BICITRA KHABAR

BICITRA KHABAR

आफ्नै स्टाइलमा धर्मकर्म

अचेलका युवायुवतीले धर्मकर्ममा आस्थै राख्दैनन् भन्ने होइनन्। जतिसुकै आधुनिक या 'रफ एन्ड टफ' भए पनि उनीहरूलाई धर्मप्रति चासो छ। त्यसैले त तन्नेरीहरू माघको ठन्डीमा साली नदीमा डुबुल्की लगाइरहेका हुन्छन्, दक्षिणकालीको मन्दिरमा लाइन बसिरहेका हुन्छन्। रक कन्सर्टमा झुम्नेहरू भजनकीर्तनमा पनि लीन भइरहेका हुन्छन्। उसो त मन्दिरलाई 'डेटिङ स्पट' बनाउनेहरू पनि कम छैनन्। स्वस्थानी व्रतको अवसर पारेर सजना बराल र अम्मर जीसीले धर्मकर्मका सम्बन्धमा तन्नेरीका नाडी छाम्ने प्रयत्न गरेका छन्।

आँखीभौँमा मुन्द्रा लगाएका उनी कालो जिन्स प्यान्ट र कालै ज्याकेटमा ठाँटिएका थिए। प्यान्टको एकापट्टिको खल्तीवरिपरि फलामको चेन झुन्डिएको थियो। कालो रङको कन्भर्स जुत्ता लगाएका उनी झट्ट हेर्दा कुनै रकस्टारभन्दा कम्ती देखिँदैनथे। 'साँझतिर भएको भए पर्पल हेज कि एटिक बारमा भेटिन्थेँ होला,' उनी भन्दै थिए, 'बिहान त्यो पनि माघ महिना भएकाले यसो पुण्य कमाइदिऊँ भनेर यतातिर आएको हुँ।' ब्रिलियन्ट कलेज, कक्षा १२ का सञ्जय भट्टराई शनिवार 'पुण्य' आर्जन गर्न साँखुस्थित साली नदीमा पुगेका थिए। महिलाहरूको भीड भएकाले उनलाई लाइन बसेर दर्शन गर्ने मुड भने चलेन । भन्दै थिए, 'दिदी र म आएका छौँ। दिदी दर्शन गर्न गएकी छे। मैले चाहिँ बाहिरैबाट ढोगिदिएँ।' सञ्जयले स्वस्थानी व्रतकथा थुप्रै पटक पढेको बताए। 'हजुरबाले नपढी सुत्नै दिनुहुन्न,' उनले भने, 'कोर्स बुकभन्दा त त्यही पढ्न रमाइलो लाग्छ मलाई पनि।' उनलाई त्यस कथामा भगवान् शिवको 'रोल' औधी मन पर्छ रे। भन्छन्, 'शिवजी नभइदिएको भए स्वस्थानीको कथा अपूरो हुन्थ्यो। उनले सतिदेवीको लाश बोकेर हिँडेको सिन लास्टै ट्र्याजिक छ।' शंकरदेव क्याम्पसकी देवका आचार्य व्रत बस्दिनन्। तर, धर्मकर्म र भगवान्मा बडो आस्था छ उनलाई। 'तेत्तीस कोटी देउता मान्छु,' सोमवार पशुपतिनाथ मन्दिरमा भेटिएकी उनले भनिन्, 'सबै भगवान् महान लाग्छन्। सबैको आदर गर्छु।' इलामबाट उच्च शिक्षाका लागि काठमाडौँ आएकी उनी विद्यार्थी भएकाले व्रत बस्न र जप–ध्यान गर्न नमिल्ने बताउँछिन्। 'चोखोनितो गर्न सकिन्नँ,' उनले भनिन्, 'मन्त्र–सन्त्र पनि मजाले जानेको छैन। रीत पुगेन भने उल्टै श्राप लाग्छ रे।' श्रापित हुनुभन्दा बिहेपछि रीतिरिवाज बुझेर व्रत बस्ने योजना छ उनको। 'रफ एन्ड टफ' आस्थावान् अहिलेका केटाकेटी दान, धर्म, पूजा, पाठ, व्रत आदिमा लगाव राख्दैनन् भन्ने आम बुझाइ छ। नातिनातिनाको ध्यान लवाइ–खुवाइ र मोजमस्तीमा मात्रै केन्द्रित हुन थालेकोमा हजुरबा पुस्ता चिन्तित पनि छ। तर, हजुरबा/हजुरआमाले धन्दा मान्नुपर्दैन। उनीहरूका नातिनातिना जतिसुकै 'रफ एन्ड टफ' देखिए पनि तिनको धार्मिक आस्था जीवितै छ। काठमाडौँ मोडल कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका सुरज श्रेष्ठ, भुवन पुन, सागर र सुरेन्द्र पौडेलले यस्तै राय