BICITRA KHABAR

BICITRA KHABAR

कतारमा ११२ कामदारका व्यवस्थापक फरार

दोहा (कतार), पुस ११ - दुई कम्पनीमा कार्यरत एक सय १२ जना कामदारका म्यानेजर (मुदिर) ले चार महिनासम्मको तलब नदिई फरार भएका छन् । मुदिर फरार भएपछि कामदारलाई खानाको समेत समस्या परेको छ ।कतारको बीजडम टे्रडि्रङ एन्ड कन्स्ट्रक्टिङ र अलमिस टे्रडिङ एन्ड कन्स्ट्रक्टिङ कम्पनीका मुख्य व्यवस्थापकहरू कामदारलाई तलब नदिई फरार भएका हुन् । उनीहरूबाट ठगिएका कामदारले तलब र स्वदेश फिर्ताको लागि नेपाली दूतावाससमक्ष अपिल गर्न पुगेका छन् ।बीजडम कम्पनीबाट ४० जना र अलमिसबाट ७२ जना कामदारले तलब नपाएका हुन् । यी दुवै कम्पनीका स्पोन्सर भने स्थानीय नागरिक हुन् । बीजडमले नेपाली कामदारलाई डिसेम्बर १२ तारिखसम्म काममा लगाएकोथियो । यो कम्पनीमार्फत राम्को र सी सिग्मा कम्पनीले ठेक्का पाएको निर्माणाधीन भवनमा काम गर्थे । 'हामीले डिसेम्बर १२ सम्म काम गरिरहेका थियौं ।

तलब पाउने आशामा बसिरहेका थियौं । भारतको केरालाका मुदिर चार महिनाको तलब नदिई भागेको थाहा भयो,' कतारको दोहास्थित नेपाली दूतावास आइपुगेका सल्यानका उपेन्द्र वलीले कान्तिपुरलाई भने, 'उसले केरालाका कामदारलाई पठाएर नेपाली र श्रींलकालीलाई मात्रै नपठाएको हो ।' उनीहरूले चार हजार रियालसम्म पाउन बाँकी छ । 'मेरो तीन महिना १२ दिनको तलब चार हजार रियाल छ,'मोरङ मधुमल्लाका खड्ग बुढाथोकीले भने, 'हामीले यति धेरै मेहनत गरी काम गर्दाको ज्याला समेत नपाउने स्थिति भएकाले एकदमै चिन्तित छौं ।'उनीहरूलाई दूतावासले स्थानीय श्रम विभागमा उजुरी हाल्न सिफारिस गरेको छ । पीडितले खानाको जोहो गर्न सकेका छैनन् । 'कोसँग माग्न जाने ?' चिन्तित अवस्थामा भेटिएका दोलखाका गन्जे थामीले भने । ती कामदार दिवान कन्सल्टेन्टस् (८४१) र सुप्रप सोलुसन म्यानपावर कम्पनीबाट त्यहाँ पुगेका हुन् । 'म्यानपावरलाई यताको अवस्थाको बारे जानकारी गराउँदा उल्टै मुदिर भाग्ने हुँदैन भन्ने जवाफ दिन्छ,' भर्खरै पुगेका सुरेन्द्र बुढाथोकीले भने । त्यस कम्पनीमा बिरामी परिरहेका दोलखाका लालसिंह थामीको उपचार समेत हुन सकिरहेको छैन ।उता अलमिसका मुदिर भने चार महिनादेखि फरार छन् । 'मुदिर फरार भए पनि हाम्रो सम्पर्क भने कपिल (स्पोन्सर)सँग छ ।' पीडित पर्वतका मेघबहादुर दमाईले भने, 'स्पोन्सरले केही गर्दैन ।' उनीहरूको पनि चार महिनाको तलब बाँकी छ । पीडित कामदार कतारको सनैयामा बस्दै आएका छन् । उनीहरू घर फिर्न सकेका छैनन् । उनीहरूले पनि स्वदेश फिर्ताको लागि सहयोग गर्न नेपाली दूतावाससमक्ष अनुरोध गरेका छन् ।कतारमा ११२ कामदारका व्यवस्थापक फरार

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More