१५ पुस, काठमाडौं । दूरसञ्चार सेवाप्रदायकले मनपरी पल्स अवधि निर्धारण गर्दा उपभोक्ता ठगिएको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले ५ सेकेन्डको पल्स बनाउने तयारी गरेको छ । सेवा प्रदायकहरुले आफूखुसी १५ सेकेन्डदेखि १ मिनेटसम्मको अवधिलाई १ पल्स मान्दै बिलिङ गर्ने क्रम नरोकिएपछि प्राधिकरण तातेको हो ।पल्स अवधि जति थोरै भयो, उपभोक्तालाई उत्ति बढी फाइदा हुन्छ । ५ सेकेन्डभित्र कुरा सकिदा प्रतिमिनेट शुल्कका आधारमा १२ भागले महसुल काटिन्छ । जस्तोः प्रतिमिनेट शुल्क ३ रुपैया छ भने ५ सेकेन्डभित्रै कुराकानी सकियो भने उपभोक्ताले २५ पैसा मात्र तिर्नुपर्छ । यसरी प्रत्येक पल्समा २५ पैसा थपिदै जान्छ । अहिले उपभोक्ताले २ सेकेन्ड मात्रै कुरा गरेर फोन काट्दा पनि सेवाप्रदायकअनुसार १५ देखि १ मिनेटसम्मको महसुल तिरिरहेको कारोबार दैनिकमा खबर छ ।‘धेरै सेकेन्ड पल्स रेट हुदा ग्राहकले अनावश्यक धेरै पैसा तिरिरहेका छन्,’ प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपाने भन्छन्, ‘यही मर्कालाई ध्यानमा राखेर हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो । छिट्टै यसबारे टुंगो लाग्छ ।’ठूला भन्दा साना कम्पनीले पल्स अवधि धेरै राखेका छन् । युनाइटेड टेलिकमले ६० सेकेन्डलाई एक पल्स कायम गरेको छ भने स्मार्ट टेलिफोनले ३० सेकेन्डको एक पल्स राखेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले भने २० सेकेन्डको एक पल्स राखेको छ ।