BICITRA KHABAR

BICITRA KHABAR

पासपोर्टबाट मान्छेको किनबेच

कमला प्रसाई,
 न्यु योर्क । दिनहुँ सत्र सय भन्दा बढी नेपालीहरु विदेश गईरहेका छन् । यसपटकको चुनावमा पच्पन्न लाख मतदाताको संख्या घटेको थियो । यसरी नै देशको स्थिति बिग्रदै गएको अवस्थामा एक दिन युवा वर्गको
संख्यामा कमी र बुढापाकाहरुको संख्या बढी देखिने अवस्था आउन सक्छ । यस्तो अवस्थामा देश कमजोर भएको देखेर विदेशीहरुले हाम्रो राष्ट्रिय संपदा माथि आँखा गाड्ने छन् । मलाई राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको दिव्य उपदेशको याद आयो: नेपाल दुई ढुङ्गा बिचको तरुल हो ।पासपोर्ट किनबेच गर्दा सरकारलाई केही अर्थमा फाइदा होला तर बेफाइदा पनि त्यो भन्दा बढी छ । आफ्नै देशमा शान्ति, सुव्यवस्था, रोजगारी, ज्यानधनको सुरक्षाको ग्यारेन्टी भएको भए युवा बर्गहरु किन विदेश पलायन हुन्थे र?

चुनाव भएको एक महिना भन्दा बढी भईसक्दा पनि संविधान सभा बोलाउन नसक्नु कसको गल्ति हो? जसले चुनावमा पहिलो स्थान हासिल गर्‍यो उसैले सरकार बनाउने हक राख्दछ । संसारको चलन अनुसार नेपालमा सरकारको नेतृत्व गर्न पहिलो हक लाग्ने व्यक्ति नेपाली काँग्रेसका अध्यक्ष शुशिल कोइराला हुनु पर्ने हो । यो कसैको पक्ष विपक्षको कुरा गरेको होईन, सत्य कुरा कहिलेकाँही तितो हुन्छ । सबै नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश बचाउनतिर लाग्नु पर्‍यो, होईन भने देश राजालाई सुम्पिनु पर्‍यो । राजाले त देश बेचेको इतिहास कही छैन । जब जब देशमा संकटकालिन स्थिति आँउछ तब तब राजाले देशलाई बचाएका मात्र छन् ।राजालाई राजगद्दी छोड्ने हक थिएन । राजाले राजगद्दी छोडेर ठुलो भुल गरे । यो फैसला जनताको हातमा सुम्पिनु पर्थ्यो जनमत सँग्रह गरेर । गिरिजा प्रसाद कोइरालाले नेपालको पहिलो राष्ट्रपति बन्ने लोभमा देशलाई बन्दगी राख्दै माओवादीसँग मिलेर हिन्दू धर्म र राजतन्त्र हटाएर ठुलो अपराध गरे । आखिर आफु बित्दा पनि हिन्दू धर्म अनुसार नै काजक्रिया गरेर विधि पुर्याउनु पर्‍यो ।

समग्रमा मैले भन्न खोजेको कुरा के हो भने देशमा नेताहरुले देश बनाउन तिर लाग्नु पर्‍यो । भएको संपदा संस्कृतिलाई बचाएर सबै जातजाती अट्ने सुन्दर नेपाल निर्माणमा ध्यान दिनु पर्‍यो । स्वार्थमा मात्र देशलाई वर्वाद गर्ने नियतिलाई अब जनताले सहने छैनन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More