BICITRA KHABAR

BICITRA KHABAR

वालविवाहको पीडा यसरी भोग्दैछिन् हजुरआमा

लीलाराज भट्टराई
ताप्लेजुङ्गको फुङ्गलिङकी रमला शर्मा अहिले ७० वर्षकी हुनुभयो । उहाँलाई आफ्ना पतिको अनुहार पनि राम्ररी याद छैन । होस् पनि कसरी ? विहे गर्दा उहाँको उमेर ९ वर्षको मात्र थियो । विहे भएको हो या कुनै खेल खेलेको ? त्यतिवेला ती बालिकालाई पत्तै भएन। विहे गरेर पतिको घर लगेपछि केही दिन राखेर उहाँलाईमाइतै ल्याइदिए । उहाँले पतिको मुखसम्म राम्ररी हेर्न पाउनुभएन । विहे के हो भन्ने जान्नै नपाई उहाँका पतिको निधन भयो ।पतिको निधन भएपछि ११ वर्षको कलिलो उमेरमा कपाल मुण्डन गरेर सेतो वस्त्रमा लगाएर माइती जाँदा धर्धरी रोएको सम्झना ताजै छ । 
‘एकल महिलाले सेतो वस्त्रमा जीवन काट्नुपर्छ भन्थे, त्यसै गरियो’, रमलाले भन्नुभयो, ‘११ वर्षदेखि सेतो कपडा लगाएर एक्लो जीवन बिताउनुपर्दा कति कष्ट भोगें, त्यो त मलाई मात्र थाहा छ ।’ रमलाका पति वितेका बेला नेपालवाट सतिप्रथा उन्मूलन भएको ३२ वर्ष पुग्दैथियो । पति मर्दा रमलाले ज्यूँदै जल्नु त परेन तर पितृसत्तात्मक समाजबाट जीवनभर प्रताडित भने बन्नुपर्‍यो । बालककालमै पतिको मृत्यु भएपछि एकल महिला बनेकालाई समाजले अहिले पनि विभिन्न लान्छना लगाउने क्रम रोकिएको छैन । एकल महिलाहरुको जीवनलाई अहिले पनि नर्कसँग तुलना गरिन्छ ।
झापाको एउटा विद्यालयकी शिक्षिका विनिता बस्नेत २६ वर्षकी मात्र हुनुहुन्छ । उहाँका जेठो छोरा आठ वर्षका छन् । कान्छो छोरो पेटमै छँदा पतिको निधन भएको थियो । त्यो बेला विनिता १९ वर्षकी मात्र हुनुभएको थियो । पतिको निधनपछि सुन्दर सपना सजिएको उहाँको जीवन उजाड बन्यो । समाजले पति टोकुई भन्दा उहाँको पक्षमा बोलिदिने कोहि भएन । कसैको शुभकार्यमा जानै नहुने, समाजले आफूलाई हेर्ने नजर नै अर्कै भएपछि उहाँले कम्ता हण्डर भोग्नुपरेको छैन ।’पढेलेखेकी छु, आत्मनिर्भर पनि छु, तर सामाजिक सुरक्षा छैन, पाइला पाइलामा समस्यासँग जुध्नु पर्छ । सामाजिक सुरक्षाकालागि पनि एकल महिलाको विवाह जरुरी रहेछ ।’ बस्नेतले भन्नुभयो ।०६८ को राष्ट्रिय जनगणनाअनुसार अहिले पनि १० वर्षभन्दा कम उमेरमा विधवा हुनेको संख्या दुईहजार भन्दा बढी छ । पतिको मृत्यू भएर एकल बनेका सबै उमेर समूहका महिलाहरुको संख्या ६ लाखको हाराहारी छ । तीमध्ये पनि २० देखि ४५ वर्ष उमेर समूहका एकल महिलाको संख्या सबैभन्दा बढी छ । विशेषगरी हिन्दू ब्राम्हण समूदायमा एकल विधवा विवाहलाई अझैपनि स्वीकारिएको छैन । धर्म संस्कृतिको आडमा विधवा विवाहलाई गलत भनिएपनि कुनैपनि धर्मले एकल महिलाले पुर्नविवाह गर्नुहुँदैन भनेको छैन । ‘हिन्दु धर्म र संस्कृतिले महिलालाई सम्मान गर्नुपर्छ, सुरक्षा दिनुपर्छ भनेको छ, तर पूर्नविवाह गर्नुहुदंैन भनेकै छैन ।’ संस्कृतिविद डा. सोमनाथ खतिवडाले भन्नुभयो ।