व्यक्त गरे। अठार वर्षीय सुरज भन्दै थिए, 'किताबलाई त्यसको गाता हेरेर जज गर्नु हुँदैन भनेझैँ हामीलाई पनि हाम्रो गेट–अप हेरेर धर्म मान्दैनन् भन्नु हुँदैन। बाहिरबाट हेर्दा जतिसुकै हाउडे देखिए पनि मनमा त हामी धर्मात्मै छौँ नि।' विशेष वार वा अवसर पारेर व्रत बस्ने, मन्दिर जाने र पूजापाठ गर्ने युवायुवती धेरै छन्। अहिले स्वस्थानीको व्रत बस्ने 'सिजन' पनि भएकाले कतिपय तन्नेरी एकाबिहानै स्नान गरी पूजाआजामा लीन हुने गरेका छन्। साली नदीमा मात्रै यसपालि २३ पुरुष र २ सय ४८ महिलाले व्रत बसेका छन्। तीमध्ये एक तिहाइ व्रतालु २५ वर्षभन्दा कम उमेरका छन्। 'उनीहरू स्वेच्छाले व्रत बसेका हुन्,' साली नदी मेला व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले भने, 'नांगो खुट्टा हिँड्नुपर्ने, एकाबिहानै नुहाउनुपर्ने र निश्चित भोजन गर्नुपर्ने यस्तो कठोर व्रत बस्नु अहिलेका युवायुवतीका लागि सजिलो छैन।' त्यत्रो सास्ती बेहोर्नुपरे पनि साली नदीमा माघ महिनाभरि व्रत बस्न आउने युवा व्रतालुको संख्या बर्सेनि बढिरहेको उनले बताए। 'पोहोर सात/आठ जना केटामात्रै व्रत बसेका थिए,' उनले भने, 'यसपालि २३ जना छन्।' आफूले चाहेको कुरा पुग्ने र भगवान्को सम्मान पनि हुने भएकाले स्वस्थानीको व्रत बसेको भक्तपुर, गोठाटारकी २१ वर्षीया सविता थापाले बताइन्। बिहान सातै बजे साली नदी आइपुगेकी उनी हातमा पूजासामग्रीको टोकरी बोकेर थुम्कैपिच्छे फूल, अक्षता चढाउँदै थिइन्। 'पहिलो चोटि व्रत बसेकी हुँ,' उनले अनुभव सुनाइन्, 'कता, के गर्ने त्यति आइडिया छैन। ममीले जे–जे सिकाउनुहुन्छ, त्यही–त्यही गरिरा'छु।' अरू सबै ठीकठाक भए पनि त्यत्रा मान्छेसामु साली नदीमा पेटिकोट फेरेर डुबुल्की मार्न चाहिँ साह्रै लाज लागेको उनले बताइन्। पुरानो पारामा मानिन्न धर्म मन्दिर प्रवेशद्वार नजिकै फूलपाती बेच्न बसेका १८ वर्षीय सुमन सैँजु साथी नभेटिएर स्वस्थानीको व्रत बस्न नपाएकोमा खिन्न थिए। 'यसपालि व्रत बस्ने कत्रो धोको थियो,' भाग्योदय बहुमुखी क्याम्पस, साँखुका छात्र सुमनले दुखेसो पोखे, 'जोडी मिलाउनै सकिनँ, क्या बोर भयो।' स्वस्थानीको व्रत बस्दा अष्टधारा बोक्न र गुल्टिनका लागि दुई जना चाहिने भएकाले पुरुष व्रतालुले जोडी बनाउनैपर्ने नियम छ। साँखुवासीहरू स्वस्थानी माताप्रति गहिरो आस्था राख्छन्। यहाँका युवा वर्ग पनि स्वस्थानी माता भनेपछि आत्मैदेखि श्रद्धाभाव जागृत हुने बताउँछन्। 'अरू देवदेवीभन्दा स्वस्थानी मातामा बढी विश्वास लाग्छ,' सुमनले भने। अन्धभक्त भएर भगवान्को शरण पर्ने स्वभाव भने अहिलेका युवामा छैन। उनीहरू आफ्नै हिसाबले देउता पुज्न रुचाउँछन्। आधुनिक गोमाहरू बालुवाको शिवलिंग स्थापना गरेर धुप–अक्षता गर्दैमा शिवजी पाइने विश्वास गर्दैनन्। 