फिल्म खेल्नै भनेर अभिनेत्री प्रियंका कार्की अमेरिका छोडेर नेपाल फर्किईन् । मिस टिनको उपाधी समेत जितेकी प्रियंका छोटो समयमा धेरै फिल्म खेल्ने र चर्चा पाउने मध्येकी एक अभिनेत्री हुन् ।
हालसम्म प्रियंका अभिनित ‘थ्री लभर्स’, ‘कलिउड’ र ‘भिजिलान्ते’ प्रदर्शनमा आएका छन् । यी फिल्मबाट प्रियंकाले चर्चा कमाइन् तर निर्माताले भने व्यापारिक सफलता कमाउन सकेनन् । हालसम्म प्रदर्शनमा आएका फिल्मबाट प्रियंका व्यवसायिक रुपमा असफल अभिनेत्रीमा पर्न आउँछिन् । तर उनको व्यस्तता भने अन्य अभिनेत्रीको तुलनामा बढी नै छ । लगातार काम पाईरहनुले पनि उनको क्षमताको मूल्याङ्कन गर्दछ । राम्रो अभिनय क्षमता भएर पनि असफल नायिकाको ट्याग भिरेपछि प्रियंकालाई व्यावसायिक सफल फिल्मको आवश्यकता देखिएको छ । पोष्ट प्रोडक्सनमा रहेका प्रियंका अभिनित पाँच फिल्म मध्ये केहीले प्रियंकालाई सफलताको स्वाद दिने विश्वास गरिएको छ । जसले प्रियंका माथि लाग्दै आएको असफल अभिनेत्रीको ट्याग हटाउनेछन् । प्रदर्शनको क्रममा रहेका ‘झोले’ र ‘नाइ नभन्नु ल २’ ले प्रियंकालाई रजतपटमा नयाँ उचाई दिने अड्कल गर्न सकिन्छ । फागनु ९ गते प्रदर्शन हुने ‘झोले’ को प्रोमोले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास लिइएको छ । डार्क कमेडी फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । त्यस्तै नेपाली नयाँ बर्ष चैत २८ मा प्रदर्शन हुने विकास आचार्यको ‘नाइ नभन्नु ल २’ फिल्मले पनि प्रियंकालाई खुसी दिने विश्वास छ । फिल्ममा प्रियंकाले महत्वपुर्ण भूमिका निभाएकी छिन् । प्रियंका अभिनित ‘सुन्तली’, ‘आवरण’ र ‘मेरो वेस्ट फ्रेन्ड’ नामक प्रदर्शनको क्रममा छन् । प्रचारमा आइनसकेको र प्रदर्शन मिति तय भैनसकेकाले यी फिल्मको व्यापार बारे कुनै अड्कल बाजी काटिएको छैन ।