BICITRA KHABAR

BICITRA KHABAR

जोजोलोपा होटल अगाडि गाईको जोश !

१५ पुस, मोरङ । यो दृश्य हो, मोरङको कानपोखरीस्थित पूर्वपश्चिम राजमार्गको । गोरुभन्दा गाईहरु पनि के कम भनेजस्तरी वीच सडकमा दुईवटा गाई आपसमा जुधिरहेका छन् । तीव्र गतिमा राजमार्गमा हुइकिने सवारी साधनको समेत कुनै मतलब नगरी दुई गौमाता जोजोलोपा होटलको बोर्ड अगाडि आपसमा झगडा गरिरहेका छन्, दलका नेताजस्तै ।

सवारी दुर्घटनामा मानिसको ज्यान गएको दुःखद खबर दिनहु सुन्न पाइन्छ । यस्तो दुर्घटनाको एउटा कारण सडकमा छाडिने चौपाया पनि हो । वयरवनस्थित पूर्व-पश्चिम राजमार्गको कानेपोखरी बजारमा देखिएको गाई जुधाइले पनि सडक दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।वीच सडकमा देखिएको गाई जुधाइले पूर्वबाट आएको यात्रुबाहक बसलाई सडक छिचोलेर पार गर्न सहज भएन । 

मोटरसाइकल चालक पनि केहीबेर सवारी साधन रोकेर चौपायाको झगडा हेर्न थाले । केहीबेरपछि हार्नेलाई जित्नेले लखेट्दै गर्दा दुबै गाई अनियन्त्रित थिए ।पैदलयात्री पनि तर्सिएर तर्कदै थिए भने राजमार्गमा गुडेका सवारीलाई नियन्त्रणमा ल्याउन चालकले निकै कसरत गर्नु परेको थियो ।कानेपोखरी आसपासको जंगलमा पर्ने सडकमा नियमित हेर्नेलाई यो नौलो दृश्य भने होइन । स्थानीयको बाध्यता पनि हो कि चरनको अभावमा चौपाया वनमा छाड्नुपर्ने । वनकै घास, दाउरामा निर्भर स्थानीयले पाल्तु चौपाया वनमा नछाडी हुदैन । बिहान छाडिएका चौपाया बेलुका आफैं घर आइपुग्छन् । गोठाला विनाका चौपायाको चहल-पहल सडकमै बढी हुने गरेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More