'मागेको भन्दा पनि भाग्यमा जे छ त्यही पाइने हो,' सप्तरीको कञ्चनपुरस्थित सर्वोदय उच्च माध्यामिक विद्यालय, कक्षा ११ मा पढ्ने सुरेखा राउत भन्छिन्, 'पूजापाठ भनेको मनको शान्तिका लागि गरिने चिजमात्रै हुन्।' धर्म गर्नलाई मन सफा भए काफी हुने एसियन कलेज अफ म्यानेजमेन्ट, कक्षा १२ की सुस्मिता मगरले बताइन्। उनका अनुसार बिहान नुहाइधुवाइ गर्दैमा जिउ चोखिन्छ भन्ने हुँदैन। 'मुख्य कुरा मन स्वच्छ हुनुपर्छ, ' उनले भनिन्। विगत एक वर्षदेखि मंगलवार, गणेशजीको व्रत बस्दै आएकी उनी परम्परागत पारामा धर्म नगर्ने बताउँछिन्। 'साँझ सुत्ने बेलामा नुहाउँछु,' उनको तरिका बेग्लै छ, 'दिनभरि पानीबाहेक केही खाँदिनँ।' व्रत बसिसकेपछि 'वाइल्ड' पाराले बस्नुपर्ने उनको भनाइ छ। 'फलफूल खान हुने अन्न खान चाहिँ नहुने जस्ता नियम वाहियात लाग्छन् मलाई,' उनले भनिन्, 'व्रत भनेपछि केही पनि खानु हुँदैन।' 'सबै देउता उस्तै' दुई हप्ताअघि दक्षिणकालीको दर्शन गरेर आएका सञ्जु लामा, सोनिया केसी र विपना राउत आइतवार स्वयम्भूनाथमा माने घुमाउँदै थिए। सञ्जु बौद्धमार्गी हुन् भने सोनिया र विपना हिन्दू धर्म मान्छन्। तर, उनीहरू आ–आफ्ना धर्ममा मात्रै सीमित छैनन्। 'सबै देउता उस्तै हुन्,' सञ्जुले भनिन्, 'बुद्ध पनि विष्णुकै अवतार हुन्। त्यसैले म त सबै धर्म मान्छु, सबैमा विश्वास गर्छु।' भगवान्–भगवान्बीच भेदभाव गर्न नहुने उनीहरू तीन जनाकै राय थियो। बानेश्वर क्याम्पसमा अध्ययनरत २३ वर्षीय सञ्जय लामा आफू बुद्धिस्ट भए पनि बेला–बेला चर्च गइराख्ने बताउँछन्। उनका अनुसार भगवान् मान्ने नै भएपछि सबैको अस्तित्व स्वीकार गर्नुपर्छ। एउटा मान्ने, अर्कोलाई नमान्ने गर्योख भने सबै भगवान्को अपमान हुने उनको तर्क छ। अहिलेका अधिकांश केटाकेटी विविध धर्म र तिनका रीतिरिवाज मान्न हिचकिचाउँदैनन्। ग्याल्बो ल्होसारका बेला बौद्धमा बत्ती बाल्नदेखि तीजमा पशुपतिनाथको आरती उतार्नसम्म पछि पर्दैनन् उनीहरू। 'कुल' कीर्तन युवा वर्ग रक, पप, आधुनिक वा वेस्टर्न गीतका मात्रै पारखी छैनन्। उनीहरू भक्तिगानमा पनि उत्तिकै रुचि राख्छन्। अनुराधा पौडवाल, अनुप जलोटादेखि लोचन भट्टराई, फत्तेमान आदिका भजन कतिपय तन्नेरीलाई कण्ठै छन्। 'मा र बा बिहान–बेलुका संस्कार (च्यानल) हेर्नुहुन्छ,' एम्बिसन एकेडेमी, कक्षा १२ की निशा श्रेष्ठले भनिन्, 'उहाँहरूले गर्दा मलाई पनि भजनहरू याद भइसके। अनुप जलोटाको 'गोविन्द बोलो हरि गोपाल बोलो' बोलको भजन साह्रै मन पर्छ।' काठमाडौँ, गौशालाकी रोमिका राई प्रत्येक साँझ पशुपतिनाथमा हुने भजनकीर्तनमा सामेल हुन्छिन्। घरनजिकै मन्दिर भएकाले तीनचार जना साथी भेला पारेर उनी बेलुका आधा/एक घण्टाजति आराधनामा डुब्छिन्। 'भजन सुनेपछि दिनभरिको फ्रस्टे्रसन भुलिन्छ,' उनले भजनको प्रयोजन सुनाइन्, 'माइन्डै कुल हुन्छ मेरो त।' 'फिफ्टी–फिफ्टी' धर्मका सम्बन्धमा युवाले 'फिफ्टी–फिफ्टी' मान्यता अपनाएको देखिन्छ। अर्थात्, उनीहरू भगवान् छ भन्नेमा ५० प्रतिशतमात्रै विश्वास गर्छन्। लाइफ ओके च्यानलमा 'महादेव' सिरियल हेरेदेखि दुर्गामाताको भक्त भएकी १८ वर्षीया अस्मिता अर्याल भगवान् छन् भन्नेमा ५० प्रतिशत विश्वास गर्छिन्। 