BICITRA KHABAR

BICITRA KHABAR

बन्द घोषणा गरेर दुला पसे ३३ दलका कार्यकर्ता फिर्ता लिन चौतर्फी दवाब, जारी राख्ने माओवादी अडान

२५ कात्तिक, काठमाडौ । मंसिर ४ को चुनावलाई लक्षित गर्दै वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको बन्द फिर्ता लिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले चर्को दवाब दिएका छन् । एवदिने हड्ताल सकिए पनि वैद्य माओवादीले मंगलबारदेखि मंसिर ४ गते बेलुकासम्म यातायाता सेवा अवरुद्ध पार्ने घोषणा गरेको छ ।
३३ दलीय मोर्चाले दोस्रो संविधानसभाको चुनाव असफल पार्न भन्दै गरेको बन्दको पहिलो दिन देशभरि छिटफुट हिंसात्मक घटना भएका छन् । पहिलो दिनको बन्दको कार्यक्रम सकिए पनि थप बन्दका कार्यक्रम फिर्ता लिन वैद्य माओवादीमाथि चौतर्फी दवाब जारी रहेको छ ।कात्तिक २५ देखि मंसिर ५ सम्म घोषणा गरिएको यातायात बन्दको पहिलो दिन नै देशका विभिन्न स्थानमा बन्दविरुद्ध स्वतस्फूर्त प्रदर्शनसमेत भए । बन्दले देशलाई अर्बौं घाटा लगाएको भन्दै काठमाडौ, चितवन, सुर्खेतलगायताका प्रमुख सहरमा व्यापारी र सर्वसाधरणले बन्दको अवज्ञा गरेका थिए ।

आइतबार वैद्य माओवादीको केन्द्रीय कार्यालय वुद्धनगरमा पत्रकार सम्मेलन गरेर आमहड्ताल र बन्दका कार्यक्रम सार्वजनिक गरेलगत्तै देखि ३३ दलीय मोर्चाले विरोध सहनुपरेको छ ।चुनावविरुद्ध बन्द हड्तालको कडा कार्यक्रम ल्याउने वैद्य माओवादी नेतृत्वको ३३ मोर्चाको निर्णयले उद्योग बाणिज्य क्षेत्र तहस-नहस हुने भन्दै उद्योग वाणिज्य महासंघले यसअघि नै बन्दको अवज्ञा गर्ने चेतावनी दिइसकेको छ ।आइतबारको पत्रका सम्मेलनमा बन्द शान्तिपूर्ण हुने भन्दै वैद्य माओवादीका नेता देव गुरुङले हिंसात्मक अवस्था उत्पन्न हुन नदिन आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको थियो । तर, गुरुङले गर्नुभएको प्रतिवद्धताको उल्टो दृश्य सोमबारदेखि शुरु भएको ३३ दलीय मोर्चाको बन्दका क्रममा हिंसात्मक गतिविधि देखिएको थियो । बन्दकर्ताहरुले पहिलो दिन नै प्रेसका गाडी जलाउनेदेखि सर्वसाधारणको भीडमा बम फ्याक्नसम्म भ्याए ।

बन्दका क्रममा वैद्य माओवादीका कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा नागरिक दैनिक बोकेको गाडीमा तोडफोड गरे भने ताप्लेजुङमा एमाओवादीको चुनावी सभा सुनिरहेका सर्वसाधारणमाथि बमसमेत फ्याँके । बन्दकर्ताले दोलखामा यात्रुसहितको गाडीमा आगो झोसेका थिए । आगो फैलिनुभन्दा पहिले नै गाडीका चालक सहचालक र यात्रु निस्कन सकेकाले मानवीय क्षति हुन पाएन ।आइतबार पत्रकार सम्मेलनमा बन्द शान्तिपूर्ण हुने उद्घोष गरेको ३३ दलीय मोर्चाको व्यवहार त्यसको उल्टो भएपछि उसले देश तथा विदेशबाट समेत विरोधका चर्का स्वर सुन्नुपर्‍यो ।बन्द हिंस्रक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले वैद्य माओवादीको केन्द्रीय कार्यालयमै वैद्य माओवादीका सचिव देव गुरुङलाई भेटेर सर्वासाधारणको जीवन कष्टकर हुने बन्दलगायत कार्यक्रम नगर्न आग्रह गर्‍यो ।

