काँकडभिट्टा , पुस १३ - झापाको टाघनडुवाकी २० वर्षीया आमाले ६ किलो ग्राम तौलको शिशु शनिवार जन्माएकी छन् ।टाघनडुवा २ कि मीना कोचले झापाको सुरुङ्गास्थित मेरीगोल्ड अस्पतालमा ६ किलो तौलको शिशु जन्माएकी हुन् । मीनाको यो तेश्रो सन्तान हो । अस्पतालका चिकित्सक डा. आरएन संग्रौला र डा. प्ररवेज कैसरले करिव एक घण्टा लामो शल्यक्रियापछि शिशु निकालेका थिए । सामान्यतया २ दशमलव ५ देखि ३ दशमलव ५ किलो तौलका शिशुलाई स्वस्थ मानिन्छ ।चिकित्सकका अनुसार शिशुको टाउकोको आकार असामान्य छ । हाइड्रोकेफालस (टाउकोमा पानी जम्ने) रोगका कारण आकार असामान्य भएको चिकित्सकको अनुमान छ । जसका कारण केही दिनका लागि आमा वच्चा दुवैलाई विशेष निगरानीमा राखिने छ । आमा र शिशु दुबैको अवस्था हाल सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।