छायाँकन सुरु भएको अढाई बर्षपछि नेपाली चलचित्र ‘निशानी’ को निर्माण पुरा भएको छ । धरानका चलचित्रकर्मी प्रेम सुब्बाको प्रस्तुती रहेको ‘निशानी’ भारतको तर्फबाट पाकिस्तान विरुद्ध लड्दा कार्गिलको खालुवारमा ज्यान गुमाएका १४ गोर्खाली सेनाको कथामा बनेको चलचित्र हो । सिक्किमबाट छायाँकन सुरु भएको ‘निशानी’मा सिक्किम सरकारको अनुमतिमा वास्तविक हतियारहरु प्रयोग गरिएको छ ।सिनाई कमर्सियल प्रालिको व्यानरमा निर्मित चलचित्रमा ईण्डियन आईडल प्रसान्त तामाङ, प्रेम सुब्बा, विष्णु चेम्जोङ, किशोर सम्वाहाङफेको साथमा सिक्किममा रहेका गोर्खाली सेनाले समेत अभिनय गरेका छन् ।७५ लाख लगानीमा बनेको ‘निशानी’को निर्देशन बिनोद श्रेङले गरेका छन् । चलचित्रको सार्वजनिक प्रदर्शन चैत्रमा गर्ने तयारी गरिएको छ । तर माघ महिनाबाट भने विभिन्न स्थानमा च्यारेटी गर्ने योजना निर्माणपक्षको छ । माघ ३ मा काठमाण्डौ, माघ १४ मा उर्लाबारी र माघ १६ गते धरानमा च्यारेटी शो हुने छ । चलचित्रको ८० प्रतिशत छायाँकन नेपाल र २० प्रतिशत सिक्किममा गरिएको छ ।चलचित्रमा प्रेमसहित सरोज भण्डारी, किशोर दुङ्माली र निर्देशक श्रेङको लगानी छ ।