आयोगका सचिव वेदप्रसाद भट्टराईसहितको टोलीले सचिव गुरुङलाई भेटेर संविधानसभाको निर्वाचन पछि पनि मुलुकलाई थप द्वन्द्वको अवस्थामा धकेलिने परिस्थिति सिर्जना हुन नदिन वार्ता, संवाद र सहमतिबाटै समस्या समाधान गर्न वैद्य माओवादीलाई आग्रह गरेको थियो ।कार्यकर्ताले यात्रुसहितको गाडीमा आगो झोसिरहँदा वैद्य माओवादीका सचिव गुरुङले भने आयोगसँगको भेटका क्रममा निर्वाचनमा सहभागी हुने नहुने कुरा लोकतान्त्रिक अधिकार भएकोले शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम सञ्चालन गरिरहेको बताउन भ्याउनुभएको थियो ।बन्दका कार्यक्रमले यातायात व्यवसायच चौपट हुने भन्दै सोमबारै राष्ट्रिय यातायात व्यवसायी महासंघको टोली पनि बन्दका कार्यक्रम फिर्ताका लागि दवाब दिन वैद्य माओवादीको केन्द्रीय कार्यालयमै पुगेको थियो ।

बन्द फिर्ता लिन आग्रह गर्दै पुगेको यातायात व्यसायी महासंघको टोलीलाई पनि वैद्य माओवादीले रित्तो हात फर्काइदियो । यातायात व्यवसायीले सर्वसाधरणलाई प्रत्यक्ष असर पर्ने बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गर्दा वैद्य माओवादीका महासचिव रामबहादुर थापाले चार दल र सरकारले चुनावी कार्यक्रम रोकेमा मात्र बन्द फिर्ता लिने बताउनुभएको छ ।‘बन्दबारे हामी केही लचिलो हुन तयार छौं, तर राष्ट्रघाती निर्वाचन कार्यक्रम रोक्न तपाईंहरुले पनि सरकार र चारदललाई दवाब दिनुपर्छ ।’ माओवादी महासचिव रामबहादुर थापाको भनाई उधृत गर्दै यातायात व्यवसायी महासंघका महासचिव डोलनाथ खनालले अनलाइनखबरसँग भन्नुभयो ।बन्दविरुद्ध नागरिक ३३ दलीय मोर्चाले चुनावको मुखैमा बन्द हड्ताल घोषणा गरेपछि सर्वसाधरणले स्तस्फूर्त त्यसको प्रतिकार पनि गर्न थालेका छन् । विशेष गरेर युवाहरु बन्द सधैंलाई बन्द गरौं भन्दै सडकमा निस्केका हुन् ।बन्दबाट वाक्क भएका युवाहरु काठमाडौंको माइतीघरमा स्वतःस्फूर्त भेला भएर शान्ति र्‍याली निकालेका थिए । एउटा हातमा राष्ट्रिय झण्डा र अर्को हातमा जलेको मैनवत्ती बोकेर सडकमा निस्केका उनीहरुको राष्ट्रप्रतिको चिन्ता साँच्चिकै मननयोग्य थियो ।

बन्दले देश र जनतालाई बर्बाद बनाएको भन्दै भेला भएका सय बढी युवाहरुको समूह र्‍यालीसहित माइतीघरबाट शान्तिबाटिकामा पुगेर टुंगिएको थियो ।देशको मध्यविन्दू चितवनमा समेत बन्दको प्रतिकार भएको छ । देशको पूर्व पश्चिमलाई जोड्ने चितवनको नारायणगढमा उद्योगी व्यापारी र सर्वसाधरणले आफ्नो व्यापार व्यवसाय खुलाएर बन्द अवज्ञा गरेका थिए ।मध्यपश्चिमको केन्द्र सुर्खेतमा पनि उद्योग बाणिज्य संघको अगुवाईमा बजार पसल र कलकारखाना खुलाइएको थियो । उद्योग बाणिज्य संघको आग्रहमा बजार पसल खुलेपछि त्यहाँ बन्द गराउँदै हिंडेका ३३ दलीय मोर्चाका कार्यकर्ता दुला पस्नुपर्‍यो ।

