BICITRA KHABAR

BICITRA KHABAR

छोरीलाई दिनहुँ बलात्कार

डडेल्धुरा । पहिलोचोटि रजस्वला भएकै बेलादेखि आफ्नै बाबुद्वारा पटकपटक बलात्कृत एक बालिका आजित भएर प्रहरीको शरणमा पुगेकी छिन् ।जिल्लाको भित्री मधेस क्षेत्र जोगबुडा गाविस–१ कृष्णपुरकी १२ वर्षीया सविता कामी (नाम परिवर्तन) ले गत वैशाख पहिलो साता पहिलोपटक रजस्वला भएकै दिनदेखि आफ्नै बाबुबाट निरन्तर बलात्कृत भएको प्रहरीलाई जाहेरी दिएकी छिन् । दिनहुँ बलात्कारको सिकार हुनुपरेपछि आमा र आफन्तलाई सुनाउँदा समेत बलात्कारी बाबुले नछाडेपछि पीडित इलाका प्रहरी कार्यालय जोगबुडा पुगेकी हुन् ।

‘पीडित बालिकाको उजुरीपछि उनका बाबु अन्दाजी ४० वर्षीय भीम कामीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरा चलान गरिएको छ’, इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले भने– ‘अभियुक्त कामीले आफूमाथि लगाएको आरोप स्वीकार भने गरेका छैनन् ।’
गरिबीका कारण कापीकिताब किन्ने रकम जुटाउन नसक्दा कक्षा २ बाटै विद्यालय पढ्न छाडेकी सविताले पहिलोपटक रजस्वला भएका बेला छाउपडी गोठमै बाबुले बलात्कार गरेको र त्यस दिनदेखि दिनहुँ जबरजस्ती करणी गर्दै आएको बताइन् ।‘वैशाख महिनामै आमालाई सो कुरा भनें’, उनले भनिन्– ‘आमाले समेत त्यस्तो कुरा कसैलाई नभन्नू भन्दै चेतावनी दिइन् ।’ कसैलाई भनेमा हत्या गरिदिने त्रास देखाई बाबुले बलात्कार गर्दै आएको उनले सुनाइन् । ‘दिउँसो घरभन्दा यताउति जान दिँदैनथे’, उनले भनिन्– ‘भाइबैनी विद्यालय र आमा घाँस काट्न जंगल गएको मौका हेरेर दिउँसै बलात्कार गर्थे ।’

किशोरी स्वास्थ्य बारेमा गाउँमा सञ्चालित महिला सशक्तीकरण कक्षामा जानकारी पाएपछि गर्भ रहने डरले बाबुलाई यस्तो नगर्न आग्रह गरेको तर बच्चा भए पनि फरक नपर्ने भन्दै जबर्जस्ती करणी गर्न नछाडेको उनले बताइन् । ‘छरछिमेक र आफन्त महिलाहरूसँग पनि यस्तो भइरहेको बारेमा बताएँ’, उनले रुँदै भनिन्– ‘तर, मेरो कुरामा कसैले विश्वास गरेनन् ।’दिनहुँ आफ्नै बाबुबाट बलात्कृत हुनु परेपछि आजित भएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेको उनले बताइन् । प्रहरीलाई सबै कुरा भनेपछि उजुरी लेख्न लगाएर अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डँडेलधुराका अनुसार बालिकाको उपक्षेत्रीय अस्पताल डँडेलधुरामा स्वास्थ्य परीक्षण भइसकेको छ । अभियुक्तविरुद्ध जबर्जस्ती करणीअन्तर्गत जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया शुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More