९ माघ, लण्डन । समान अधिकारको मुद्दा उठाएर लामो समयदेखि आन्दोलन गर्दै आएका पूर्वगोरखा सैनिकहरुलाई एकतावद्ध गराउने गैर आवासीय नेपाली संघ (एनआरएन) बेलायतको प्रयासमा भूतपूर्व गोरखा सैनिक संघ(गेसो) ले सामेल हुन अस्वीकार गरेको छ । यद्यपि गेसोलाई मनाउने प्रयत्न जारी रहेको एनआरएनले जनाएको छ ।बेलायती सेनामा कार्यरत गोरखाहरुले बेलायती सैनिक समानकै सेवा, सुविधा उपलब्ध गराइनुपर्ने लगायतका मागसहित विगत दुई दशकभन्दा बढी समयदेखि आन्दोलन गर्दै आइरहेका छन् । गोरखा सैनिकका मागबारे अध्ययन गर्न वेलायतद्वारा गठित संसदीय समितिका प्रमुखलाई बुधबार लण्डनमा आफ्ना मागसम्बन्धी लिखित प्रतिवेदन बुझाएका गोर्खाहरुले अब छिट्टै आफनो पक्षमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् । संसदीय समितिका प्रमुख जेकी टोयललाई बेलायती संसद भवन क्षेत्रमा प्रतिवेदन बुझाउने क्रममा सयौंको संख्यामा पूर्व गोरखा र उनीहरुका परिवार भेला भएका थिए ।
यसक्रममा गैरआवासीय नेपाली संघ बेलायतलगायत अन्य दर्जर्नौ नेपाली संघ संस्थाका प्रतिनिधीहरु पनि गोरखा सैनिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन त्यहाँ पुगेका थिए । बेलायतमा सक्रिय नागरिक समाजका अगुवा, विद्यार्थी, पत्रकार लगायत अन्य पेशामा आवद्ध नेपालीले पनि गोरखा सैनिकको आन्दोलनमा उपस्थित भएर ऐक्यवद्धता जनाएका थिए ।गोर्खाहरुको आन्दोलनलाई थप प्रभावकारी बनाउन भन्दै पछिल्लो समय गठन गरिएको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट बुझाइएको प्रतिवेदनमा गोरखा सैनिकका मागहरुको न्यायपूर्ण छानविनका लागि आग्रह गरिएको छ ।यसअघि संसदीय समितिले आह्वान गरेबमोजिम गोरखा सैनिकमाथि भएको भनिएका ऐतिहासिक अन्यायका प्रमाण पनि प्रतिवेदनमा समावेश छन् । बेलायती संसदीय समितिले सो प्रतिवेदनसहित अन्य क्षेत्रबाट समेत संकलन गरिएका प्रमाणहरुको अध्ययन गरी अबको केही महिनाभित्रै संसदलाई एक प्रतिवेदन बुझाउनेछ ।आन्दोलनरत गोर्खाहरुले सो प्रतिवेदनले सिफारिस गरेबमोजिम गोरखा आन्दोलनमा उठेका मागहरुको वेलायती सरकारले सम्बोधन गर्ने आशा व्यक्त गरेका छन् ।
विभाजित गोरखा आन्दोलनलाई जोड्ने प्रयाससमान मागसहित आन्दोलनमा उत्रिएका भए पनि भुतपुर्व गोरखाहरु आफैमा भने विभाजित छन । झण्डै आधा दर्जन छुट्छुट्टै संगठनमा विभाजित गोरखाहरुको आन्दोलनलाई एकीकृत गरी सशक्त बनाउन भन्दै सत्याग्रह संयुक्त संघर्ष समिति बनाइएको आयोजकले बताएका छन् । तर, गोरखाहरुको सबैभन्दा पुरानो संगठन गेसो भने अझै पनि अन्य संगठन सम्मिलित संयुक्त संघर्ष समितिमा सामेल भएको छैन ।विभिन्न समुहमा विभाजित आन्दोलन निश्कर्षमा पुग्न नसक्ने भन्दै यस अघि एनआरएन युकेले पनि सबै गोरखा सैनिक संगठनहरुलाई एकै ठाउँमा भेला गरी एकताको प्रयास गरेको थियो । तर, त्यसक्रममा गेसो सहभागी भएन । तर, गेसोलाई पनि एकतावद्ध गर्ने प्रयास जारी रहेको र त्यसका लागि एनआरएन युकेले फेरि अन्तरक्रिया आयोजना गर्ने एनआरएन युकेका उपाध्यक्ष बालकृष्ण गुरुङले जानकारी दिए ।गोरखाहरुलाई बेलायती सैनिक सरहकै पेन्सन तथा सेवा सुविधा एवं १८ वर्ष नाघेका गोरखा सैनिकका छोराछोरीलाई पनि बेलायतमा आवासीय अधिकारको माग गोरखालीहरुले गर्दै आएका छन् । त्यसैगरी अनिवार्य अवकाशमा पठाइएका र पेन्सन उपलब्ध नगराइएका भुतपूर्व गोरखाहरुलाई क्षतिपुर्ति लगायतका मागमा सबै गोरखा सैनिकहरु सहमत छन् ।