विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकबाट हेर्न कसलाई पो मन नलाग्ला ! कतिलाई थाहा नहोला, राजधानी नजिकैबाट पनि सगरमाथा देख्न सकिन्छ । राजधानी नजिकै नगरकोटबाट सगरमाथ स्पष्टरुपमा देख्न सकिने कमैलाई मात्र जानकारी छ अहिलेसम्म । मौसम सफा भएको समयमा, विशेष गरी मध्य दिनपछि सगरमाथा स्पष्टरुपमा देख्न सकिन्छ । नगरकोटको टावरबाट सगरमाथा हेर्नलाई सबैभन्दा उपयुक्त हुन्छ । नगरकोट सूर्योदय हेर्नका लागि विश्वकै उत्कृष्ट १० स्थानमध्ये पर्दछ ।
विदेशीमात्र नभई काठमाण्डौवासी पनि थकान मेट्न नगरकोट जाने गर्छन् । विदेशीहरु सूर्य उदाएको तथा हिमश्रंृखलाको मनोरम दृश्य हेर्नका लागि नगरकोट जाने गर्दछन् । नगरकोटमा पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएता पनि सगरमाथासमेत हेर्न सकिने जानकारी गराउन सकिए यहाँको पर्यटकीय आकर्षण अरु बढ्ने देखिन्छ । नापी विभागले आफ्नो प्रायोजनका लागी निमार्ण गरेको टावर नै यतिबेला दृश्वालोकन गर्ने टावर बनेको छ, यतिबेला नगरकोटमा ।
यो टावर पनि निकै पुरानो भएका कारण कुनै पनि भत्कने खतरा छ । यदि नगरकोटमा व्यवस्थित टावरको निर्माण गर्न सकेमा सगरमाथाको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा अझ वृद्धि हुने बताउँछन् नगरकोट-नालदुम पर्यटन विकास समितिका दिपक लामिछाने ।