BICITRA KHABAR

BICITRA KHABAR

केपीलाई ‘बिरामी’ भनेकोमा ‘हट्टाकट्टा’ वामदेवको आलोचना

१० माघ, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता केपी ओलीलाई बिरामी भन्दै आफू हट्टाकट्टा भएकाले अध्यक्षका लागि योग्य दाबी गरेकोमा केपी ओली पक्षका नेताले आपत्ति जनाएका छन् ।‘केपी ओली शारीरिकरुपमा विरामी हुनुहोला, तर उहाँ वैचारिकरुपमा त बिरामी हुनुहुन्न नि,’ एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटाले शुक्रबार अनलाइनखबरसँग भने, ‘अरुको शारीरिक कमजोरी कोट्याएर आफूलाई योग्य देखाउनु मानवीयता विपरीत कार्य हो ।’प्रेस चौतारीले विहीबार आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष गौतमले आफू हट्टाकट्टा भएकाले आगामी महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका थिए । आफू चौथो बरियतामा रहे पनि झलनाथ खनाल र माधव नेपाल पहिल्यै पार्टी प्रमुख भइसकेको र केपी ओली बिरामी भएकाले पार्टी चलाउन शारीरिकरुपमा स्वस्थ अध्यक्ष चाहिने बताएका थिए ।

‘वामदेवले यस्तो अपमानजनक कुरा नगर्दा राम्रो हुन्थ्यो, आफूलाई अब्बल देखाउन अर्काको शारीरिक अवस्थामाथि टिप्पणी गर्ने काम मानवीय हिसाबले पनि ठीक होइन’ ओली पक्षका जिल्ला नेता बास्कोटाले शुक्रबार अनलाइनखबरसँग भने, ‘वामदेव पार्टी अध्यक्ष होइन, संसदीय दलको नेताचाँहि बन्न सक्छन् ।’‘एमाले फुटाउने को हो ? माधव नेपाल सरकारका बेला ५० जनाको हस्ताक्षर संकलन गर्ने को हो ?’ बास्कोटाले गौतमप्रति आक्रोश व्यक्त गर्दै भने, ‘एमाओवादीसँग साँठगाँठ गर्ने को हो ?’मदन भण्डारीपछि एमालेलाई वैचारिकरुपमा जोगाएर यहाँसम्म ल्याउने भूमिका केपी ओलीको रहेको बास्कोटाको दाबी छ । ‘नेपालमा दुईवटा वाम धार छन्, एउटाको नेतृत्व प्रचण्डले गरेका छन्, अर्को धारको एकमात्र नेता केपी ओली हुन्, उनले भने, ‘एमालेलाई बचाएर अहिलेको अवस्थामा केपी ओलीले नै ल्याइपु¥याएका हुन्, वामदेव गौतमले होइन ।’

एमालेमा गौतमको पनि भूमिका रहेको भन्दै बास्कोटाले आगामी महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन सघाए गौतमलाई संसदीय दलको नेता बन्न ओली पक्षले सघाउने बताए । ‘महाधिवेशनमा ओलीलाई अध्यक्ष बन्न सहयोग गर्ने हो भने गौतमलाई संसदीय दलको नेता बनाउन ओली पक्ष तयार छ,’ उनले भने, ओली संसदीय दलको नेतामा लोभ गर्ने पक्षमा हुनुहन्न, गौतमलाई छाड्न तयार हुनुहुन्छ ।’तर, केपी पार्टी अध्यक्ष र वामदेव संसदीय दलको नेता हुने हो भने झलनाथ खनाल र माधव नेपालको स्थानचाहिँ के हुने ? यो प्रश्नमा ओली पक्षका खरा नेता मानिने बास्कोटाले भने, ‘पहिल्यै प्रधानमन्त्री र अध्यक्ष भइसकेकालाई किन चाहियो ? अब उनीहरुले राष्ट्रपति हुन योग्यता पुगेकाले राष्ट्रपति बने हुन्छ, योग्यता नपुगेकाले योग्य हुने प्रयास गर्ने ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More