नविन अर्याल
८ पुस, काठमाडौं । अब नक्कली लाइसेन्स बनाएर सवारी हाँक्ने दिन अबदेखि सकिने भएका छन् । सरकारले लाइसेन्सलाई व्यवस्थित बनाउन एक वर्षभित्रै स्मार्ट कार्ड बनाउने भएको छ । स्मार्ट कार्ड लागु भएपछि नक्कली लाइसेन्स बनाएर सवारी चलाउनेहरु स्वतः बेरोजगार हुनेछन् । राजधानी लगायत देशका विभिन्न भागमा नक्कली लाइसेन्स बनाउनेहरुको ठूलै गिरोह रहेको छ ।सरकारले स्मार्ट कार्ड लाइसेन्स छपाउन भारतको मद्रासस्थित एक कम्पनीलाई ठेक्का दिइसकेको छ । भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयले पहिलो चरणमा नमुनाको लागी १० हजार स्मार्ट लाइसेन्स छपाउन ठेक्का दिएको सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभयो । नमुना सफल हुनासाथ पुराना नयाँ सबै लाइसेन्स स्मार्ट बनाइने उहाँको भनाइ छ ।
स्मार्ट लाइसेन्स कार्ड लागु गर्न एशियाली विकास बैंकले सहयोग गरेको जानकारी दिँदै सचिव सिटौलाले ३ वर्षभित्रमा सबै लाइसेन्स स्मार्ट बनाई सक्ने ठोकुवा गर्नुभयो । स्मार्ट लाइसेन्स लागुभएपछि नक्कली लाइसेन्स बन्ने अवस्था रहँदैन’ उहाँले भन्नुभयो- ‘परीक्षा पास गरेर मात्र लाइसेन्स लिने सिष्टम बसेपछि दुर्घटनाहरु पनि स्वतः घट्नेछन् ।’स्मार्ट लाइसेन्स कार्डमा चालकका सबै विवरण तथा सूचनाहरु हेर्न मिल्ने छ । कार्ड अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउन लागिएको सचिव सिटौलाको स्पष्टोक्ति छ । पछिल्लो समय नक्कली लाइसेन्स बोकेर सवारी चलाउनेहरुको संख्या बढेपछि दुर्घटना समेत बढ्दै गइरहेको अवस्था छ ।राष्ट्रिय यातायातव्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार लाइसेन्स वितरणमा सावधानी नअपनाउँदा दुर्घटना बढेको हो । ‘गाडीको ‘ग’ समेत नजानेका झण्डै १ लाख मान्छेका हातमा लाइसेन्स रहेको छ’ उहाँले अनलाइनखबरसँग भन्नुभयो- ‘पछिल्लो समय लागु गरिएको ट्रायल परीक्षाले दक्ष चालकमात्र उत्तीर्ण हुने हुँदा सवारी दुर्घटनाहरु घट्न सक्छन् ।’
ब्लू बुक र नम्बर प्लेट पनि डिजिटल
सरकारले लाइसेन्स मात्र नभई ब्लू बुक र नम्बर प्लेट पनि स्मार्ट बनाउने भएको छ । लाइसेन्ससँगै १० हजारप्रति ब्लू बुक पनि नमूनाका लागि छपाउन पठाइसकिएको सचिव सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार १ वर्षभित्र ब्लू बुक नमूनाका रुपमा लागु गरिनेछ ।त्यसैगरी, इम्बोस्ड नम्बर (बाहिर उठेको नम्बर) प्लेट पनि एक वर्षभित्रमा नमुनाका रुपमा लागु गरिसक्ने लक्ष्य सरकारको रहेको छ । सरकारले छिट्टै स्मार्ट नम्बर प्लेट छपाउन टेन्डर दिने तयारीमा गरिरहेको सचिव सिटौलाले जानकारी दिनुभयो । स्मार्ट नम्बर प्लेटमा गाडीका सबै सूचनाहरु, सेक्युरिटीका विषयहरु, गाडीको अवस्था लगायतका फिचर रहनेछन् ।