९ पुष, काठमाडौ । नेपाल ट्रस्टले दिवंगत राजावीरेन्द्र र उनका परिवारको थप जग्गा फेला पारेको छ । ट्रस्टले धादिङ र नुवाकोटमा जग्गा फेला पारेको छ । दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रिय हितमा प्रयोग गर्नका लागि स्थापना गरिएको नेपाल ट्रस्टले हालै त्यहाँ नयाँ जग्गा फेला पारेको हो । सम्पत्ति खोजबिन अभियान सञ्चालन गरिरहेको नेपाल ट्रस्टले धादिङमा १५ हजार १ सय १ रोपनी र नुवाकोटमा १ सय ७२ रोपनी जग्गा फेला पारेको हो । ट्रस्टको कार्यालयले दिएको जानकारीअनुसार धादिङको छत्रेदेउराली–८ को १५ हजार १ सय १ रोपनी ११ आना २ दाम १ पैसा जग्गा र नुवाकोटको थानसिंह गाविस–१ मा कित्ता नम्बर ७४७ देखि ८२० सम्मका जम्मा १ सय ७२ रोपनी २ आना ० दाम १ पैसा जग्गा पत्ता लागेको समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ । दुवै जिल्लाको सो जग्गा पत्ता लागेपछि सुरुमा नेपाल सरकारको नाममा दर्ता गरी नेपाल ट्रस्टको नाममा दर्ता गरिएको हो । यी जग्गा पत्ता लागेपछि मुलुकका १० जिल्लामा राजपरिवार र विभिन्न सदस्यको नाममा रहेको जग्गा नेपाल ट्रस्टको नाममा दर्ता भएको छ । यो जग्गाबाहेक नेपाल ट्रस्टमा १ सय ८१ कित्ता, ५ हजार ६४ रोपनी १३ आना १ पैसा १ दाम जग्गा दर्ता गरिसकिएको छ । ट्रस्टको नाममा दर्ता भएका जग्गामध्ये काठमाडौंको १ सय ८४ रोपनी र भक्तपुरको ३ सय रोपनी जग्गामा मोहियानी हकसमेत लागेको छ । काठमाडौं, भक्तपुर, नुवाकोट, चितवन, कास्की, मकवानपुर, सुर्खेत, धनकुटा, काभ्रेपलाञ्चोक गरी ९ जिल्लाको राजपरिवारको जग्गा यसअघि नै नेपाल ट्रस्टको नाममा दर्ता भइसकेको छ । नेपाल ट्रस्ट ऐन, २०६४ बमोजिम राजपरिवारको जग्गा ट्रस्टको नाममा राखिएको हो । मोहियानी हक लागेको जग्गा भने मोहियानीका नाममा अझै दर्ता गरिएको छैन । यसैगरी, राजपरिवारको सम्पत्ति संरक्षणअन्तर्गत ताहाचल, हेटौंडाको कान्ति ईश्वरी गृह, चितवन दियालो बंगलाअगाडिको जग्गा, गोकर्णमा पर्खाल निर्माण तथा मर्मत कार्य सुरु भएको छ । पोखरा रत्न मन्दिर र सल्लाघारीको जग्गामा पर्खाल निर्माणको ठेक्का स्वीकृतिको चरणमा रहेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । त्यस्तै, सम्पत्तिको उपयोगअन्तर्गत गोकर्णको ११ सय रोपनी तथा काभ्रे पाँचखालको जग्गाको उपयोग सम्बन्धमा विज्ञ परामर्शदाताबाट उपयोग अध्ययन भइरहेको ट्रस्टको कार्यालयले जनाएको छ । ट्रस्टको नाममा मौज्दात नेपाल ट्रस्टको नाममा गत कात्तिकसम्म २३ करोड ४८ लाख ३ हजार ७ सय ७२ रुपैयाँ मौज्दात रहेको छ । यसरी विगत ४ महिनामा २ करोड ९१ लाख ८५ हजार ३ सय २७ आम्दानी वृद्धि गरिएको छ भने विदेशी मुद्रातर्फ बेलायती स्टर्लिङ पाउन्ड ४५ हजार ४५ रहेको थियो । सेयर लगानी नेपाल ट्रस्टको नाममा नबिल बैंक लिमिटेड, होटल डेला अन्नपूर्ण र नेपाल औद्योगिक विकास निगममा गरी हालसम्म १ लाख ६६ हजार ५ सय ८२ कित्ता सेयर रहेको छ । नबिल बैंकमा १ लाख ४४ हजार ४ सय ७२, होटल डेला अन्नपूर्णमा १५ हजार ३ सय ६०, नेपाल औद्योगिक विकासमा ६ हजार ७ सय ५० गरी १ लाख ६६ हजार ५ सय ८२ कित्ता सेयर रहेको छ ।