'भगवान् छ न त छन् होला,' उनी दोधारमै छिन्, 'तर, भएको भए एक न एकचोटि देखिनुपर्ने हो।' भगवान् माने पनि तिनमा पूरै आश्रित हुन नहुने कोटेश्वर बहुमुखी क्याम्पसकी सानु महर्जनले बताइन्। 'धर्म माने पनि कर्म गर्न छोड्नु हुँदैन,' उनले सुझाव दिइन्, 'भगवान् जे चाहन्छन्, त्यही हुन्छ भनेर बस्यो भने जिन्दगीभरि मागेर खानुपर्छ।' उनी आफू चाहिँ फुर्सद भएका बेलामात्रै भगवान्लाई सम्भि्कने र पूजाआजा गर्ने गर्छिन्। 'काम भएको बेला कामैलाई भगवान् ठान्छु,' उनले भनिन्, 'काममा डिस्टर्ब नहुने गरी भगवान्को पूजाआजा गर्छु।' आफूलाई हनुमानको फ्यान बताउने केएमसी कलेजका सुरज श्रेष्ठ जाँचको बेला भगवान्लाई अति सम्झन्छन्। 'पास भयो भने 'थ्याङ्क गड' भनिन्छ,' उनले भने, 'फेल भयो भने 'मूला भगवान् अरूलाई पास गराउने, मलाई चाहिँ नगराउने' भन्न आउँछ।' उनी पनि भगवान्लाई ५० प्रतिशत मान्नेमध्येमै पर्छन्। मन्दिर बहाना मन्दिरमा झुम्मिने सबै तन्नेरी देउताको ढोग गर्न आएका हुँदैनन्। कोही डेटिङका लागि आएका हुन्छन् भने कतिपय चाहिँ घुमफिर गर्न मन्दिर पुग्छन्। 'हाम्रा बाउ–आमा कस्ता छन् भने घुम्न जान्छु भन्यो भने गाली गर्छन्,' काठमाडौँ मोडल कलेजका सागर पौडेल भन्दै थिए, 'पशुपतितिर जानुपर्यो भन्यो भने पैसो–सैसो दिएर पठाउँछन्।' यसले गर्दा जहाँ गए पनि मन्दिर गएको बहाना बनाउनुपर्ने उनले बताए। सोमवार भने उनी आफ्ना साथीभाइसँग पशुपतिनाथतिरै रुमल्लिरहेका थिए। मायापिरती गाँस्नेहरूका लागि मन्दिरजत्तिको पवित्र स्थल कहाँ होला र? त्यसैले त मन्दिरलाई डेटिङ स्पट बनाउनेहरू बग्रेल्ती भेटिन्छन्। साथीभाइसँग गेट–टुगेदर गर्नलाई पनि मन्दिर उपयुक्त गन्तव्य हुने युनाइटेड एकेडेमी, कक्षा ११ की ऋतु गिरीले बताइन्। 'आज ममीले रुद्री लगाएका यहाँ आएकी हुँ,' सोमवार पशुपतिनाथको मुलद्वारमाथिको पूजास्थलमा हस्याङफस्याङ गरिरहेकी ऋतुले भनिन्, 'अरू बेला साथीहरूसँग यहाँ आउने गर्थें। पूजापाठ त त्यस्तै हो, मन्दिरतिर घुम्न चाहिँ साह्रै रमाइलो लाग्छ।' नास्तिक 'युथ' बालाजुका २० वर्षीय अञ्जन पोखरेल तीर्थव्रतमा कति पनि विश्वास गर्दैनन्। आफूलाई ‘पूरै नास्तिक’ भनेर चिनाउनेे उनी घरमा भने बुवाआमाको अगाडि पूजाको नाटक गर्छन्। ‘बाहुनको छोरो भएर धर्मकर्म नगर्ने भनेर उहाँहरू किचकिच गर्नुहुन्छ,’ उनले भने, ‘मलाई भने धर्मको नाउँमा ढुंगामाटो पुजेको पटक्कै मन पर्दैन।' नवलपरासीका सञ्जय पराजुली पनि आफूलाई नास्तिक भन्न रुचाउँछन्। जीवनमा एक चोटिमात्र व्रत बसेको अनुभव छ उनीसँग। साथीभाइको लहैलहैमा लागेर कृष्णाष्टमीमा उनी व्रत बसेका थिए। ‘त्यसपछि कहिल्यै वर्तसर्त बसिएन,’ उनले भने, ‘त्यतिखेर लहैलहैमा लागेर बसिएको थियो।' पूजाआजा र तीर्थव्रतमा विश्वास नगर्ने उनी थप्छन्, ‘लगनशील भएर पसिना बगाए भगवान्ले दिन नसक्ने सुख पाइन्छ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More