९ माघ, काठमाडौं । संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भन्ने गरिएको भारतको पश्चिम बंगालमा गैरआदिवासी युवकसँग प्रेम गरेको भन्दै २० वर्षकी आदिवासी युवतीलाई पञ्चायतको आदेशमा १२ जनाले सामुहिक बलात्कार गरेका छन् ।प्रहरीका अनुसार वीरपुर जिल्लामा गाउँ पञ्चायतको आदेशमा यो युवतीको सामुहिक बलात्कार भएको हो । गैरआदिवासी युवकसँग प्रेम गरेर अपराध गरेको भन्दै पञ्चायतले युवतीलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।जिल्ला प्रहरी प्रमुख सी सुधाकरले भनेका छन्–‘राजारामपुर गाउँकी पीडित युवतीको छिमेकी गाउँका एक गैरआदिवासी युवकसँग सम्वन्ध थियो । उनीहरुले पछिल्लो ५ वर्षदेखि एकअर्कालाई भेट्दै आएका थिए ।’सोमबार केटा पक्षले विवाहको प्रस्ताव लिएर केटीको घरमा आएको गाउँलेले देखेपछि पञ्चायत बोलाइएको थियो । पञ्चायतको कारवाहीका क्रममा युवतीलाई हात बाँधेर राखिएको थियो ।गाउँका प्रधान बलाई माण्डीले दुबै पक्षलाई २५÷२५ हजार जरिवाजा गर्ने फैसला सुनाए । केटाको परिवारले जरिवाना तिरे पनि केटीका परिवारले पैसा नभएको भन्दै तिर्न नसक्ने बताए ।
त्यसपछि युवतीका टाढाको आफन्त समेत पर्ने प्रधान माण्डीले युवतीलाई बलात्कार गर्न आदेश दिएका थिए । प्रहरीमा दिइएको उजुरीका अनुसार माण्डीले भनेका थिए–‘उसको परिवारले जरिवाना दिएन, त्यसैले जाओ र युवतीसँग मजा गर ।’बलात्कारमा संलग्नहरु पीडित युवतीको बाबुका उमेरका समेत छन् । पीडित परिवारले बुधबार उजुरी दिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पीडित युवतीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।भारतीय सञ्चार माध्यमहरुका आनुसार वीरपुरमा पञ्चायतले यस्तो आदेश दिएको यो पहिलोपटक भने होइन । सन् २०१० मा पनि गैरआदिवासी युवकसँग प्रेम गरेका कारण एक युवतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने आदेश दिइएको थियो । पूरा घटनाको भिडियो बनाइएको थियो ।