूत ज्ञानसमेत पाइँदैन । त्यसमा पनि केही सभासद् त पराकाष्ठा नै छन् ।
देशको राष्ट्रप्रमुखको समेत नाम थाहा नभएका व्यक्ति सभासद् छन् भनेर पत्याउन गाह्रै पर्छ । तर, राप्रपा नेपालकी सभासद् श्रीकान्ती पासीलाई न देशको राष्ट्रप्रमुखको नाम थाहा छ, न सरकारप्रमुखको । संविधान लेख्न कस्सिएर पहिलोपटक कपिलवस्तुबाट काठमाडौं आएकी यी ‘पानवाली’लाई संविधान भनेको के हो भन्ने नै थाहा छैन । तर, आफू संविधान बनाउन आएकी हुँ भन्नेचाहिँ थाहा छ ।राप्रपा नेपालकै एक नेतामार्फत सम्पर्कमा आएकी पासीमा राजनीतिको सामान्य ज्ञान पनि नभएको पाइयो । अन्तर्वार्ताका लागि उनको मोबाइल नम्बरमा सुरुमा सम्पर्क गर्दा पासीले कुराको मेसो पाइनन् र सँगै रहेका एक पुरुषलाई फोन दिइन् । ती पुरुष पासीसँग एउटै फ्ल्याटमा बस्ने अर्की सभासद् धानु महराका पति रामआशिष महरा रहेछन् । उनले नै अन्तर्वार्ताको समय मिलाइदिए ।
तोकिएको समयमा मैजुबहालस्थित उनको फ्ल्याटमा फोटोपत्रकार सतिश पोखरेलसहित पुगियो । ढक्ढकाएको निकैबेरपछि मात्रै ढोका खुल्यो । ढोका खोल्ने उनै सभासद् पासी रहिछन् । उनले हामीलाई नियालेर हेरिन्, तर केही बोलिनन् । हामीले आफूहरू पत्रकार भएको र अन्तर्वार्ताका लागि आएको बताउँदा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् । कुरा नबुझेको महसुस गरेर हामीले भन्यौँ, ‘तपाईंको फोटो खिच्न आएको, पत्रिकामा छाप्न ।’तैपनि उनले भित्र जान आग्रह नगरेपछि हामी आफैँ अगाडि लाग्यौँ । सो फ्ल्याटमा चार कोठा रहेछन् । हामी पसेको कोठाभित्र एक थान बेड थियो भने एक छेउमा केही धार्नी आलु बिस्कुन लगाइएको थियो । गाउँबाट ल्याइएका चामल, तेललगायत अन्य सामग्री पनि थिए । पासीले उभिएर फोटोका लागि पोज दिइन्, पहिलोपटक हाँसिन् दाँत देखाएर ।सोही फ्ल्याटमा बस्ने राप्रपा नेपालकै अर्की सभासद् धानु महराको प्रवेश भयो । उनी अलि टाठी देखिन खोज्दै थिइन् । क्यामरा देखेपछि उनलाई के लाग्यो कुन्नि, सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धी जसरी क्यामराअघि हात जोड्दै आफ्नो परिचय दिन थालिन् । ‘नमस्कार, म धानु महरा । घर सिन्धुली । राप्रपा नेपालकी सभासद् । अहिले संविधान लेख्न काठमाडौं आएकी छु...।’ धानुको ‘सक्षिप्त परिचय कार्यक्रम’ सकियो । यतिन्जेलमा कोठाभित्र अरू एक–दुईजना थपिएका थिए ।
अब सुरु भयो पासीको अन्तर्वार्ता । पहिलो प्रश्न सोधियो, ‘तपाईं राजनीतिमा कसरी आउनुभयो ?’ उनको मुख खुलेन । ‘तपाईं संविधानसभामा के–के एजेन्डा लैजाँदै हुनुहुन्छ ?’ दोस्रो प्रश्नमा पनि पासी बोलिनन् । तपाईंलाई नेपालका राष्ट्रपतिको नाम थाहा छ ? बल्ल मुख खोलिन्, ‘थाहा छैन ।’ अनि प्रधानमन्त्री र मन्त्रीहरू कतिजनाको नाम थाहा छ ? उनले ‘कसैको पनि थाहा नभएको’ बताइन् ।पासीलाई आफ्नो पार्टीको नाम भने कण्ठ रहेछ । कुन पार्टीबाट सभासद् हुनुभएको हो भन्ने प्रश्नमा तत्कालै भनिन्, ‘राप्रपा नेपाल ।’ त्यसपछि फेरि ‘थाहा छैन’ शृंखला सुरु भयो ।