काठमाडौं क्षेत्र नं ४ मा एमाओवादीका उम्मेदवार नन्नदकिशोर पुनले पनि बन्द विरुद्ध मोटरसाइकल र्‍याली निकालेर मतदातालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्नुभएको थियो । उम्मेदवार पुनको नेतृत्वको मोटरसाइकल र्‍याली कपनबाट सुरु भएर चावहिलसहितको बजार क्षेत्र परिक्रमा गरेको थियो ।बन्द घोषणा गरेर दुला पसे ३३ दलका कार्यकर्ता आइतबार बन्द हड्तालका कार्यक्रम घोषणा गरेपछि वैद्य माओवादीसहितको ३३ दलीय मोर्चाका कार्यकर्ताले रातभरीमा दर्जनौ गाडीमा आगो सल्काउन भ्याए । गाडी गुड्न नदिन भन्दै उनीहरुले सडकमा रुख ढाल्नेदेखि नक्कली बम राख्न कामसमेत राती नै फत्ते गरेका थिए ।

रातभरी उपद्रो गरेपछि सोमबार विहानै उनीहरुले बन्दलाई कडा पार्न थप केही गाडीमा आगो झोसे । घाम उदाउनुभन्दा पहिले नै सबै काम फत्ते गरेर ३३ दलीय मोर्चाका कार्यकर्ता चमेरो बास बस्न रुख पसेजस्तो बेपत्ता भए ।राजधानी काठमाडौंमा समेत बन्दका क्रममा ३३ दलीय मोर्चाका कार्यकर्ता खोज्दा पनि भेटिने अवस्था थिएन । बन्द सफल पार्न वैद्य माओवादीका कार्यकर्ता त सडकमा निस्केको देख्न पाइएन भने अरु साना दलको त कुरै नगरांै । आइतबार रातभरि उपद्रो गरेपछि दुला पसेका ३३ दलीय मोर्चाका कार्यकर्ता सडकमा नआएपछि सोमबार उपत्यकामा ट्याम्पो, माइक्रोबस र केही ठूला बससमेत गुडेका थिए ।३३ दलीय मोर्चाले बन्दको अवज्ञा गरेमा त्यसबाट हुने जोखिम सम्वन्धित पक्षले मोल्नुपर्ने भनेपछि लामो रुटमा भने गाडी गुडेनन् । बन्द असफल पार्न भन्दै सरकारले साझा यातायातमा जनपथ र सशस्त्र प्रहरी राखेर यात्रु ओसारेको थियो ।

सरकारले साझा यातायातबाट यात्रु ओसारेपछि निजी क्षेत्रले पनि साना सवारी साधन गुडाएका थिए । उपत्यकामा एकाविहानै गाडीमा आगो झोसे पनि दिउँसो भने सुरक्षाकर्मीको बाक्लो उपस्थितीले ३३ दलका कार्यकर्ता हात बाँधेर बस्न बाध्य हुनुपरेको थियो ।बन्द सफल भएको गुरुङ दाबीयसैवीच ३३ दलीय मोर्चाका तर्फबाट सोमबार साँझ एक वित्रप्ति जारी गर्दै नेकपा माओवादीका सचिव देव गुरुङले बन्द शानदार रुपमा सफल भएको बताउनुभएको छ । ‘राजनीतिक दलहरुलाई निषेध गर्दै प्रायोजन गरिएको राष्ट्रघाती र जनघाती निर्वाचनलाई स्थगन गरी राष्ट्रिय सहमतिको मार्ग अवलम्बन गरियोस् भनी ३३ दलीय राजनीतिक मोर्चाबाट आयोजना गरिएको आजको देशव्यापि आम हड्तालका विरुद्ध सरकारले सम्पूर्ण राज्य शक्तिको दुरुपयोग गरेर दमन-धरपकड गरेतापनि आम हड्ताल सान्दार रुपमा सफल भएको छ ।’ गुरुङको वक्तव्यमा भनिएको छ,’यसबाट नेपाली जनतामा निषेधको राजनीतिप्रतिको विरोध र राष्ट्रिय सहमतिको पक्षमा अभिमत रहेको यथार्थता पनि अभिव्यक्त भएको छ । त्यसको लागि सम्पूर्ण यातायात मजदूर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, पत्रकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाज, अधिकारकर्मी लगायत सम्पूर्ण जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ माओवादी नेता गुरुङले मंसिर ४ गतेसम्मको यातायात हड्ताल पनि सफल हुने भन्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More