सल्यान, पुस ११ - कामको खोजीमा यहाँ एक वृद्धा जिल्लाबाट बाहिरिएकी छन् । माझकाँडाकी ७२ वर्षीया बेलकुमारी पुन काठमाडौंको एक इँट्टाभट्टामा काम गर्न जान लागेकी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण दैनिक गुजारा चलाउन नसकेर इँट्टाभट्टामा काम खोज्न जान लागेको उनले बताइन् ।बस्ने बाससमेत नभएपछि उनी आफन्तसँग सोमबार घरबाट हिंडेकी हुन् । श्रीमान्को मृत्युपछि भएको घरजग्गा बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी उनी सबै सम्पत्ति सकिँदा केही वर्षदेखि छोरीसँग बस्दै आएकी थिइन् ।छोरीसँग बस्न केही अप्ठेरो भएको र अपांग छोरालाई पाल्न धौधौ भएकाले मजदुरी गरी आफ्नो र छोराको ज्यान पाल्न इँट्टाभट्टामा मजदुरी गर्न जान लागेको उनले सुनाइन् । 'गत वर्ष भारतको रुरु भन्ने ठाउँमा मजदुरी गर्न गएको थिएँ । त्यहाँबाट खाइपिई १४ हजार कमाएर ल्याएँ,' उनले भनिन्, 'त्योभन्दा पहिले पनि धेरै ठाउँमा मजदुरी गर्न गइसकेकी छु ।'घरमा कमाइ गर्ने कोही नभएकाले आफैं जानुपरेको उनी बताउँछिन् । अनुहारको छाला चाउरी परेकी, आँखा भित्र पसेकी र दाँतसमेत झरेकी उनले भनिन्, 'अझै अरूसँगै काम गर्न सक्छु । कति छोरीको भरमा पर्नु । भारतको रुरुसम्म पुगेर त काम गरेर ज्यान पालें भने काठमाडौंको इँट्टाभट्टामा के दुःख होला ।'