सँगैको फोटो ध्यान दिएर हेर्नुस्। क्यान्सरले फोक्सो कुहिएको यो डरलाग्दो फोटोले अब चुरोटका बट्टाको ७५ प्रतिशत भाग ढाक्नेछ। हेरौँ हेरौँ लाग्ने आकर्षक डिजाइनसहितका चुरोटका बट्टाहरु अब एकादेशका कथा हुनेछन्। अब छुँदै र किन्दै घिन लाग्ने फोटो भएका बट्टामा चुरोट हुनेछ।केहीलाई लाग्दो हो- के फरक पर्छ र, चुरोट खानेले आखिर खाइहाल्छ क्यारे।
गलत! केही फरक नपर्ने भए चुरोट, सूर्ति, खैनी साहुहरु उफ्रेर यस्तो व्यवस्था कार्यान्वयन रोक्न सर्वोच्चको शरणमा पर्ने थिएनन्। तर आज सर्वोच्च अदालतले उनीहरुलाई लोप्पा खुवाइदिएको छ। मृत्यु बेच्ने व्यापारीहरुको माफियाले हालेको मुद्दामा फैसला गर्दै न्यायाधीशहरु कल्याण श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र तर्कराज भट्टको विशेष इजलासले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को व्यवस्था अनुसार यस्ता फोटो अनिवार्य राख्नुपर्ने फैसला गरेको हो।