माघ ९ – ३० वर्ष भन्दा लामो समयपछि बोलचाल गरेर दर्शकलाई अचम्मित पारेका बलिउड कलाकार अमिताभ बच्चन र रेखाको प्रसंग सेलाउन नपाउँदै फेरि रेखाको अर्को खबरले बलिउड बजारमा सनसनी मच्चाएको छ ।एक अर्कोको नजिक पनि नपर्ने यी दुई कलाकारको बोलचालले जसरी दर्शकलाई झड्का लागेको थियो त्यसैगरी रेखाले अमिताभ बच्चनकी पत्नी जया बच्चनको खुट्टा छोएको खबर अहिले बलिउडमा गरमागरम मसला बनेको छ ।भारतको मुम्बईमा जनवरी १४ तारिखमा भएको स्क्रिन अवार्ड कार्यक्रममा जया प्रवेश गर्दै गरेका बेला रेखाले झुकेर जयाको खुट्टा छोएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यही स्क्रिन अवार्ड कार्यक्रममा नै अमिताभ बच्चन र रेखाको सम्बन्धमा जमेको हिउँको ढिक्का पग्लिएको थियो । कार्यक्रममा रेखा र अभिताभ बच्चनबीच मात्र नभई जया बच्चनसँग पनि अभिवादन साटासाट भएको थियो । जया बच्चनले आत्मियताका साथ रेखाको हात समातेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका थिए ।एक समय प्रेमको बन्धनमा बाधिँएका रेखा र अमिताभको सम्बन्धमा चलचित्र सिलसिला पछि भने गाँठो परेको बताइन्छ । त्यस यता सार्वजनिक स्थल वा सार्वजनिक कार्यक्रममा पनि यी दुई टाढै बस्थे ।उनीहरुको सम्बन्धमा बढेको दुरीलाई मध्यनजर गर्दै आयोजकले पनि त्यहि अनुसारको व्यवस्था मिलाउँथे । सन् १९७६ मा चलचित्र दो अन्जानेमा अनुबन्धित भएका बेला रेखा र अभितामबीच प्रेम बसेको बताइन्छ ।
रेखाले छोइन् जयाको खुट्टा