पूर्वेली सभ्यतामा मात्र होइन, पाश्चत्य सभ्यतामा पनि वेदलाई वैज्ञानिक शास्त्रका रुपमा स्वीकार्न थालिएको छ । ऋगवेदमा भनिएको छ -उदीध्र्व नार्यभि जीवलोकं गता सुमेतमुपशेष एहि । हस्ताग्रामा दधिषोस्तवेदं पत्युर्जनित्वमाभिसंवभूव ।। -ऋगवेद १०-१८-८) अर्थात हे नारी यो अब तिमी यो मृत पतिसँग नबस अब यहाँबाट उठेर अरु कुनै पुरुषको पाणीग्रहण अर्थात तिमी अरु कुनै पुरुषसँग विवाह गर । पद्यपुराण एकल विधवा विवाहकालागि बढी उदार मान्ािन्छ । पद्यपुराणमा कुनै विवाहित महिलाको पतिको शीघ्र मृत्यू भएमा ती कन्याले विवाह गर्न सक्छिन, दुईपटक मात्र होइन धेरैपटक पनि विवाह गर्न सक्ने उल्लेख छ । त्यसो त महाभारतमा अर्जुनन स्वयम्ले एकल विधवा विवाह गरेको कथा उल्लेख छ । नागराजकी छोरीको ऐरावतका साथमा विवाह भएको थियो । ऐरावतलाई सुकर्णले मारेपछि नागराजले छोरीको विवाह अर्जुनसँग गरिदिए । प्रत्येक बयस्क व्यक्तिको विवाह गर्ने या अविवाहित रहने निर्णय गर्न पाउने अधिकार हुन्छ । कानुनले त एकलमहिलाको विवाहलाई रोक्ने कुरै भएन । नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई भन्नुहुन्छ, ‘उमेर पुगेका प्रत्येक व्यक्तिले हाडनातामा बाहेक विवाह गर्न सक्छन ।’

पत्नीको मृत्यु भए घाटदेखि नै अर्की भित्र्याउने सल्लाह सुरु हुन्छ, तर पतिको मृत्यू भए महिलाले पहाड जस्तै ठिंग उभिएको समस्यासँग जीवनभर जुध्नुपर्छ । एकल महिला भएकै कारण हिंसा भोग्नुपरेका धेरै घटना सार्वजनिक भएका महिला मानवअधिकार रक्षक संजाल मोरङकी अध्यक्ष डा. शिवमाया तुम्वाहाम्फे बताउनुहुन्छ । ‘बाल र यूवा एकल महिलाले चाहेमा पूर्नविवाह गर्न पाउनु उनीहरुको मानवअधिकार हो’, डा. तुम्वाहाम्फेको भनाई छ, ‘हाम्रो सामाजिक नियम र परम्परा नै विवाह गर्नुपर्छ भन्ने छ, पति र परिवारसँग रहँदा अलि बढी सुरक्षित हुने अवस्था भएकाले बाल र युवा एकल महिलाको पूर्नविवाह आवश्यक छ । ‘

एकल महिलाको पुर्नविवाह हुँदै
कतिपय स्थानमा एकल महिलाहरुलाई परिवारले नै विवाह गरिदिएर उदाहरणीय कामपनि भएको छ । ताप्लेजुङ्ग ढुंगेसाँघुका रामप्रसाद पौडेलले भाइबुहारीलाई आफ्नै छोरीलाईजस्तै घरबाट अन्माएर पठाए । विहे भएको अढाई वर्ष नवित्दै भाई लक्ष्मणको माओवादीले हत्या गरेपछि बुहारीको उजाड जीवनमा पौडेलले खुसी भरिदिनुभएको हो । लाउँलाउँ खाउँखाउँको उमेरमा पति गुमाएर पीडामा परेकी बुहारीले जीवनभर प्रताडित बन्न नदिन बुहारीको विहे गरिदिएको पौडेलले बताउनुभयो । त्यसो त एकल महिलाको पूर्नविवाह मात्रै समाधान भने होइन । एकल महिला समूहकी राष्ट्रिय अध्यक्ष लिली थापा भन्नुहुन्छ, ‘विशेषगरी युवा एकल महिलाले पूनर्विवाह गरे हुन्छ भन्ने मान्यता हामी सबैको छ, तर आत्मनिर्भर नभई गरेको पूनर्विवाहले समस्याको दीगो समाधान गर्दैन ।’

राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालका करिव ६ लाख एकल महिलामध्ये ११ प्रतिशतमात्र साक्षर छन । थापा भन्नुहुन्छ, ‘निरक्षर भन्नु नै परनिर्भर हुनु हो, एकल महिलाकालागि परनिर्भरता होइन, आत्मनिर्भरता जरुरी छ । एकल महिलाको पूनर्विवाहले त्यति बेलामात्र सार्थकता पाउँछ जतिबेला विधवालाई हेर्ने महिला दृष्टिकोण बद्लिन्छ ।’नेपाली समाजमा ७० वर्ष अघि नै बालविधवा विवाह किन नहुने ? शीर्षकको पर्चा प्रकाशित भएको पाइन्छ । सन् २००० तिर वनारसमा केही नेपाली युवाले पर्चा प्रकाशित गरेर बालविधवा विवाहको पक्षमा आवाज उठाएका थिए । यसअघि नै पाँच वर्षको उमेरमा विवाह भएर सात वर्षको हुँदा एकल बनेकी भोजपुरकी नेत्री योगमाया न्यौपानेले पूर्नविवाह गरेर विद्रोह गर्नुभएको थियो ।त्यसपछि पनि विभिन्न अभियानहरु चलिनै रहेको छन् । तर यी अभियान सशक्तरुपमा अघि नबढ्दा रमला जस्ता सयौँ वालविधवाले विहे के हो ? भन्ने नजान्दै देखि पीडा खेपेर जीवन गुजार्नुपरेको पाइन्छ । त्यसैले एकल महिलालाई आर्थिक र सामाजिकरुपले सुरक्षित भविष्यको लागि आत्मनिर्भर बनाउन जरुरी छ । आत्मनिर्भर बनाएर बुहारीलाई पनि छोरीलाई जस्तै अन्माएर पठाउने वातावरण बन्न सके उनीहरुको सामाजिक सुरक्षा बढ्ने छ । -सञ्चारिका फिचर सेवा

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More