१० माघ, काठमाडौं । संविधानसभामा सबैभन्दा कान्छी सभासद सरिताकुमारी यादवलाई अहिलेसम्म राजनीतिको अनुभव छैन । सिरहाको मनोहर गाविसमा २५ वर्ष पहिले जन्मेकी सभासद यादव मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) की साधारण सदस्य मात्र हुन् ।‘मेरो बिहे हुँदा म पढ्दै थिएँ, विवाह भएपछि बच्चा जन्मियो, त्यसपछि केही वर्ष पढ्नै पाइएन,’ यतिबेला तीन सन्तानकी आमा बनिसकेकी सभासद् यादवले अनलाइनखबरसँग भनिन्,– ‘पछि इण्डियामा र त्यसपछि सिरहामा पढें, मधेसी समुदायमा महिलाले पढ्ने वातावरणका लागि निकै संघर्ष गर्नुपर्छ ।’कनिष्ट सभासद यादव पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवकी पत्नी हुन् । गणतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका यावकी पत्नी भएकै कारण सरिताले समानुपातिकबाट सभासद बन्ने मौका पाएकी हुन् । संविधानसभामा गणतान्त्रिक फोरमले एक सीटमात्रै प्रतिनिधित्व गरेको छ ।
सभासद बने पनि सरितालाई राजनीतिको खासै अनुभव छैन । ‘राजनीतिक परिवारमा विवाह गरेर आएपछि राजनीतिबारे चासो राख्न थालेकी हुँ, सरिताले भनिन्,‘अहिले गणतान्त्रिक फोरमको साधारण सदस्य छु, अब सभासद बनेपछि भने राजनीतिमा सक्रिय भएर काम गर्ने विचारमा छु ।’सभासदको जिम्मेवारीसँगै कान्छी सभासद यादवलाई तीनजना छोराछोरीको रेखदेख गर्नुपर्ने दायित्व पनि छ । तीन सन्तान भर्खर १ कक्षा, यूकेजी र नर्सरीमा अध्ययनरत छन् । राजकिशोरका अनुसार सरिताले मानविकी शंकायबाट स्नातक उत्तीर्ण गरेकी छन् ।सरिताले दिएको जानकारी अनुसार राजकिशोरसँग विवाह गर्दा उनी १७ वर्षकी थिइन् । पूर्वप्रधानपञ्चका छोरा राजकिशोर सरितासँग विवाह बन्धनमा बाधिने बेला इञ्जिनियरिङको अध्ययन पूरा गरी भारतमा राम्रो आम्दानी युक्त जागिर खाँदै थिए ।उपेन्द्र यादवले फकाएर ०६४ सालमा सिरहा ६ को उम्मेद्वार बनाउँदा राजकिशोर यादव ३४ वर्षमात्रै पुगेका थिए । हाल सिरताको उमेर २५ छ भने राजकिशोर ४० वर्ष पुगेका छन् । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ चुनाव जितेर सभासद हुँदै मन्त्रीसमेत बनेका यादव यसपालि भने पार्टी फुटाएर चुनाव लड्दा सिरहा ६ मा चौथो स्थानमा खुम्चिन बाध्य भए ।
तीन कारणले पत्नीलाई सभासद बनाइयो : राजकिशोर
पार्टीको अध्यक्ष भएका नाताले आफ्नै पत्नीलाई सभासद किन बनाउनुभएको? भन्ने अनलाइनखबरको प्रश्नमा पूर्वमन्त्री यादवले पार्टीमा व्यापक छलफलपछि सरितालाई सभासद बनाइएको बताए । यसका पछाडि तीनवटा कारण रहेको उनले बताए ।पहिलो कारण : मधेसी नेताहरु संसदमा जानासाथ पार्टी फुटाउने र अर्कोतिर लाग्ने डर भएकाले विश्वासिलो मान्छेलाई पठाउँदा पार्टी जोगिन्छ ।दोस्रो कारण : चुनावमा एकसीट मात्रै प्राप्त भएकाले करिब ५० जना नेताहरु सभासदका आकांक्षी थिए । बरिष्ठलाई पठाउँदा एक अर्कामा विवाद हुने भएकाले अध्यक्षलाई जिम्मा लगाइयो र साधारण सदस्यलाई पठाउँदा विवाद भएन ।तेस्रो कारण : भर्खरै बन्न लागेको पार्टीमा अध्यक्षलाई आर्थिक समस्या पर्ने भएकाले श्रीमतीलाई सभासद बनाउँदा अध्यक्ष चल्न सक्छ र पार्टी हाँक्छ ।